Logo
Logo

फेसबुक काण्डले सैनिकलाई जेल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० मंसिर । नेपाली सेनामा फटाफट विभागीय कारबाही हुन थालेका छन् । सिपाहीदेखि सिनियर अधिकारीहरुसमेत भ्रष्टाचारलगायत विभिन्न कारबाहीमा परिरहेका छन् । गल्ती गर्ने सैनिकलाई नछाड्ने नीति प्रधानसेनापति पूर्णचन्द्र थापाले लिएका छन् ।

यसै क्रममा एक सिपाही यौनसम्बन्धी अपराधमा जेल परेका छन् । सैनिक अदालतले एक सिपाहीलाई गत शुक्रबार तीन वर्ष कैद सजाय सुनाएको छ । घटना रमाइलो छ । पुरानो महिला साथीसँग सिपाहीको १० वर्षपछि फेसबुकमार्फत भेट हुन्छ । फेसबुकमा च्याट गर्ने क्रममा उनीहरुबीच भेट तय हुन्छ । दुवैबीच शारीरिक सम्बन्धसमेत हुन्छ । दुवै जना प्रेमीप्रेमिका बन्छन् । तर, महिला पहिले नै विवाहित थिइन् ।

श्रीमानसँग छुटाउन उपाय निकाल्छन् । ती महिलासँगका गोप्य फोटोहरु खिचेर उनका श्रीमानलाई फेसबुकमा पठाउँछन् । त्यही फोटोसहित श्रीमानले जंगी अड्डामा उजुरी दिएका थिए । जुन अपराधलाई स्वीकार गरेपछि ती सिपाहीलाई सैनिक अदालतले गत शुक्रबार तीन वर्ष जेल चलानको आदेश दिएको हो । विवाहित महिलालाई आफ्नो श्रीमती बनाउन खोज्दा जागिर त गयो नै उनी तीन वर्ष जेलसमेत परेका छन् ।

सेनामा यस्ता किसिमका अपराधहरु बढेका छन् । अरुको श्रीमतीसँग सम्बन्ध राखेका अन्य दर्जन उजुरी उपर छानबिन भइरहेको स्रोत बताउँछ । आफ्नै कर्मचारीमाथि भएका यौन दुव्र्यबहारका घटनाको समेत सेनाभित्र छानबिन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्