Logo
Logo

आइजिपीलाई खड्काले किन थर्काए ?



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जनस्तरबाट प्रहरीको प्रशंसा भइरहँदा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर भने तनावमा छन् । सो प्रकरणमा उनको भूमिकालाई लिएर मिडियादेखि संसदसम्म प्रश्न उठेपछि कतै वर्तमान गृह प्रशासनले उनलाई हटाउने त होइनन् भन्ने त्रासमा प्रहरी नेतृत्व पुगेको छ । यही मौका छोपेर बसेका छन् एआइजी श्याम ज्ञवाली ।

एसएसपी हुँदा अभियुक्तहरूलाई सघाएको तथा आइजिपी भएपछि बालकृष्ण खाणलाई जोगाउने प्रयास गरेको गम्भीर आरोप कुँवरमाथि लागेको छ । आरोपमा केही तथ्य पनि देखिएका छन् । उनी काठमाडौं अपराध अनुसन्धान कार्यालयको प्रमुख हुँदा सानु भण्डारी र टंक गुरुङ पक्राउ परेका थिए । तर, गृह मन्त्रालयको दबाबमा उनले केही घन्टामै छाडिदिएका थिए । उनलाई आइजिपी बन्ने आधार त्यही केसले बनाएको प्रहरी अधिकारीहरू बताउँछन् ।

सो मुद्दामा तत्कालीन गृहमन्त्री बालकृष्ण खाण र सचिव टेकनारायण पाण्डेको स्वार्थअनुसार काम गरेकाले उनलाई १३ नम्बरबाट एक नम्बरमा राखेर डिआइजीमा बढुवा गरिएको यथार्थ छिपेको छैन । सोही आधारमा उनी एआइजीमा पनि पहिलो नम्बरमा बढुवा हुँदा गत चैतमा आइजिपी हुन सफल भएका थिए ।

उनलाई यसरी १३ नम्बरबाट १ नम्बरमा खाणले नै बढुवा गरेका थिए । आइजिपी बनाउन पनि उनकै लबिइङ थियो । त्यसकारण शरणार्थी मुद्दामा सकेसम्म खाणलाई उनी जोगाउन चाहन्थे । तर, प्रहरी अनुसन्धानमा खाणविरुद्ध प्रशस्त प्रमाण भएकाले जोगाउन सकेनन् । प्रहरीबाट एक–एक सूचना लिइरहेका खाणलाई अदालतबाट पक्राउ पूर्जीसमेत जारी नगरी जरुरी पक्राउ पूर्जीका आधारमा गिरफ्तार गरिएको थियो ।

खाण पक्राउ परेपछि सबैभन्दा ठूलो दबाब आइजिपी कुँवरमाथि नै पर्नु स्वभाविक थियो । दबाब मात्र होइन कांग्रेस नेताहरुले उनलाई धम्काएका समेत थिए । स्रोतका अनुसार उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले धम्काएको स्रोत बताउँछ । आफुहरूले नै आइजिपी बनाएको तर, अनुसन्धानमा सहयोग नगरेको भन्दै खड्काले कुँवरलाई धम्की दिएका थिए । रक्षामन्त्री खड्काले खाण पक्राउ पर्ने सुइको पाएपछि आइजी कुँवरलाई अमेरिका जान समेत रोक लगाएका थिए । तर, आइजीलाई थाहै नदिइ खाण पक्राउ पर्नुले कुँवरको भूमिका माथि शंका उठेको छ ।

अर्काेतर्फ अदालतमा मुद्दा नपुग्दै अनुसन्धानका गोप्य विवरणहरु बाहिर आए । जसमा बिचौलिया केशब दुलाल र सचिव टेकनारायण पाण्डेबीचको कुराकानीमा बसन्त सरलाई पनि आर्थिक सहयोग हुन्छ भनिएको छ ।

अर्काेतर्फ पक्राउ पुर्जी जारी भइसकेपछि पाण्डेकै आग्रहमा कुँवरले बिचौलियालार्ई भेटेको आधार देखिएको छ । जसकारण प्रहरी नेतृत्व यतिबेला समस्यामा परेको छ ।

हुन त कुँवर आर्थिक मामिलामा लोभ नभएका अधिकृतका रुपमा पहिचान बनाएका अधिकृत हुन् । तर, पनि उनी माथिको आदेश टार्न नसक्ने अधिकृत हुन् ।

मातहतकै प्रहरीले आइजिपी जोडिएको च्याट विवरण सार्वजनिक गरेको लुकेको छैन । एआइजी श्याम ज्ञवालीले नै आइजिपीलाई हटाउन विवरण सार्वजनिक गरेको आरोप लागेको छ । यस विषयमा छानबिनको समेत माग भयो । तर, गृह मन्त्रालयले छानबिनको आँट गर्न सकेन ।

‘गोप्य विवरण कसले सार्वजनिक ग¥यो भनेर छानबिन गरेपछि त्यो विवरण साँचो हो कि झुटो हो भनेर पनि छानबिन आवश्यक हुने देखियो,’ गृह मन्त्रालयका एक अधिकारी भन्छन्,‘त्यसो गर्दा आइजिपीको कुर्सी नै हल्लिने अवस्था आउने भएकाले यो विषय त्यतीकै थाँती छ ।’

कांग्रेसका नेताहरूले कुँवरलाई साथ दिएकाले यो विषयमा छानबिन हुन नसकेको हो । तत्कालका लागि आइजिपी कुँवर र एआइजी ज्ञवाली बीचकोे द्वन्द्व भने रोकिएको छ । तर, आइजिपीको बर्दीमा लागेको दाग भने मेटिएको छैन ।

कुँवर र ज्ञवालीबीच आइजिपी नियुक्तिको बेलादेखि नै टक्कर थियो । प्रधानमन्त्री प्रचण्ड ज्ञवालीको पक्षमा थिए तर कांग्रेस नेताहरूले कुनै पनि हालतमा कुँवर हुनुपर्छ भनेर दबाब दिएपछि प्रधानमन्त्री विवादमा पर्न चाहेनन् ।

पदस्थापनमा पनि ज्ञवालीलाई एकेडेमी राख्न खोजिएको थियो । तर, प्रधानमन्त्रीले नै उनलाई उपत्यका प्रहरी कार्यालय पठाएको स्रोत बताउँछ । यदि, ज्ञवाली उपत्यका प्रहरी कार्यालयमा थिएनन् भने यो प्रकरणको अनुसन्धान यति बलियो हुने थिएन भन्ने कुरा सबै प्रहरी अधिकारीले बुझेका छन् ।

आइजिपी बन्न नपाएको प्रतिशोध पनि उनले अहिलेको अनुसन्धानमा देखाएको आरोप पनि लागेको छ । उनी त्यहाँ रहँदा थप उच्चपदस्थ फन्दामा पर्न सक्ने भएकाले उनलाई हटाउन एक समूह सक्रिय भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्