Logo
Logo
फेसन

‘तेह्रथुमे ढाका प्रमोशनमा जीन्दगी समर्पण गरेकी छु’



पछिल्लो समय ढाका पहिरन निकै लोकप्रिय छ । एक दशकअघिसम्म ढाकालाई आदिवासी जनजातीका पहिरनसँग समेत जोडेर हेरिन्थ्यो । तर, हिजोआज ढाकाकाे पहिरन सेलिब्रेटीदेखि व्यापारीसम्मको रोजाइ बनेको छ । फेसन बजारमा ढाका पहिरनको ट्रेण्ड बढ्नुमा ‘तेह्रथुमे ढाका बुटिक’को ठूलो देन छ । तेह्रथुमे ढाका बुटिकले देश-विदेशसम्म ढाकाको पहिरन बजारीकरण तथा प्रवद्र्धन गर्दै आएको छ । ललितपुरको तिखेदेवलमा रहेको ‘तेह्रथुमे ढाका बुटिक’की सञ्चालक हुन् फेसन डिजाइनर निरु आङबुङ लिम्बू

तेह्रथुम आङबुङकी निरुले २०७१ मा सानो लगानीमा ललितपुरको मिलन चोकमा ‘तेह्रथुमे ढाका कलेक्शन’ नाममा ढाका व्यापार सुरु गरेकी थिइन् । तर, अहिले उक्त ढाका बुटिक देश विदेशमा चर्चित छ । निरु भन्छिन्, ‘सीएलको पढाइ सकेर गाउँ फर्कनुभन्दा यही केही गर्छु भनेर ढाका कलेक्शन सुरु गरेकी हुँ । तर, ढाका पहिरन फेसन बन्छ भन्ने सोचेकी थिइनँ ।’ तीन लाखमा सुरु भएको ‘तेह्रथुमे ढाका बुटिक’को प्रोपर्टी अहिले करोडमाथि पुगेको छ । तेह्रथुमे ढाका बुटिककी सञ्चालक तथा फेसन डिजाइनर निरु आङबुङसँग एमपी सुब्बाको जम्काभेट :

अहिले ढाका पहिरनको व्यापार कस्तो छ ?
सन्तोषजनक छ । लकडाउनको बेलाचाहिँ विरक्त लाग्दो थियो । करिब दुई वर्षे लकडाउन हुँदा व्यापारमा ह्रास आएको थियो । तर, अहिले व्यापार ठिकै छ । समग्रमा भन्नुपर्दा अहिले लकडाउनको घाटा पूर्ति भइरहेको छ ।

हिजोआज अधिकांश कार्यक्रमहरुमा ढाका फेसन झल्किन्छ । जाे तेह्रुथुमे ढाका बुटिककै योदागन त होला नि ?
हो, अहिले त ढाका पहिरनको ट्रेण्ड नै चलेको छ । यसमा तेह्रथुमे ढाका बुटिकको पनि योगदान छ । त्यसो त अहिले थुप्रै तेह्रथुमे ढाका नाममा पसल र बुटिकहरु खोलिएका छन् । तर, मैले ढाका कलेक्शन सञ्चालनमा ल्याउँदा एउटा पनि यहाँ ढाका पसल थिएन । तेह्रथुमे ढाका पहिरन स्थापित गर्नुमा मैले धेरै संघर्ष र मिहिनेत गरेकी छु ।

ढाकाको पहिरन व्यापक होला भनेर सोच्नुभएको थियो ?
देश-विदेशमा तेह्रथु्मे ढाकाको फेसन फैलिन्छ भनेर त सोचेकी थिइनँ । सीएलको पढाइसकेपछि घर फर्किनुभन्दा यही ठाउँमा केही गरौँ भन्ने सोचले ढाका कपडा र पहिरनको सुरुवात गरेकी हुँ ।

ढाका पहिरनको ट्रेण्ड बढ्दै जानुको कारण के हो ?
मुख्य कुरा प्रमोशन नै हो । सुरुवातमा ‘तेह्रथुमे ढाका कलेक्शन’ नाम राखेकी थिएँ । कलेक्शन गरेर काम गर्ने भएकाले कलेक्शन जोडेकी हुँ । विस्तारै म्युजिक भिडियो र फिल्म क्षेत्रका सेलिब्रेटीले तेह्रथुमे ढाकाको पहिरन लगाउन थाले । कतिपय सेलिब्रेटीलाई प्रायोजन पनि गर्थे । हुँदाहुँदै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका कलाकारले तेह्रथुमे ढाकाकाे पहिरन लगाउन थालेका छन् । अहिले विभिन्न देशबाट पनि नेपालीले ढाका पहिरन अर्डर गर्दै आएका छन् । यो सबै प्रमोशनकै कारण हो ।

सेलिब्रेटीकै कारण तेह्रथुमे ढाका व्यापक भएको हो ?
प्रमोशनकाे सुरुवात सेलिब्रटीबाटै भयो । त्यसपछि मैले ढाका पहिरनको प्रमोशनका लागि विभिन्न फेसन शो तथा इभेन्टहरुमा स्पोन्सर गरेँ । अहिले पनि गर्दै आएकी छु । ‘मिस इण्डिजिनियस हेरिटेज नेपाल(२०१७’मा मैले पहिरन स्पोन्सर गरेकी थिएँ । ‘मिस लिम्बू’को सिजन(४ देखि अहिलेसम्म पनि पहिरन स्पोन्सर गर्दै आएकी छु । तेह्रथुमे ढाकाको लोकप्रियता बढ्दै जानुको कारण यो पनि हो ।

तेह्रथुमे ढाका बुटिकको पहिरन विदेशमा कहाँ कहाँ जान्छ ?
जहाँ नेपाली पुगेका छन् । त्यहाँ तेह्रथुमे ढाका पुगेको छ । विशेषगरी हङकङ, युके, सिंगापुर, अष्ट्रेलिया, क्यानडा र जापानतिर बढी जान्छ । अन्य देशहरुबाट पनि नेपालीले अर्डर गरिरहेको हुन्छ ।

विदेश व्यापारको प्वाइट चिनजान कि अनलाइन ?
बढी चिनजानबाटै अर्डर आउँछ । एउटा देशमा एकजना चिनेपछि उसले अर्डर गर्छ । त्यसपछि त्यहीँबाट चिनजान थपिँदै सञ्जाल फैलिँदै जान्छ । र, अनलाइनबाट पनि अर्डर आउने गरेको छ ।

पछिल्लो समय जताततै ढाका बुटिक खुलेका छन् । यसबाट तपाइँलाई घाटा छ कि फाइदा ?
एक किसिमले घाटा र अर्को तरिकाले सोच्दा फाइदा छ । अरुहरुले तेह्रथुमे ढाका भनेर यही कलेक्शन गर्छन् । र, सस्तोमा बेच्छन् । सस्तोमा लिनेहरुले तेह्रथुमे ढाका बुटिकमा महँगो छ भन्छन् । तर, म चाहिँ तेह्रथुमै तानमा बुनेको ढाकामात्र बेच्छु । त्यसो गर्दा थोरै महँगो पर्न जान्छ । त्यसैले क्वालिटी हेर्नेहरुका लागि मेरो बुटिक महँगो छैन । अर्को कुरा, अरुले जताको ढाका बेचेपनि तेह्रथुमे ढाकाकै प्रचार भइरहेको छ ।

सुरुवाती लगानी कति र अहिले प्रोपर्टी कति पुग्यो ?
एकदमै कम लगानीमा सुरु गरेकी थिएँ । तानतुन गरेर करिब तीन लाख रुपैयाँमा यो बुटिक सुरु गरेकी हुँ । अहिले एक करोडभन्दा बढी प्रोपर्टी पुग्यो ।

तपाइँलाई तेह्रथुमे ढाकाको व्यापार फाप्यो होइन त ?
मिहिनेत पनि धेरै गरेकी छु । तेह्रथुमे ढाकाको प्रमोशनका लागि जीन्दगी नै समर्पण गरेकी छु । मिहिनेत र दुःख गरेअनुसार फल पाइरहेकी छु । यसमा खुसी छु ।

हिजोआज पनि लुगा भाडामा दिनुहुन्छ ?
हिजोआजचाहिँ भाडामा दिनु छाडेँ किनकि, तेह्रथुमे ढाका बुटिकले भाडामा दिएको लुगा नै बिक्री गर्छ भन्ने आरोप लाग्यो । त्यसैले अहिले फिल्म र भिडियोमा लागि भाडामा माग्नेहरूलाई बरु आधा मूल्य घटाएर बिक्री गर्ने गरेकी छु ।

बुटिक प्रमोशनका लागि नयाँ योजना के छ ?
अरुको इभेन्टहरु र शोहरुमा त गर्दै आइरहेकै छु । अबचाहिँ तेह्रथुमे ढाका बुटिकको नाममा एकल फेसन शो गर्ने सोच बनाएकी छु ।

प्रतिक्रिया दिनुहोस्