Logo
Logo
कला

‘इच्छाएपछि पुग्ने रहेछ’



सिन्धुपाल्चोककी पाल्मु शेर्पा सानैदेखि संगीतप्रति रुची राख्थिन् । हिमाली सेलोबाट प्रभावित पाल्मु कुन्ति मोक्तान र राजु लामाका गीतहरु गुनगनाउँदै हुर्किन् । तर, उनलाई गायिका हुन्छु भन्ने लागेको थिएन । ‘गायनमा रुची र इच्छा भएपनि गायिका हुन्छु भन्ने लागेको थिएन’, केही दिन अघिमात्र ‘राईजिङ सिंगर अफ दि ईयर-२०२३’बाट सम्मानीत भएकी पाल्मुले भनिन्, ‘इच्छाएपछि पग्ने रहेछ ।’ शेर्पा समु्दायकी नगन्यमध्येकी एक पाल्मु शेर्पा नेपाली गायन क्षेत्रकी ‘राईजिङ स्टार’ हुन् ।

तीन वर्षदेखि गायनमा सक्रिय पाल्मुले गाएका अधिकांश गीत चर्चित छन् । थोरै समयमै गायनबाट चिनाउन सफल पाल्मुका ‘दार ठेकीको मोही (हिमाली नादिङ गीत)’, ‘मोही त पार्ने मदानी’, ‘ल्होसार मेलामा’जस्ता गीत चर्चित छन् । ब्युटिसियनसमेत रहेकी पाल्मुले काठमाडौंको बौद्धमा ‘नुमुज ब्युटि स्किन केयर एण्ड ट्रेनिङ सेन्टर’ सञ्चालन गर्दै आएकी छन् । गायिका तथा ब्युटिसियन पाल्मु शेर्पासँग एमपी सुब्बाको जम्काभेट :

हिजोआज के गर्दै हुनुहुन्छ ?
गीतसंगीतकै कामहरु गर्दै आएकी छु । गायनबाहेक मेरो अर्को पनि व्यवसायी छ । मेरो बौद्धमा पार्लर छ । गीतसंगीतबाट फुर्सद हुँदा पार्लरमै बस्छु ।

तपाइँ ब्युटिसियन पनि हो ?
गायनमा लाग्नुभन्दा अगाडिदेखि नै म ब्युटिसियन हो । सुरुमा मेरो दिदीले बौद्धमा ‘नुमुज ब्युटि स्किन केयर एण्ड ट्रेनिङ सेन्टर’ सञ्चालनमा ल्याउनु भएको हो । उक्त पार्लरमा म जोडिएको ७ वर्ष भयो । गायनमा औपचारिक रुपमा लागेको तीन वर्षमात्र हुँदैछ ।

ब्युटिसियनको कोर्ष कहाँ गर्नुभयो ?
–दिदीबाटै प्रशिक्षण लिएकी हुँ । जति पनि मैले ब्युटिसियनसम्बन्धी कोर्ष गरेकी छ्ु, त्यो सबै दिदीले सिकाउनु भएको हो ।
सौन्दर्य व्यवसायी कस्तो चल्दैछ ?
–अहिले राम्रो छ । प्रतिस्पर्धा त छ नै, हरेक क्षेत्र र व्यवसायीमा प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धा नै व्यापार व्यवसायीलाई गुणास्तर बढाउने हो । हामी ब्युटिसियन सम्बन्धी ट्रेनिङ पनि दिन्छौँ । जसले गर्दा राम्रै छ ।
गायनप्रति कसरी आकर्षित हुनुभयो ?
–मलाई सानैदेखि गीतसंगीतमा रुची र इच्छा थियो । सानोमा गुनगुनाइरहँन्थे । विशेषगरी हिमाली सेलो गीतहरु गाउँथेँ । त्यसबाहेक गायिका कुन्ति मोक्तान र ‘मंगोलियन हार्ट’का राजु लामाको गीतहरु गाउँथे । त्यो बेला नै मैले गायिका बन्ने सोच बनाएकी थिएँ । तर साँच्चीकै गायिका हुन्छु होला भनेरचाहिँ आफैंलाई विश्वास लागेको थिएन ।
सानैमा गायिका बन्ने इच्छा भएर पनि किन ढिलो गर्नुभयो ?
रहर र इच्छा थियो । तर, समय मिलेन । कतिपय कुरा पूरा हुन अवस्था र परिस्थिति नै पर्खनुपर्ने रहेछ । मेरो लागि पनि त्यस्तै भयो । जतिखेर गायिका बन्ने इच्छा जागेको थियो । त्यतिखेरै लागेको भए मेरो संगीतयात्राले धेरै वर्ष पार गरिसक्ने थियो । तर, ढिलो लागेर पनि मलाई पछुतो छैन किनकि रहर र इच्छा पूरा गर्न पाएकी छु ।

तपाइँले बढीजसो गाउने सेलो नै हो ?
सुरुका दिनहरुमा सेलो बढी गाएँ । त्यो पनि हिमाली सेलो गीत गाउँथे । मैले पहिलो पटक गाएको ‘दार ठेकीको मोही’ बोलको गीत हिमाली नादिङ गीत हो । जुन शेर्पा समुदायको मौलिक र कल्चरल गीत हो ।

पहिलो पटक स्टुडियो छिर्दा कस्तो अनुभव भएको थियो ?
एकछिन नर्भस भएकी थिएँ । तैपनि मेरो पहिलो रेकर्डिङ राम्रो भएको थियो । मैले पहिलो पटक रेकर्डिङ गरेको गीत नै ‘दार ठेकीको मोही’ हो । यो युगल गीत हो । उक्त गीतमा म सँगै प्रदीप लामाको पनि स्वर रहेको छ ।

तपाइँलाई चिनाउने गीत कुन हो ?
मलाई पहिलो गीतले नै चिनाएको हो । हिमाली नादिङ गीत भएकाले एकदमै राम्रो रेस्पोन्स पाएँ । उक्त गीत शेर्पा सुमदायको कल्चरमा आधारित भएकाले भिडियो मेरै गाउँमा सिन्धुपाल्चोकको भोटेकोशी आसपासमा गरेकी थिएँ ।

तपाइँको नयाँ गीत आउँदै छ कि छैन ?
तीन वटा गीत सार्वजनिक गर्ने तयारीमा छु । ‘हिमालकी छोरी’, ‘आजिला शेर्मा’ र ‘उजुला शेरा’ यो चाहिँ शेर्पा भाषाको हो । यी गीतसँगै एउटा गीत शम्भुजित बास्कोटासँग पनि गर्दैछु ।

गीतसंगीत क्षेत्र कस्तो लागिरहेको छ ?
अहिलेसम्म राम्रै लागिरहेको छ । जे सोचेर यो क्षेत्रमा लागे, त्यही पाउँदै आएकी छु । गीतसंगीत क्षेत्रमा लागेर साथ, सपोर्ट र दर्शकको माया पाएकी छु । घरपरिवारबाट पनि राम्रो सपोर्ट पाएकी छु । विशेषगरी मेरो मामाहरुले एकदमै राम्रो सपोर्ट गर्नुभएको छु । त्यसैले खुसी छु ।

ब्युटिसियन पनि हुनुहुन्छ । समय कसरी मिलाउनुहुन्छ ?
अहिलेसम्म पार्लर गायनलाई समय दिन भ्याइरहेकी छु । दैनिक कम्तीमा एक घण्टा संगीतका लागि छुटाएकी छु । जुन समयमा रियाज गर्छु ।

मोडलिङमा रुची छैन ?
खाशै रुची छैन । आफ्नो गीतको भिडियोमा भने गर्ने सोच छ । गायन र ब्युटिसियनबाहेक आर्ट गर्न रुचाउँछु । आर्टहरु गर्दै पनि आएकी छु । आर्ट पनि मेरो सानैदेखिको रुची हो ।

तपाइँको लक्ष्यचाहिँ के हो ?
एक सफल सौन्दर्य व्यवसायी बन्ने र कु्सल गायिका हुने मेरो लक्ष्य हो । हेरौं, भविष्यको कुुरा हो । सकेसम्म मिहिनेत गरेरै जानेछु ।

प्रतिक्रिया दिनुहोस्