काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दैनिक १२ सय मेगावाट बिजुली निर्यात गर्ने तयारी गरिएको बताएका छन् । उनले आगामी जेठको पहिलो सातादेखि निर्यात सुरू गरिने जानकारी दिए ।

‘पिक आवरमा १२ सय मेगावाट बिजुली निर्यात गर्न सकिन्छ । त्यहीअनुसार हामीले काम गरिरहेका छौं,’ निर्देशक घिसिङ्ले भने । यो पटक सुख्खा सिजनमा बिजुली उत्पादन निकै कम भएको र माग पनि बढेको उनको भनाई छ ।
उनले भने- ‘हामी कुल जडित क्षमता २८०० मेगावाट पुग्ने अवस्थामा छौं । तर यो सिजनमा उत्पादन निकै घटेको छ । बिहान र बेलुकाको पिक आवरमा बिजुली पु¥याउन सकिएको छैन ।’
उनले वर्षातको समयमा भने उत्पादित बिजुली कसरी उपभोग गर्ने भन्ने चिन्ता थपिने बताए । पछिल्लो समय उद्योग क्षेत्रमा देखिएको समस्या सामान्य भएको उनको भनाई छ । उनले भने- ‘बिजुलीको समस्या लामो समयका लागि होइन। बरू अब उपभोग कसरी बढाउने भन्ने चिन्ता हो ।’











