काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै पार्टीमा रहेका वामपन्थी बिचारधारालाई एकतामा आउन आह्वान गरेका छन् ।

कम्युनिष्ट पार्टी स्थापनाको अवसरमा नेकपा एमालेले पार्टी कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा ओलीले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउनका लागि छरिएर रहेका वामपन्थी बिचारधारालाई एकतामा आउन आह्वान गरेका हुन् ।
उनले यसअघि दुईतिहाई नजिक पुगेको कम्युनिष्ट शक्तिलाई केहिले सस्तो मूल्यमा बिकेर ध्वस्त बनाएको आरोप लगाए । ओलीले एमालेको उदेश्य मुलुकको समृद्धि र बिकास बाहेक अन्य केहि नभएकाले सवै वामपन्थी बिचारधारालाई एकताबद्ध गरेर अघि बढ्ने जिकिर गरे ।
कम्युनिष्ट आन्दोलनका ठूला गफ गर्ने र कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्न खोज्ने जमातहरुलाई पराजित गर्र्दै अघि बढ्नुपर्ने उनले बताए । त्यस्तै ओलीले अहिलेको सत्तागठबन्धनले निर्वाचन आचारसंहितको धज्जी उडाएको टिप्पणी गरे । सरकारी हेलिकप्टर लिएर प्रलोभन बाँड्ने र बुथ कब्जा गर्ने तयारी समेत भएको ओलीले बताए । उनले बिचार र सिद्धान्तका हिसावले नेपाली कांग्रेस बूढो पार्टी भएको बताए । त्यस्तै माओवादी केन्द्रको पनि कुनै बिचार नै नरहेको भन्दै ओलीले फाल्गुन १ गते जनयुद्धको श्राद्ध नै गरेको टिप्पणी गरे ।
अध्यक्ष ओलीले मिसन ग्रासरुटले पार्टीको वास्तविक अवस्था थाहा पाउने अवसर प्राप्त भएको भन्दै अवको निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने गरि पार्टीलाई बलियो बनाउने दावी गरे । कार्यक्रममा नेकपा एकीकृत समाजवादी परित्यास गरेका मुकुन्द न्यौपाने, चुडामणि जंगलीसहितका नेता कार्यकर्तालाई एमाले प्रवेश गराइएको थियो भने कम्युनिष्ट आन्दोलनलाई अघि बढाउने १४ जनालाई सम्मान गरिएको थियो ।











