Logo
Logo

कर बढ्ने सूचना चुहिएपछि एक सातामा ७ सय गाडी भित्रिए


234
Shares

काठमाडौं। सरकारले आज आर्थिक वर्ष २०८०/८१ का लागि बजेट ल्याइँदै छ । सरकारले आज सर्वजनिक गर्ने बजेटको सुचना १५ दिन अघि नै बाहिरिएपछि भन्सार नाकाहरूबाट नेपाल भित्रिने सामानकाे परिमान बढेकाे छ ।

बजेट आउनु दिनअघि अर्थ मन्त्रालयबाटै विद्युतीय गाडीमा करको दर हेरफेर हुने सूचना बाहिरिएपछि पछिल्लो एक सातामा ७ सय भन्दा धेरै युनिट विद्युतीय गाडी जाँचपास भएका छन्। विभिन्न भन्सार कार्यालयका तथ्यांकका अनुसार भन्सार कार्यालयमा आएर बसेका विद्युतीय गाडी एक सातामा धमाधम जाँचपास भएका हुन् ।

यो अवधिमा सबै भन्दा धेरै चिनियाँ ब्रान्डको गाडी आयात भएका छन्। चीनबाट मात्र पछिल्लो सात दिनमा लगभग ५ सय वटा इभीहरु भन्सार पास भएका छन् । सरकारले १०० किलोवाटको मोटर भएका इभीमा १० प्रतिशत कर बढाउने संकेत गरेपछि अटो व्यवसायीहरु आफ्ना गाडी भन्सार नाकाबाट गाडी छुटाएका हुन् । सय किलोवाटमा १० प्रतिशत भन्सार वा अन्तस्शुल्क बढ्दा सरदरमा एउटा गाडीमा पाँच लाख रुपैयाँ महँगिन्छ ।

भन्सार कार्यालय टिमुरेका अनुसार पछिल्लो एक हप्तामा यस नाका बाट ४५५ वटा विद्युतीय गाडीहरु व्यवसायीले छुटाएका छन्। यो भन्सार नाकाबाट बीवाइडी, एमजी र नेटा भी आयात हुने गरेको कार्यालयले जनाएको छ।

यसैगरी, भैरहवा भन्सार विभागका अनुसार पछिल्लो ७ दिनमा यो भन्सार नाकाबाट २२३ वटा विद्युतीय गाडीहरु छुटाइएका छन्। विभागले अहिले दैनिक ४० देखि ५० युनिट गाडीहरु छुट्न थालेको जनाएको छ। यो भन्सार नाकाबाट हाल टाटा, हुन्डाई, किया र चिनियाँ ब्रान्ड कोलकात्ता हुँदै पनि ल्याइने गरिएको कार्यालयले जनाएको छ।

यस्तै, तातोपानी भन्सार नाकाबाट पनि एक हप्तामा १९ युनिट विद्युतीय गाडी आयात गरिएको छ। यो नाकाबाट पनि चिनियाँ ब्रान्डका इभीहरु आयात हुने गरेका छन्। यसरी सबै भन्सार नाकाबाट ७ दिनमा ७ सय युनिट विद्युतीय गाडी नेपाल भित्रिएका छन्। यो संख्या एक महिनाभरीमा भित्रिने इभी भन्दा धेरै हो। हालसम्म मासिक ४०० देखि ५०० युनिट मात्र इभी आयात हुने गरेका छन्।

यो बजेटलाई आफ्नो पक्षमा पार्न गाडी बेच्ने अधिकृत बिक्रेताबीच तछाडमछाड चलिरहेको छ। यो पटकको नेपाल अटोमोबाइल डिलर्स एशोसिएसनमा आबद्ध रहेका विद्युतीय गाडी र पेट्रोल इन्जिन गाडी बेच्नेबीच बजेट आफ्नो पक्षमा पार्न ठूलै प्रतिस्पर्धा भइरहेको छ।

बजेटको बेला भन्सार नाका आइतबार रातिबाट पूर्ण रुपमा बन्द हुन्छ।

प्रतिक्रिया दिनुहोस्