Logo
Logo

सुडानमा ३० नेपाली सम्पर्कमा, स्वदेश फर्काउने तयारी



काठमाडौं । द्वन्द्व चलिरहेको मुलुक सुडानमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत अधिकारीबाहेक ३० जना नेपाली सम्पर्कमा आएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार उनीहरूलाई स्वदेश फर्काउने तयारी भइरहेको छ ।

द्वन्द्व चर्किंदै गएपछि अन्य मुलुकले पनि आफ्ना नागरिकहरूलाई सुरक्षित रुपमा फर्काउने प्रयास गरिरहेका छन् । नेपालले पनि नेपालीहरूलाई फर्काउन प्रयास गरिरहेको छ ।

सुडानमा रहेका नेपाली नागरिकहरूसँग निरन्तर सम्पर्कमा रही कायरोस्थित नेपाली राजदूतावासले विवरण अद्यावधिक तथा उद्धार कार्य जारी राखेको मन्त्रालयले जनाएको छ ।

नेपाली राजदूतावासको अनुरोधबमोजिम पोर्ट सुडानमा पुगेका १९ जना नेपालीहरू साउदी अरेबिया सरकारको सहयोगमा पानीजहाजबाट जेद्दा सहरमा सुरक्षित रुपमा सकुशल आइपुगेको जेद्दास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ ।

मन्त्रालयका अनुसार यसअघि नै एक जना नेपाली सकुशल जेद्दा पुगेको र जेद्दा आइपुगेका सबै नेपालीहरूको नेपाल फिर्तीका लागि सहजीकरण भइरहेको छ ।

नेपाली राजदूतावास, कायरोसँग सुडानमा सम्पर्कमा रहेका बाँकी ११ जना नेपालीहरुमध्ये पाँच जना पोर्ट सुडानतर्फ प्रस्थान गरिसकेको, एक जनालाई खार्तुमबाट पोर्ट सुडान पुर्याउने प्रयास भइरहेको छ ।

तीन जना रोजगारदाता कम्पनीको सहयोगमा पोर्ट सुडान पुगी स्वेच्छाले त्यहाँस्थित एक होटेलमा बसेको र दुई जनालाई रोजगारदाता कम्पनीले खार्तुमबाट इजिप्टको सिमाना नजिकैको सुरक्षित स्थानमा लैजाने व्यवस्था मिलाएको राजदूतावासले जानकारी गराएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

अझै पनि सुरक्षा अवस्था असहज रहेकाले सुडानमा रहेका सबै नेपाली नागरिकहरूलाई सुरक्षित स्थानमा रहन र अत्यावश्यक काममा बाहेक बाहिर हिँडडुल नगर्न तथा आपत्कालीन अवस्थामा कायरोस्थित नेपाली राजदूतावासका द्वितीय सचिव दीपक घिमिरेको मोबाइल र ह्वाट्सएप नम्बर +201097772348, +201029606662 वा [email protected] इमेलमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्