Logo
Logo

‘नमस्ते पे’को क्युआर कोडमार्फत विभिन्न सेवाको सहजै भुक्तानी गर्न सकिने


315
Shares


काठमाडौं । नेपाल टेलिकमले ‘नमस्ते पे’ को क्युआर कोडमार्फत विभिन्न सेवाको सहजै बिल भुक्तानी गर्न सक्ने सुविधाको शुभारम्भ गरेको छ । 

कम्पनीले हाल नेपाल टेलिकमको सुन्धारा र बबरमहल शाखामा रहेका सम्पूर्ण काउन्टरहरुमा क्युआर मार्फत भुक्तानीको सुविधा सञ्चालनमा ल्याएको हो ।   

आज टेलिकमले सुन्धारा र बबरमहलमा आयोजित एक कार्यक्रम गरी उक्त सेवाको शुभारम्भ गरेको हो । कार्यक्रममा प्रादेशिक निर्देशनालय काठमाडौं, बागमती प्रदेशकी निर्देशक सविना मास्के प्रधान र नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका सीईओ प्रवीणराज पोखरेलले यस सम्बन्धी सम्झौता पत्र आदानप्रदान गरेका थिए । 

उक्त अवसरमा निर्देशक प्रधानले क्युआर कोडमार्फत बिल भुक्तानी गरी सेवाको शुभारम्भ गर्दै उनले भने, ‘नेपाल टेलिकमले आफ्नो काउन्टरहरुमा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न पहिलो पाइला चालेको छ । प्रयोगकर्ताहरूले अब नमस्ते पे को क्युआर प्रयोग गरेर बिल तिर्न सक्नु हुनेछ । अब प्रयोगकर्ताहरूले नगद झिक्न बैंकमा जानु पर्ने झन्झटलाई कम गरी बिल भुक्तानीलाई सजिलो र छिटो बनाउन मद्दत गर्नेछ ।’

नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका सीईओ प्रवीणराज पोखरेलले नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने बताए । उनले भने, ‘डिजिटल भुक्तानी सेवा प्रदान गर्ने अवसर पाएकोमा हामी खुसी भएका छौ र आगामी दिनमा थप सहकार्य गर्न प्रोत्साहित भएका छौँ । यसले नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने छ । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नका लागि यसले महत्वपूर्ण भूमिका खेल्ने छ ।’

सो अवसरमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका निवर्तमान सीईओ कृष्ण प्रसाद भण्डारी, सूचना प्रणाली सहयोगी निर्देशनालयका प्रबन्धक शालिकराम सुवेदी र दूरसञ्चार कार्यालय, सुन्धाराका कार्यालय प्रमुख दिनेश चन्द्र पन्थीले सेवा शुभारम्भ भएकोमा खुसी व्यक्त गर्दै सेवाका वारेमा आवश्यक जानकारी प्रदान गराएका थिए ।  

हाल नेपाल टेलिकमको सुन्धारा र बबरमहल काउन्टरमा गई नमस्ते पे को क्युआर प्रयोग गरी बिल भुक्तानी गर्न सकिने छ । यो सेवालाई आगामी दिनमा अन्य कार्यालयहरुमा समेत विस्तार गरिने छ । 

कम्पनीका नयाँ र विद्यमान दुवै प्रयोगकर्ताहरूले क्युआर मार्फत भुक्तानी गरे वापत आफ्नो वालेटमा १० प्रतिशत क्यासब्याक पाउने व्यवस्था समेत गरिएको छ ।

नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा सञ्चालित नेपाल डिजिटल पेमेन्ट्स कम्पनीले ‘नमस्ते पे’ सञ्चालन गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्