काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीको बयान जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले लिन थालेको छ ।

जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएलगत्तै उनको बयान सुरु भएको हो ।
रायमाझीको बयान जिल्ला सरकारी वकिलको कार्यालयका उपन्यायधिवक्तासहित जिल्ला प्रहरी परिसर काठमाडौंमा मुद्दा शाखाका डीएसपी निरञ्जन भट्टसहितको टोलीले लिइरहेको छ ।
यो मुद्दामा बुधबारसम्म अनुसन्धान सकेर फाइल तयार गर्नु पर्ने भएकाले बयान सुरु गरिएको जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले बताए ।
२० वैशाखमा पक्राउ पुर्जी जारी भएका रायमाझीलाई प्रहरीले आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको थियो ।














