
काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका पूर्वसांसद आङतावा शेर्पासँग आज बयान लिने भएको छ ।
यसअघि सो प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १३ जनासँग बयान लिइसकेको छ । प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका शेर्पाबारे अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले मंगलबार २ दिनको म्याद थपेको छ ।
शेर्पाले गत सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । कांग्रेसका पूर्वसांसद शेर्पाले गरे प्रहरीसमक्ष आत्मसमर्पण
उनीविरुद्ध प्रहरीले वैशाख ३१ गते पक्राउ पुर्जी जारी गरेको थियो । यो प्रकरणमा पक्राउ परेका बिचौलियालाई हिरासतमा भेटेर कांग्रेस नेताहरूलाई बयानमा नपोल्न दबाब दिएको आरोप उनलाई लागेको छ ।
खासगरी शेर्पाले बालकृष्ण खाँणको नाम नलिन हिरासतमै पुगेर सानु भण्डारी र केशव दुलाललाई भेटेका थिए । उनले पीडितको रकम फिर्ता गरिदिने भन्दै खाँणलाई जोगाउन खोजेका थिए ।
तर, प्रहरीले पूर्वगृहमन्त्री खाँण र पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिसकेको छ। पछिल्लोपटक आइतबार राति नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पनि पक्राउ परेका छन्। यससँगै शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ।











