Logo
Logo

अभावको भूमरीमा रुमल्लिएको विद्यालय



धनगढी । सुगम जिल्ला कैलालीका दुई पालिकाहरु अझै दुर्गममा रहेका छन् । सुन्दा अच्चम लाग्नसक्छ, कैलालीका दुई चुरे र मोहन्याल गाउँपालिकामा अझैपनि यातायात, शिक्षा, स्वास्थ्य, विधुत् र सञ्चारको पहुँचमा पुग्न सकेको छैन ।

त्यस्तै, गाउँपालिका हो मोहन्याल । साबिकका मोहन्याल, सुगुरखाल र पण्डौन गाविसलाई जोडेर मोहन्याल गाउँपालिका बनाइएको हो ।

मोहन्याल गाउँपालिका वडा २ स्थित वि.स. २०४६ मा स्थापना भएको घोडालङ्गे आधारभूत विद्यालयमा न शुद्ध पिउने पानी छ, नत सञ्चार सुविधा छ । पहाडी क्षेत्रमा रहेको उक्त विद्यालयमा अहिले पनि बालबालिका र अपांगमैत्री शौचालयको व्यवस्था छैन ।

कक्षा ७ मा अध्ययरत विद्यार्थी मनिसा रेस्मीले विद्यालयमा पानी नहुँदा महिनावारी भएको समयमा समस्या हुने गरेको बताइन् । उनले भनिन्, ‘हामी जनजाती भएकोले त्यति महिनावारी मान्दैनौं, विद्यालय आउछौँ । तर, विद्यालयमा पानीको अभाव हुदा शौचालय समस्या हुने गरेको छ ।’

उनले सेनेटरी प्याड व्यवस्थापनका लागि विद्यालयमा छात्राहरुको लागि छुट्टै शौचालय नभएको बताइन् । उनले जीर्ण अवस्थामा रहेको शौचालय भएपनि पानीको अभाव हुँदा हामी छात्राहरुलाई समस्या हुने गरेको दुखेसो सुनाइन् ।

विद्यालय स्थापनाको ३४ वर्ष पुगिसक्दा पनि पर्याप्त रुपमा शैक्षिक सामग्री, पाठ्यक्रम, पाठ्यपुस्तक नहुँदा विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाउन सकेका छन् ।

कक्षा ८ सम्म पढाइ हुने घोडालङ्गे आधारभूत विद्यालयमा ८ जना शिक्षकमात्र कार्यरत छन् । विद्यालमा एक जनामात्र स्थायी शिक्षक, एक करार अस्थायी, एक राहत, एकजना बालविकास र १ जना संघीय अनुदान शिक्षक कार्यरत छन् । भने, तीनजना निजि स्रोतबाट शिक्षक राखी विद्यालय सञ्चालन गरिएको छ ।

निजि स्रोतबाट राखिएका शिक्षकहरु न्यून तलबमा काम गर्न बाध्य छन् । न्यून तलब त्यसैमा पनि समयमा कर्मचारीले तलब नपाउँदा गुणस्तरीय शिक्षा दिन नसकिएको विद्यालयका प्रधानाध्यापक घनश्याम न्युरेले बताए ।

उनले भने, ‘संघीय सरकारको अनुदान कोटा रहेका शिक्षकलाई ११ महिनादेखि तलब दिनसकिएको छैन् । भने, निजि स्रोतका शिक्षकलाई विद्यालयको प्रशासनिक खर्च वाफत आउने रकम र सामुदायिक वन उपभोक्ता समूहले दिने सहयोग रकमबाट तलब भुक्तानी गर्ने गरेका छौं ।’

सरकारी नियम अनुसारको तलब दिन नसकिएकाले योग्य शिक्षक पाउन नसकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर शाहीले बताए । उनले भने, ‘अहिले कक्षा ८ सम्म एसएलसी पास भएका शिक्षकहरु पढाउँछन् । जसले गर्दा गुणस्तरीय शिक्षा प्रदान गर्न सकिएको छैन् ।’

विद्यार्थीलाई प्रविधिमैत्री बनाउनका लागि विद्यालयमा इन्टरनेट जडान गरिएको भएपनि नेटले काम नगर्दा पढाई÷लेखाई झन प्रभावित हुने गरेको अध्यक्ष शाहीले बताए ।

विद्यालय भवन जीर्ण हुँदा विद्यार्थीलाई कक्षाकोठामा अध्ययन गराउन सकिएको छैन् । छात्रबास नहुँदा टाढाबाट आएका विद्यार्थीलाई समस्या भएको शिक्षक मदनराज जोशीले बताए । जीर्ण भवन र पिउने पानी नहुँदा विद्यार्थीहरुलाई समस्या हुने गरेको जोशीको भनाई छ ।

ग्रामिण क्षेत्रमा रहेको यो विद्यालयमा १ सय २० जना विद्यार्थी रहेका छन् । सामुदायिक विद्यालयतर्फ स्थानीय, प्रदेश र संघीय सरकारको ध्यान नजाँदा आफ्ना सन्तानले गुणस्तरीय शिक्षा पाउन नसकेको अभिभावक बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्