
काठमाडौं । हुम्ला पूर्ण खोपयुक्त जिल्ला घोषित भएको छ । नेपाल सरकारले तोकिएको मापदण्ड र सूचक पूरा भएपछि शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरी हुम्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको हो ।
कर्णालीका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले हुम्ला जिल्लालाई ७१ औं पूर्ण खोपयुक्त जिल्लाका रुपमा शनिबार आयोजित कार्यक्रममा घोषणा गरेका हुन् । तीन महिने अभियानमार्फत जन्मेदेखि २३ महिनासम्म उमेर समूहका बालबालिकालाई सबै पालिकाले घरघरमै भेटेर १३ प्रकारका खोप लगाउने कार्य पूरा गरेको छ ।
राष्ट्रिय खोप तालिका अनुसार जिल्लाका सबै बालबालिकाले एक वर्ष भित्रमा लगाई सक्नुपर्ने खोप लगाइसकेकाले जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताए ।














