Logo
Logo

दिलिपसिंह विष्टलाई पक्राउ गर्न निर्मलाकी आमाको माग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ मंसिर।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त प्रकरणमा सार्वजनिक गरिएका दिलिप विष्टलाई फेरि पक्राउ गरेर अनुसन्धान गर्न माग भएको छ ।
निर्मलाकी आमा दुर्गादेवी पन्तले आफुले किटानी जाहेरी दिँदा समेत दिलिपमाथि कुनै अनुसन्धान नभएको भन्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी शुशिलकुमार बैद्यसँग दुखेसो पोखेकी छन् । दुर्गाले दिलिपले नै निर्मलाको हत्या गरेको भन्दै गत २२ भदौमा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् ।

सोमबार निर्मलाकी आमा दुर्गाले कञ्चनपुरका प्रजिअ बैद्यलाई भेटेरै छोरीका हत्यारा सार्वजनिक गर्न र शंस्कास्पद व्यक्तिमाथि अनुसन्धान गरिदिन माग राखेकी छन् । ‘प्रहरीले लिएको बयानमा दिलिपले हत्या गरेको स्वीकार गरेका छन्, जुन जुन विषय उतिबेला बोले त्यही विषय अहिले पनि बोलिरहेका छन्,‘ निर्मलाकी आमा दुर्गाले भनिन्, ‘गत वर्ष बोलेका विषय र अहिले बोलेका विषय पुरै मिलेका छन् ।’

दुर्गाले दिलिप आफ्नै घरवरिपरी आउँदा डर लाग्ने उल्लेख गर्दै सार्वजनिक स्थलमा समेत आफैले निर्मलाको हत्या गरेको हुँ, भनेर बोल्दा समेत प्रहरीले उनीमाथि समान्य केरकार नगरेको बताइन् । कतिपय अधिकारकर्मीले निर्मलाका नाममा डलर पचाएर पन्छिएको दुर्गाले आरोप लगाउदै आएकी छन् ।

कञ्चनपुरका प्रहरी प्रमुख दिनेश आर्चायले निर्मला घटनाको अनुसन्धान जारी रहेको बताए । ‘हामी अनुसन्धान गरिरहेका छौँ, ‘उनले भने, ‘निर्मलाकी आमाले दिएको किटानीको विषयमा समेत हामीले कानुनी प्रकृया अघि बढाएका छौँ ।’

निर्मला हत्या भएको झण्डै १५ महिना वितिसक्दा पनि प्रहरीले अझैसम्म पनि वास्तविक हत्यारा पत्ता लगाउन सकेको छैन ।
सुरुमा प्रहरीले दिलिसिंहलाई नै अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो । तर, डिएनए नमिलेपछि उनी छुटेका थिए । बिशेषज्ञ समितिले डिएनए परीक्षणकै क्रममा त्रुटी भएकाले डिएनए प्रविधिबाट नजिता नआउने रिपोर्ट दिइसकेको छ । परिस्थितीजन्य आधारले दिलिप नै अभियुक्त भएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्