Logo

सिटिजन्स बैंकलाई ५६ करोड बढी रकम सहयोग



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले जर्मनस्थित के.एफ.डब्लू डेभलपमेण्ट बैंक र नेपाल राष्ट्र बैंकसँग सम्झौता गरेको छ । नेपालको ग्रामीण क्षेत्रमा लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रवर्धनका लागि सिटिजन्स बैंक इन्टरनेसनलले उनीहरुसँग सम्झौता गरेको हो ।

सम्झौता अनुसार बैंकले ‘सस्टेनेबल इकोनोमिक डेभलपमेन्ट इन रुरलएण्ड सेमी अर्बन एरियाज एमएसएमई फाइनान्स फेज’ अन्तर्गत यूरो ३५ लाख पुनरकर्जा र यूरो ५ लाख गरी कुल ४० लाख बराबरको प्रावधिक सहयोग पाउने छ ।

बैंकलाई के.एफ.डब्लू डेभलपमेण्ट बैंकले सेडरा तीन प्रोजेक्टमा समझदारीको लागि नेपालमा संचालित बैंक तथा वित्तीय संस्था मध्येबाट चयन गरेको हो ।

नेपालसँग जर्मन वित्तीय सहयोग परियोजना अन्तर्गत के.एफ.डब्लू डेभलपमेण्ट बैंक, जर्मनीले नेपाल राष्ट्र बैंकसँगको समझदारीमा नेपालमा संचालित बैंक तथा वित्तीय संस्थालाई लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रवर्धनका लागि पुनरकर्जा प्रदान गर्दै आइरहेको छ ।

बैंकले उक्त शिर्षक अन्तर्गत हालसम्म २१ हजार ५२६ व्यवसायलाई २५ अर्ब बराबरको कर्जा प्रदान गरेको छ । यसमध्ये दुई हजार ८८२ महिला व्यवसायीलाई व्यवसायको सुरक्षणमा सहुलियत व्याजदरमा २ अर्ब बराबरको कर्जा प्रदान गरेको छ ।

यसका साथै, बैंकले सिटिजन्स लघुवित्त कर्जा तथा बचत योजना अन्तर्गत नेपालका ग्रामीण भेगका मध्यम तथा विपन्नवर्ग परिवारका महिलालाई लक्षित गरी सामूहिक जमानीको आधारमा हालसम्म पाँच हजार ४९२ मध्यम तथा विपन्नवर्ग परिवारलाई व्यवसाय गर्न ७६ करोड कर्जा प्रवाह गरिसकेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३९ वटा ए।टि।एम।, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्