Logo
Logo

नक्कली शरणार्थी बनाउनेहरुलाई छुट दिन सकिँदैन : गृहमन्त्री


882
Shares

काठमाडौं । उप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्ना नागरिकलाई पैसा असुलेर अनागरिक र शरणार्थी बनाई वैभवशाली जीवन व्यतित गर्नेलाई जस्तोसुकै दबाब वा प्रभाव आएपनि छुट दिन नसकिने बताएका छन् । दोषी नउम्कने र निर्दोष नफस्ने गरी प्रहरीले अनुसन्धान गरिरहेको समेत उनले बताए ।

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष विजय पौडेल र प्रवक्ता जगन्नाथ खतिवडासहित नेताहरु नक्कली शरणार्थी प्रकरणबारे चासो लिँदै बुधबार गृह मन्त्रालय पुगेका थिए । सोक्रममा गृहमन्त्री श्रेष्ठले प्रतिनिधिमण्डलसँग कुराकानी गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबै दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाए ।

गृहमन्त्री श्रेष्ठले जस्तोसुकै दबाब र प्रभाव आएपनि गृहमन्त्रीका रुपमा आफूले अनुसन्धानलाई प्रभावित हुन नदिने बताए ।
समाजवादीका नेताहरुले सो प्रकरणमा संलग्नलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।
एकीकृत समाजवादीले सो प्रकरणमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन स्पष्ट अडान, कार्यकुशलता र सक्रियता देखाएर आमनागरिकमा सकारात्मक सन्देश प्रवाह गरेकोमा सरकारलाई धन्यवादसमेत दिएको छ ।

उच्च पदस्थ नेता तथा मन्त्रालयका सचिवहरूले नै आफ्ना नागरिकलाई अर्को देशको नक्कली नागरिक बनाएर मानव बेचविखन र राष्ट्रद्रोहको कुकर्म गरेको तर यसलाई आधार बनाएर विभिन्न आवरणका प्रतिगामी शक्तिहरुले संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध कुप्रचार गरी देशलाई अराजक परिस्थितितिर लैजान खोजेकोप्रति चनाखो हुनुपर्ने एकीकृत समाजवादीको अडान छ ।

विगतका धेरै भ्रष्टाचारका काण्डहरू बीचैमा सामसुम पारिएका भन्दै यस्ता गम्भीर मुद्दालाई कुनैपनि प्रकारको मिलोमतोमा कमजोर नबनाउनसमेत एकीकृत समाजवादीले ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्