Logo
Logo
कला

‘अब फिल्म निर्देशन गर्ने सोच छ’



गीत हेर्ने जमाना छ । त्यससँगै गीत गाएर मात्र नपुग्ने भएको छ । गाएपछि अहिले भिडियो बनाउनु अपरिहार्य बनेको छ । त्यसैले हिजोआज दैनिक नयाँ-नयाँ भिडियो आइरहेका छन् । युटुयुबको ट्रेण्डसँगै भिडियो निर्माणको क्रम झनै बढेको छ । गीतसंगीत क्षेत्रमा मासिक सयौँ भिडियो निर्माण भइरहेका छन् । तर, निर्देशनमा महिला नगन्यमात्र छन् । जो व्यस्त पनि छन् ।

यिनैमध्येकी हुन्, बबिता श्रेष्ठ । ०६८ सालदेखि उनी म्युजिक भिडियो निर्देशनमा सक्रिय छिन् । हालसम्म हजारभन्दा बढी भिडियो निर्देशन गरिसकेकी बबिता भन्छिन्, ‘रहर र रुचीले निर्देशनमा लागेकी हुँ, अहिले पेसा बनाएकी छु ।’ ‘नलाऊँ झुटो पिरती’, ‘पञ्चेबाजामा सिन्दूर’, ‘तिम्रो याद’, ‘विधुवा’जस्ता लोकप्रिय गीतका भिडियो निर्देशन गरेकी बबिता अहिलेकी व्यस्त निर्देशकसमेत हुन् । उनका आधा दर्जन भिडियो रिलिजको क्रममा छ । फिचर फिल्म निर्देशन गर्ने सोचमा रहेकी बबिता श्रेष्ठसँग दृष्टिको जम्काभेट :

हिजोआज के गर्दै हुनुहन्छ ?
म्युजिक भिडियोहरु नै गरिरहेकी छु । म्युजिक भिडियो निर्देशनबाहेक मेरो अरु पेसा व्यवसायी छैन । जे छु, यसै क्षेत्रमा छु ।

म्युजिक भिडियो निर्देशनमा लाग्नु भएको कति भयो ?
एक दशकभन्दा बढी भयो । २०६८ सालबाट म्युजिक भिडियो निर्देशन गर्न थालेकी हुँ । यस हिसाबले १२ वर्ष ठ्याक्कै पुग्यो ।

निर्देशन क्षेत्रमा कसरी लाग्नुभयो ?
म्युजिक भिडियो निर्देशक बन्ने खाश सोच लक्ष्य थिएन । विभिन्न सञ्चारमाध्यम (रेडियो/एफएम)मा कार्यक्रम सञ्चालन गर्नेक्रममा गीतसंगीत क्षेत्रका ब्यक्तित्वसँग भेटघाट बाक्लिँदै गयो । त्यही क्रममा एकजना गायकले भिडियो बनाउने सोच बनाउनुभएको रहेछ, उहाँले भिडियो निर्देशन गर्न दिनुभयो । कामको प्रतिफल राम्रै पाएँ । त्यसपछि भिडियो निर्देशन गर्न सक्छ भन्ने आत्मविश्वास जाग्यो । त्यसपछि निरन्तर यसै क्षेत्रमा छु ।

पहिलोपटक निर्देशन गरेको भिडियो याद छ ?
‘हिमाल पारीको गाउँमा’ बोलको गीत थियो । गायक रामजी खाँड र टिका पुनले गाएको उक्त लोकदोहोरी गीतको भिडियो राम्रो चल्यो । पहिलो भिडियो नै दर्शकले रुचाएपछि मलाई आत्मबल मिल्यो । त्यसपछि म्युजिक भिडियो निर्देशन अँगालेकी हँ । अहिलेसम्म गरिरहेकी छु ।

निर्देशक बनेपछि प्रतिक्रिया कस्तो पाउनुभएको थियो ?
एउटा भिडियो बनाएपछि सबैतिरबाट स्यावासी पाएँ । काम दिन थाले । रेडियोमा आरजे भएकाले पनि मलाई भिडियो निर्देशनका लागि काम पाउन सजिलो भयो ।

०६८ सालतिर धेरै भिडियो बन्दैन थियो नि, होइन ?
अहिलेजस्तो बन्दैनथियो । त्यो बेला लागत पनि अहिलेजस्तो धेरै लाग्दैनथियो । अहिले त गीत गाएपछि भिडियो बनाउनु अनिवार्य भएको छ । युट्युबको ट्रेण्डले गर्दा पनि अहिले म्युजिक भिडियो बनाउने लहर चलेको छ ।

पहिलो निर्देशनमा पारिश्रमिक कति लिनुभएको थियो ?
त्यो बेला प्याकेजमा काम गरेकी थिएँ । ५८ हजारमा भिडियो कम्प्लिट गर्ने गरी जिम्मा लिएकी थिएँ । अहिले ५८ हजारले एउटा कलाकारलाई दिनै पुग्दैन ।

हिजोआज एउटा भिडियोका लागि कति लिनुहुन्छ ?
प्याकेजमा न्यूनतम एक लाख ५० हजारदेखि पाँच लाखसम्म लिन्छु । त्यो गीतअनुसार हुन्छ । मेरो पारिश्रमिक चाहिँ २५ हजार रुपैयाँ हो ।

प्रविधिको विकासले अहिले काम गर्न सजिलो हो ?
समयसँगै सबै कुरामा परिवर्तन भएको छ । पछिल्लो समय प्रविधिको विकासले काम गर्न सजिलो भए पनि लागत बढेको छ । मैले यो क्षेत्रमा पाइला राख्दा डीभी चक्कामा भिडियो खिचिन्थ्यो । अहिले रेड क्यामेराले खिचिन्छ । जस कारण अहिलेका म्युजिक भिडियो फूल एचडी हुन्छ ।

कस्तो खालको भिडियो बढी बनाउन मनपर्छ ?
विशेषगरी दोहोरी गीतको भिडियो बनाउँछु । तर, म सबै प्रकारका भिडियो निर्देशन गर्न रुचाउँछु । बनाउँदै पनि आएकी छु ।

म्युजिक भिडियोमा यतिका वर्ष विताउन्भयो, फिल्म निर्देशन गर्ने सोच छैन ?
सोच बनाएकी छु । मैले एउटा भिडियो फिल्म निर्देशन पनि गरेकी छु । ‘रात–११’ भन्ने भूतको कथावस्तुमा बनाएको उक्त भिडियोलाई फिचर फिल्मका रुपमा ल्याउने सोचमा छु ।

फिल्म बनाउनुपर्दा तपाइँको विषयवस्तु के हुनुसक्छ ?
सामाजिक विषयवस्तुको फिल्म निर्देशन गर्ने मेरो इच्छा छ । मैले बनाउने फिल्म छाडापन हुँदैन । नेपालीपन र मौलिकतालाई उजागर गर्ने नेपाली फिल्म निर्देशन गर्ने मेरो सोच र लक्ष्य हो । फिल्म गरेपछि म्युजिक भिडियो भने छाड्दिनँ ।

निर्देशन क्षेत्रमा महिलाको संख्या कति छ ?
त्यो मलाई थाहा भएन । म यो क्षेत्रमा आउनुअगाडि संगीता श्रेष्ठ र पुजा गुरुङ निर्देशनमा हुनुहुन्थ्यो । तर, अहिले उहाँहरु सक्रिय हुनुहुन्न । लोकदोहोरी गीतको भिडियो निर्देशन गर्नेचाहिँ म एक्लो हुँ ।

आफ्नो पेसाबाट खुसी हुनुहन्छ ?
यहाँसम्म आउँदा निर्देशक महिला परिचय बनाएकी छु । सुरुवातका दिनहरु जे–जस्तो भएपनि अहिले टिमवर्कमा काम गर्दा रमाइलो लागिरहेको छ । र, खुसी छु ।

यो क्षेत्रमा लागेर के पाउनुभयो ?
सबैभन्दा ठूलो कुरा माया, साथ र सम्मान पाएकी छु । यसै क्षेत्रमा लागेर नाम पनि पाएकी छु । आफूलाई पुग्ने दाम पनि कमाइरहेकी छ ।

प्रतिक्रिया दिनुहोस्