Logo
Logo
कला

‘मोडलिङ मेरो प्यासन हो’



फिल्म ‘सुगुत्’की अभिनेत्री हुन् सुम्निमा खापुङ । तर, उनको दिनचर्या विमारी चेकजाँच र स्याहारमै बढी बित्छ । उनी पेसाले नर्स हुन् । उनी मोडलिङ र अभिनयमा पनि उत्तिकै रुची राख्छिन् । पुर्खौैली तेह्रथुम मोरङकी सुम्निमाले ‘मिस पुर्वेली–२०१५’को शीर्ष उपाधि जितेसँगै मोडलिङ करिअर सुरु गरेकी हुन् । ‘सानैदेखि मोडलिङमा रुची थियो । त्यसैले नर्सिङका आलावा मोडलिङ गरिरहेकी छु ।’

लिम्बू कल्चरमा आधारित फिल्म ‘सुगुत्’लगायत थुप्रै म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी २४ वर्षीया सुम्निमा भन्छिन्, ‘मान्छेलाई नाम पनि चाहिन्छ । त्यसैले नामकै लागि एकपटक ‘मिस नेपाल’मा पार्टिसिपेन्ट हुने इच्छा छ ।’ केही दिनअघि मात्र काठमाडौंमा सम्पन्न ‘मिस्टर एण्ड मिस नेशनल नेपाल’मा थर्ड रनरअपसहित तीनवटा सबटाइटल जित्न सफल सुम्निमा अभिनीत फिल्म ‘सुगुत्’का हाल पोष्ट प्रोडक्शमा छ । तेह्रथुमकै मेछ्यायेम अस्पतालका कार्यरत नर्स तथा मोडल सुम्निमा खापुङसँग एमपी सुब्बाको जम्काभेट :

अहिले के गर्दै हुनुहुन्छ ?
केही समययता काठमाडौंमा छु । ‘मिस्टर एण्ड मिस नेशनल नेपाल–२०२३’मा पार्टिसिपेन्ट हुन यहाँ आएकी हुँ । कार्यक्रम सकियो, त्यसैले भोलि पूर्वतिर लाग्दैछु । पूर्व फर्केपछि जागीरमै व्यस्त हुनेछु ।

जागीर कहाँ गर्दै हुनुहुन्छ ?
म जन्मेहुर्केकै जिल्ला तेह्रथुमको मोरङस्थित मेछ्यायेम अस्पतालमा कार्यरत छु । परिवारका सदस्य भने विराटनरमा बस्नुहुन्छ । हामी तेह्रथुमबाट पहिले नै विराटनर झरेका हौँ । म चाहिँ जागीरको सिलसिलामा पछिल्लो समय तेह्रथुममै बढी बस्छु ।

‘मिस्टर एण्ड मिस नेशनल नेपाल’मा थर्ड रनरअपमै चित्त बुझाउनु प-यो होइन त ?
शीर्ष विजेता बन्न नसक्नुमा मेरै कमजोरी भयो । प्रशिक्षणको क्रममा म चुके । जागीरले गर्दा पूरै समय प्रशिक्षणा लिन सकिनँ । शीर्ष विजेता बन्न नसकेपनि तीन वटा टाइटल अवार्ड जितेकी छु । त्यसैले खुसी छु ।

नर्सिङ पेसामा हुनुहन्छ, मोडलिङमा किन लाग्नुभएको नि ?
मोडलिङ र अभिनय मेरो सानैदेखिको रुची हो । नर्सिङ मेरो पेसा हो । रुची र रहर पूरा गर्नलाई मोडलिङ र अभिनय क्षेत्रमा लागेकी हुँ ।

मोडलिङको बाटो कसरी खुल्यो ?
मोडलिङप्रति रुची र इच्छा भएकाले सन् २०१५ मा ‘मिस पूर्वेली’मा भाग लिएकी थिएँ । प्रतियोगितामा विनर पनि भएँ । त्यसपछि विभिन्न म्युजिक भिडियोमा प्रस्ताव आउन थाल्यो ।

मोडलिङमा के छ, जसबाट तपाइँ आकर्षित हुनुभयो ?
मोडलिङ भनेको लाइमलाइट हो । मलाई सानैदेखि छुट्टै नाम कमाउने इच्छा थियो । जुन मोडलिङबाट पूरा गर्न सकिन्छ भन्ने मलाई लाग्यो । हामी मान्छेलाई कामसँगै नाम पनि चाहिन्छ । नामकै लागि एकपटक ‘मिस नेपाल’मा भिड्ने सोच छ । यसपाली सहभागी हुने सोच बनाएकी थिएँ, तर छुट्यो ।

अर्को वर्ष ‘मिस नेपाल’मा सहभागी हुने होला नि ?
सोच बनाउँदैछु । ‘मिस नेपाल’मा सहभागी भएर नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा पुगेर नाम कमाउने मेरो इच्छा हो ।

जागीर गर्दै हुनुहुन्छ, समय कसरी छुट्याउँनु हुन्छ ?
अहिलेसम्म समय मेनेज गर्दै आएकी छु । भनिन्छ नि, जहाँ इच्छा, त्यहाँ उपाय । त्यसैले आफ्नो इच्छा र रुची भएको क्षेत्रलाई समय दिन सकिने रहेछ ।

अहिलेसम्म कति वटा भिडियोमा काम गर्नुभयो ?
एक दर्जनभन्दा बढी भयो । प्रस्ताव आएको सबै भिडियो गरेको भए धेरै हुन्थ्यो । तर, एकातिर जागीर छ । जागीर पनि विमारी हेर्नेजस्तो संवेदनशील भएकाले अफर आउनेवित्तिकै हिँडिहाल्नु नमिल्ने । जागीरलाई पनि मेनेज गर्दै मोडलिङ गर्दै आएकी छु ।

फिल्म ‘सुगुत्’मा तपाइँको भूमिका के छ ?
‘सुगुत्’ मेरो पहिलो फिल्म हो । फिल्ममा मैले ‘माक्सोती’ नामको युवतीको भूमिका गरेकी छु । यो फिल्म गाउँले परिवेशमा छ ।

‘सुगुत्’ कस्तो फिल्म हो ?
लिम्बू संस्कृति र रहन–सहनमा आधारित फिल्म हो । फिल्मको सबै कथा अहिले भन्न मिल्दैन होला । तर, यो एक नारीप्रधान फिल्म हो ।

नेपाली फिल्ममा अफर आयो भने गर्नुहुन्छ ?
राम्रो कथावस्तु बोकेको फिल्ममा अफर आयो भने गर्छु किनकि, मोडलिङ र अभिनय मेरो प्यासन हो । तैपनि, फिल्ममा काम गर्नुअगाडि कथावस्तु हेर्छु । कथावस्तुमा चित्त बुझ्यो भने गर्ने हो ।

फिल्ममा काम गर्दा समय अपुग होला नि ?
परिस्थिति अनुसार समय मिलाउन सक्छु । त्यो आफूमा भरपर्ने कुरा हो । अहिले म्युजिक भिडियोहरुमा जसरी समय दिन भ्याइरहेकी छु । त्यस्तै, फिल्ममा काम गर्ने अवस्था आयो भने त्यही अनुसार समय मिलाउँछु ।

आफ्नो पहिलो फिल्मबाट कतिको आशावादी हुनुहुन्छ ?
काम र मिहिनेत गरेअनुसार आशावादी छु । फिल्ममा मेरो खाशै लामो रोल छैन । तर, फिल्मको मेरुदण्डमध्ये मेरो भूमिका पनि एक हो । मलाई जहाँसम्म आशा छ, दर्शकले मेरो अभिनय रुचाउँनेछन् ।

नर्सिङ र मोडलिङमध्ये एक छाड्नु पर्दा ?
म दुवै विधालाई राेज्छु किनकि, नर्सिङ मेरो प्रोफेशनल हो भने मोडलिङ र अभिनय मेरो प्यासन हो । सकेसम्म आफ्नो प्रोफेशनल र प्यासनलाई साथै लिएर अगाडि बढ्ने छु ।

प्रतिक्रिया दिनुहोस्