
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)को राडारमा समस्या आएका कारण आइतबार दुई घण्टा हवाई सेवा अवरुद्ध भएको छ ।
राडारमा समस्या आएपछि दिउँसो २ बजेपछि टिआइए अवतरण गर्न आएका विमान र त्रिभुवन विमानस्थलमा रहेको टावरबिच सम्पर्कमा समस्या आएको थियो । जस कारण धेरै विमान आकाशमै होल्ड गर्नुपर्ने तथा अन्यत्र अवतरण गर्नुपर्ने परिस्थिति बनेको थियो ।
टिआइए अवतरण गर्न लागेको अन्तर्राष्ट्रिय उडानका स्माइल थाइ लगायतले सञ्चार समस्याका कारण लामो समय आकाशमै फन्को मार्दै होल्ड गर्नुपर्ने परिस्थिति बनेको थियो ।
त्यसै गरी, आन्तरिक उडान भर्ने बुद्ध, यति, श्री र सौर्य लगायतका दर्जनौँ जहाज अवतरण गर्न नसके अन्यत्र डाइभर्ट गरिएका थिए । तर, टिआइएले भने के कारण सञ्चारमा समस्या आएको हो ? भन्नेबारे खुलाएको छैन ।
टिआइएका प्रवक्ता टेकनाथ सिटौलाले दृष्टिन्यूजसँग भने– ‘दिउँसो सञ्चारमा समस्या आएको थियो । तर, के कारणले समस्या भयो भन्ने थहा भएको छैन । हाम्रो उपकरण पनि ठीक छ, जहाजहरू पनि ठिकै अवस्था छन् । तर, सम्पर्कमा समस्या आयो ।’
टिआइएका प्रवक्ताले सञ्चार अवरुद्ध हुनुको कारण थाहा नभएको बताए पनि टिआइएकै एक प्राविधिकले राडारमा समस्या आएका कारण सञ्चार अवरुद्ध भएको बताएका छन् । ती प्राविधिकले भने– ‘राडारमा समस्या आएर सञ्चार अवरुद्ध भएको हो । तर, राडार समस्या लुकाउन खोजिएको छ ।’
आइतबार दिउँसो जहाजसँग सम्पर्क स्थापित गर्ने एरिया अप्रोच सेन्टर र कन्ट्रोल अप्रोच सेन्टरमा समस्या हुँदा भएको थियो ।
सञ्चारमै समस्या आएपछि जहाज र टावरबिच सम्पर्क नहुँदा जहाज दुर्घटना हुने सम्भावना धेरै हुन्छ । पछिल्लो समय राडारकै समस्याका कारण सम्पर्कमा बारम्बार समस्या हुने गरेको छ ।
सम्पर्क समस्याकै कारण गत चैत १० गते शुक्रवार सिमराको आकाशमा होल्ड गरिरहेका एयर इन्डिया र नेपाल एयरलाइन्सका जहाज आकाशमै झन्डै ठोक्किएका थिए । सम्पर्क समस्याका कारण यी दुई जहाजबिच आवश्यक दुरी कायम गर्न नसक्दा झन्डै दुर्घटना भएको थियो ।














