काठमाडौं । लेखक तथा नागरिक अभियनता खगेन्द्र संग्रौलाले आफ्ना पूस्ताले यो देशमाथि शाषण गर्दा बहुसंख्यक जातीमाथि अन्याय भएको बताएका छन् । शनिबार तेह्रथुमको आठराईमा पहिचान पक्षधरद्वारा आयोजित कोशी नामको विरोध सभालाई सम्बोधन गर्दै चर्चित राजनीतिक विश्लेषक संग्रौलाले उक्त अन्यायको अंशभाग आफ्नो पनि रहेको उल्लेख गरे ।

उत्पीडित र पिछाडि पारिएका वर्ग, समुदायका पक्षमा निरन्तर बोल्दै, लेख्दै र आन्दोलनमा एैक्यवद्धता जनाउँदै आएका लेखक संग्रौलाले प्रदेश-१ को नाम कोशीविरुद्ध भइरहेको पहिचानको आन्दोलनमा निरन्तर समर्थन गरिरहेका छन् ।
यसैबीच उक्त आन्दोलनलाई ऐक्यवद्धता जनाउन शनिवार तेह्रथुम पुगेका संग्रौलाले विरोध सभालाई सम्बोधन गर्दै भने– ‘मेरो पूस्ताले यो देशमा शाषण गर्दा यो देशका बहुसंख्यक जातीमाथि अन्याय गरेका छन् । त्यो अन्यायको अशंभाग मेरो पनि हो ।’
राई लिम्बूहरुले त आफूहरुलाई शरण दिएर सम्मान दिएको बताउँदे उनले क्षेत्रीबाहुनहरुले सिँगै राज्यसत्ता कब्जा गरेर उनीहरुको माटो र भाषामाथि दमन गरेको उल्लेख गरे ।

‘हामी जो बाहुन/क्षेत्रीहरु छौँ । राई लिम्बूहरुले भोगचलन गरेको जग्गामा हामी त शरणार्थीको रुपमा आएका हौँ’, उनले भने, ‘तीनले हामीलाई शरण दिए । तीनले हामीलाई बास दिए । तिनले हामीलाई सम्मान दिए । तर, हामीले के गर्यौँ ! राज्यसत्ता सिँगै कब्जा गर्यौँ । तिनको माटो कब्जा गर्यौँ । तिनको भाषा कब्जा गर्यौँ । त्यसकारण अहिले विरोध भइरहेको छ ।’
उनले आफ्नो बाल्यकालको स्मरण गर्दै बेलादेखि नै राई लिम्बुहरुको भाषामाथि दमन गरेर सबै भाषा र जातीमाथि एक जातीको प्रभुत्व भएको बताए ।
‘म सबै कक्षाहरुमा प्रथम हुन्थे । म सँगै पढ्ने राई लिम्बूहरु पनि थिए । केही कामी साथीहरु पनि थिए । राई लिम्बुहरुको भाषा नेपाली थिएन । त्यो बेला उनीहरुलाई नेपाली धेरै गाह्रो हुन्थ्यो । पाठ्यक्रम नेपाली मेरो भाषामा थियो । त्यो बुझ्न मलाई कुनै गाह्रो हुने थिएन’ उनले भने, ‘म धेरै प्रतिभाशाली, मेहनती भएरमात्रै कक्षामा प्रथम भएको होइन । मेरो भाषा भएकाले म फस्र्ट भए । बाँकी धेरै त फेलै भए भाषाको कारणले । त्यस्तो किन भयो ? सबै भाषा दमन भयो । सबै भाषामाथि एउटा भाषा प्रभुत्व भयो । सबै जातीहरुमाथि एक जातीको प्रभुत्व भयो । सबै संस्कृतिहरुमाथि एक संस्कृतिको प्रभुत्व भयो ।’

पहिचानको आन्दोलन कुनै उत्पीडित जातीको नभई यो समग्र राष्ट्रको आन्दोलन भएको बताए । विभेद, असमानता भएको समाज असभ्य हुने भन्दै पहिचानको आन्दोलन समाजलाई सभ्य बनाउने अभियान भएको उनको भनाइ छ ।
‘आफ्नो पहिचानलाई बलियो बनाउनका निम्ति वैचारिक कुरा गर्ने हो । मैले सुने खड्गप्रसाद ओली (केपी ओली)लाई कसैले ढुंगा पनि हान्यो रे । आन्दोलनलाई जसले खिसी र अपमान गर्छ । त्यसलाई गिज्याउन आउँछन् रिस उठ्नेहरुले ढुंगा हान्छन् । तर, मुख भइन्जेल हात छोड्नु राम्रो हुन्छ’, उनले भने, ‘हाम्रो आन्दोलन शान्तिपूर्ण आन्दोलन हो । हाम्रो आन्दोलन न्यायको आन्दोलन हो । यो कुनै एउटा उत्पीडित जातीको आन्दोलन होइन । यो राष्ट्रको आन्दोलन हो । जुन समाजमा विभेद हुन्छ । विभेद भएको समाज असभ्य समाज हो । जुन समाजमा असमानता हुन्छ, विभेद हुन्छ, जातीवाद हुन्छ, छुवाछुत हुन्छ त्यो असभ्य समाज हो । त्यसकारण यो आन्दोलन यो समाजलाई सभ्य बनाउने र सुसस्कृत बनाउने आन्दोलन पनि हो ।’
साथै, उनले पहिचानको आन्दोलनलाई जातीवादी र सामाजिक सद्भाव भड्काउने आन्दोलन भन्नेहरु आफैं जातीवादी र समाजिक सद्भाव भड्काउने तत्व भएको बताए । ‘पहिचानको आन्दोलन गरिरहेकाहरुले सिंगो राज्य मागिरहेका छैनन् । उनीहरुले सिंगो राज्य खोस्ने कुरा गरिरहेको छैन । उनीहरुले देशमा बराबरीको दाबी गरिरहेका छन् । राज्यमा अंशको दाबी गरिरहेका छन्’, उनले भने, ‘ईतिहासमा जसको भूमि हरण भयो । जसको भाषा दमन भयो । जो विकास प्रक्रियामा पछाडि पर्यो । तिनीहरुले समानता प्राप्त गर्नका निम्ति अधिकार खोजेका छन् । त्यो अधिकारको आन्दोलनलाई हामीले पहिचानको आन्दोलन भनेका छौँ । पहिचानको आन्दोलनलाई जसले जातीवादको आन्दोलन भन्छ । त्यो आफैं जातीवादी हो ।’
प्रदेश १ को नाम कोशी राखेर माओवादीले आफूले जन्माएको बच्चालाई आफैंले कुल्चिएको उनको भनाइ छ । ‘बिडम्बना, पहिचानको मुद्धालाई जसले स्थापित गरायो । त्यो मुद्धाको आगडि जसले उत्पीडितहरुलाई उठायो । त्यसले आफैं कोशी नामकरण गरेर आफैंले जन्माएको बच्चालाई कुल्चेको छ’ उनले भने, ‘त्यो को हो भन्दा माओवादी हो । तपाईले माओवादीलाई भन्नुपर्छ, १ नंं. प्रदेशको नाम कोशी राखेर तिमी आफैंले जन्माएको बच्चालाई कुल्चिएर मार्यौँ । यो पूष्पकमल दाहालको कानमा पुर्याउनदिनुुस् ।’
यो पनि पढ्नुहोस्











