Logo
Logo

विक्षिप्तताको छटपटाहटमा घन्केको घण्टी



समाजभित्र निरन्तर चलिरहने अन्तर्विरोधहरू र त्यसले निर्माण गर्ने विकास र चेतना र त्यो चेतनामा आधारित राजनीतिका बहुआयामिक पक्षहरूलाई नियमित अध्ययन गरिरहनेहरूका लागि ‘घण्टी’को स्वरहरू त्यति आश्चर्यजनक लाग्दैन । यो नौलो विषय पनि होइन, समाजको विकासक्रममा यस्ता प्रवृत्तिहरू निरन्तर देखापरिरहन्छन् । यी प्रवृत्तिहरूको पहिचान र समाधानले नै समाज अगाडि बढ्ने हो ।

त्यसकारण हामीले स्वीकार गर्नुपर्छ, ‘घण्टी’ घन्कनुका कारणहरू छन् । घण्टी रविको चमत्कारले घन्केको होइन, यसका पक्षमा योजनाबद्ध सचेत प्रयत्नहरू छन् । घण्टीलाई प्रयोग गर्न विदेशीहरू पनि लालायित होलान्, यसका सन्दर्भमा चनाखो हुनैपर्ला तर, यसको जन्म हाम्रै समाजको अन्तर्विरोधहरूबाट भएको हो । ती अन्तर्विरोधहरू पत्ता लगाउनु, कारणहरू खोज्नु, अध्ययन गर्नु र समाधान खोज्नु पनि समाजवादीहरूको दायित्वभित्रै पर्छ ।

गणतन्त्र, संघीयता र समावेशी राजनीतिले नेपालमा अवसरहरूको बाढी नै ल्याइदियो । तर, त्यो अवसरभित्र अनेकौँ चुनौतीहरू पनि हुन्छन र छन् । शासनसत्ता ग्रामीण तहमा पुग्दा काठमाडौँका शासकहरूलाई कहाँ चित्त बुझेको थियो होला र ? जसको हातबाट जनताले सत्ता खोसे, त्यो वर्ग यो व्यवस्थाका लागि चुनौतीहरू हुन । त्यो चुनौती बेला–बेलामा देखापर्नु जनपक्षीय राजनीति गर्नेहरूका लागि अचम्मको कुरा हँुदै होइन ।

गणतन्त्रले प्रदान गरेका अवसरहरूको प्रयोग र प्रतिक्रियावादी चुनौतीहरूको सामनाले नै समाज निरन्तर अगाडि बढ्छ । त्यसैले घण्टी एउटा चुनौतीको रुपमा आए पनि यस प्रवृत्तिसँगको अन्तर्विरोधले समाजलाई फाइँदै हुन्छ, घाटा हुँदैन । त्यसबाहेक यो चुनौतीलाई लोकतन्त्रवादीहरूले मात्र होइन, समाजवादीहरूले त अझ बढी महसुस गर्नुपर्छ । र, यो चुनौतीलाई फेरि अवसरको रुपमा प्रयोग गर्नु बुद्धिमानी पनि हो ।

घण्टी कोलाहल समाजमा असुरक्षित भएको एउटा वर्गको आवाज हो । त्यो वर्गले जुन दिन आफूलाई सुरक्षित ठान्छ, त्यही दिन घण्टीको पनि अवसान हुन्छ । अवैधानिक हुण्डी प्रणालीलाई कडाइका साथ रोक्ने हो भने घण्टीको घण्टी बज्न तत्काल सुरु हुन्छ ।

केही मान्छेहरू घण्टीको परिणामलाई नेपाली राजनीतिमा नयाँ शक्तिको अभ्युदयको रुपमा बुझ्दैछन् । दलहरूको अयोग्यताको परिणामको रुपमा बुभm्नेहरूको पनि कमी छैन । कतिपय त यसलाई लोकतन्त्र, संघीयता र धर्मनिरपेक्षताको विरुद्धमा जनताहरूको शान्त विद्रोह भनेर यो प्रवृत्तिलाई प्रतिक्रियावादतर्फ मोड्न खोज्नेहरू पनि होलान् ।

त्यसबाहेक घण्टीको यो विजयलाई विदेशीहरूसँग जोड्नेहरू पनि देखिए । जे होस् घण्टी राम्रैसँग बजेको छ । यो बजाइमा समाज राम्र्रैसँग तरंगित भएको पनि छ । यो तरंगले समाज पछाडि फर्कँदैन । यसले हाम्रा व्यवस्थाहरू र आगामी हाम्रा बाटाहरू छेक्न केही कोसिस् त होला, तर हामीलाई चुस्तदुरुस्त र स्वमूल्याकंन गर्न यो प्रतिस्पर्धाले फाइदा नै पुग्छ ।

घण्टीको कोलाहल समाजमा असुरक्षित भएको एउटा वर्गको आवाज हो । त्यो वर्गको असुरक्षित भावनाको जगमा रवि उभिएका छन् । त्यो वर्गले जुन दिन आफूलाई सुरक्षित ठान्छ, त्यही दिन घण्टीको पनि अवसान हुन्छ ।

हामीले वर्तमानमा अवलम्बन गरेको राजनीतिक, आर्थिक र सामाजिक व्यवस्थाले सबैभन्दा तनावमा को छ ? यसको उत्तरमा नै घण्टीको आधारशिला भेटिन्छ । हाम्रो व्यवस्थाले निर्माण गर्ने सत्तामा निर्वाचित जनप्रतिनिधिहरू छन् । ती जनप्रतिनिधिहरू मुलुकका विभिन्न निर्वाचन क्षेत्रबाट आउँछन् ।

प्रायः ती सबै आधारभूत तहबाट नै आउने हो । सहरिया सेवानिवृत्त उच्चपदस्थ कर्मचारीहरू, आफूलाई विद्धान ठान्ने बुर्जुवाहरू र हिजोको अलोकतान्त्रिक शासन व्यवस्थामा ढलीमली गरेका र हाल किनारामा बसेकाहरूलाई आधारभूत तहका जनताले सत्तामा प्रतिनिधित्व गरेको त्यति मन परिरहेको छैन । त्यसबाहेक यो वर्गको दोस्रो पुस्ता नेपालमा छैन ।

नेपालमा भ्रष्टाचार गरेको अकूत सम्पत्तिसहित उनीहरू अमेरिका, युरोप र क्यानडामा स्थायी बसोबासमा छन् । त्यो विच्छिप्त वर्गले शासन सत्तामा पँहुच गुमाएको मात्र होइन, परिवारसमेत गुमाएको छ । यो विक्षिप्तताको निशाना हाम्रा राजनीतिक दलहरू र व्यवस्थाहरू परेका छन् । यसलाई भत्काउन उनीहरू तथाकथित लोकप्रिय व्यक्तिहरूको निर्माण गर्ने र ती निर्मित पात्रहरूलाई दल र व्यवस्थाका विरुद्धमा उभ्याउने प्रयत्न गर्दैछन ।

घण्टी उनीहरूको पछिल्लो प्रयत्न हो, जुन आंशिक सफल भएको छ । यसभन्दा पहिले यसको प्रयोग डा. गोविन्द केसी र रवीन्द्र मिश्रमार्फत भएको थियो, जुन असफल रह्यो । समाजमा व्यापक निराशा छर्न र सामाजिक मूल्यमान्यताहरू भत्काउन समेत उनीहरू उद्यत छन् ।

बलात्कारको मुद्दा खेपेर धरौटीमा रिहा भएकाहरूलाई माला लगाएर जुलुस लगाउनेहरू यिनै हुन् । विचारभन्दा देश ठूलो, जान्नेले शासन गर्ने, विदेश बस्नेहरू ज्ञानी हुन्छन्, विदेशी डिग्रीले विकास गर्छ जस्ता नाराहरू स्थापित गर्न यिनीहरूको ठूलो भूमिका छ । लोकतन्त्र प्राप्तिको कठिन अभियानमा त्याग, बलिदान र सहादतलाई बदनाम गर्ने उनीहरूको सचेत प्रयत्न सामाजिक सञ्जालमा आजकाल छरपष्ट फेला पर्छन् ।

तथापि, नेपालमा गणतन्त्र ल्याउन धेरथोर यिनीहरूको पनि भूमिका नभएको होइन । तर, गणतन्त्र प्राप्तिपछि सत्ताको बागडोर सिधैँ गाउँघरमा जाला भन्ने उनीहरूको अनुमान थिएन । नेपालको वामपन्थी जनमतले सत्ता गाउँमा पुर्यायो । गाउँभित्र सिंहदरबार र सिंहदरबारभित्र गाउँ यिनीहरूको अनुमान पनि थिएन, रोजाइ हुने त कुरै भएन । यो विक्षिप्त प्रवृत्ति अहिले संकटमा मात्र होइन, पछुतोमा पनि छ ।

खुलेर राजाको पुनःस्थापनाको पक्षमा उभिन नसके पनि गणतान्त्रिक व्यवस्थाका उपलब्धिहरू उनीहरूको निशाना हो । हालका दिनहरूमा उनीहरू धर्मनिरपेक्षता र संघीयताका विरुद्धमा नजानिँदो किसिमले क्रियाशील छन् । यो क्रियाशीलता युट्युब र सामाजिक सञ्जालमा देखिन्छ । १२ भाइ पत्रकारका नाममा लोकतान्त्रिक पत्रकारिताको बद्नाम गर्दै युट्युब र सामाजिक सञ्जाललाई यिनीहरू स्थापित गर्न खोज्दैछन्, जुन उनीहरूका लागि अनुकूल सञ्चार व्यवस्था हो ।

समाधान छ । पञ्चायत कालदेखिका भ्रष्टाचारका फाइलहरू अध्ययन गर्ने शक्तिशाली आयोग बनाउने र अवैधानिक हुण्डी प्रणालीलाई कडाइका साथ रोक्ने हो भने घण्टीको घण्टी बज्न तत्काल सुरु हुन्छ ।

त्यसबाहेक सरकारबाट मासिक निवृत्तिभरण प्राप्त गरिरहेका पूर्व उच्चपदस्थ कर्मचारीलाई राज्यव्यवस्थाका विरुद्धमा बोल्न र गतिविधि गर्न रोक्ने हो भने हाम्रा राजनीतिक व्यवस्था र सामाजिक मान्यताहरूलाई जोगाउन सकिन्छ ।

समाजमा नकारात्मक भावना फैलाइ मास हिस्टिरिया फैलाउने सामाजिक सञ्जालको नियमित अनुगमन र कारबाही अर्को सकारात्मक काम हुनसक्छ ।

सकारात्मक सोच, प्रगतिशील आचरण, श्रमको सम्मान, इतिहासप्रति गौरव, देशभक्तिको भावना र समाजको प्रगतिशील रुपान्तरणको पक्षमा आम जनतालाई शिक्षित बनाउने अभियानमा लोकतान्त्रिक संघसंस्थाहरूको निरन्तर पहलकदमी बाञ्छनीय हुन्छ ।

यस्तो अभियानमा कमी आयो भने घण्टीहरू बज्छन् । अझै सचेत भइएन भने घण्टीहरू मात्र होइन, दमाहा र शंखहरू पनि जन्मनेछन् । विचारहीन, उद्देश्यहीन र विक्षिप्त मानसिकताबाट निर्मित शंख, दमाहा र घण्टीहरूको भीडहरूले देश अस्तव्यस्त हुने मात्र होइन, अस्तित्वमा समेत संकट पैदा गर्दछ । बेलैमा सचेत बनाँै । धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्