
जिन्दगीलाई नै लहड ठान्छु म
लहडिन सक्नु नै सिर्जना मान्छु म
मुकाम खोजेर नहिँडेको जिन्दगानीले
खुसीको प्रवाहमा बहन खोज्दा
अरूलाई त्यहाँ के अर्थ हुन्छ र ?
त्यो यात्रा नै व्यर्थ लाग्न सक्छ
सिसिफसले बोकेको ढुङ्गा जस्तो
लहडको प्रवाहमा
लहरिदै गएको मान्छे
घुम्ती घुम्ती हुँदै
बस्ती बस्ती पुग्छ
भिर, पाखा, जङ्गल हुँदै
फराकिलो फाँटमा आइपुग्छ
जहाँ पुगे पनि
जहाँ घुमे पनि
मुकाम नभएको मान्छे
भौँतारिइरहेको मात्र देखिएको हुन्छ
अर्थ नदेख्ने आँखाहरूलाई
फगत व्यर्थ लाग्न सक्छ
बिहीबारको बिहानी,
७ वैशाख, २०८०











