Logo
Logo

नक्कली भुटानी शरणार्थी प्रकरण : झामार्फत बिचौलियाको देउवा ‘कनेक्सन’



काठमाडौं । २०७८ असार २८ मा सर्वोच्च अदालतले केपी शर्मा ओली नेतृत्वको सरकार हटाएर शेरबहादुर देउवा नेतृत्वमा सरकार बनाउन परमादेश दिएपछि नक्कली भुटानी शरणार्थी प्रकरणका बिचौलियाहरू छटपटाएका थिए । ३० जेठ २०७६ मा पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरू पहिल्याउन कार्यदल गठन भएको थियो । त्यसबेलाबाटै अमेरिका पठाउने नाममा नक्कली भुटानी शरणार्थी बनाएर रकम उठाउन सुरु भएको थियो ।

तर, कार्यदलले सिफारिस गरेका कुनै पनि व्यक्ति पठाउन नपाउँदै कार्यदल बनाउने गृहमन्त्री रामबहादुर थापा बादल र उनका सुरक्षाविज्ञ इन्द्रजित राई सरकारबाट बाहिरिन बाध्य भए ।

त्यसपछि नयाँ सरकारका गृहमन्त्री बालकृष्ण खाण र गृहसचिव टेकनारायण पाण्डेसँग सम्बन्ध बनाउन मुख्य बिचौलियाहरू केशव दुलाल, सोनु भण्डारी, सन्देश शर्मा, रामशरण केसीलगायत लागिरहेका थिए । सरकार र गठबन्धनको नेतृत्वसँग सम्बन्ध स्थापित गर्ने मुख्य बेचन झा हुन सक्ने दुलाल र शर्माले निष्कर्ष निकाले । सुजाता कोइराला परराष्ट्रमन्त्री हुँदा सचिवालयमा बसेर काम गरेका दुलालले झाको गिरिजाप्रसाद कोइरालासँग हुने गफगाफ र सम्बन्ध थाहा पाएका थिए ।

त्यसपछि झालाई भेटेर दुलाल र केसीले योजना सुनाएका थिए । झाले आफूले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री खाण लगायतसँग सम्बन्ध स्थापित गर्न सहजै सक्ने तर, त्यसका लागि पहिला पेस्की चाहिने बताएका थिए ।

कसरी यो योजनालाई पार लगाउने भन्दै लागेकाहरूले उनलाई पेस्कीस्वरुप दुई करोड दिन तयार भए । रामशरण केसीले झाको नाममा काटेको दुई करोडको चेक सार्वजनिक भइसकेको छ ।

पेस्की पाएपछि उनले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने वातावरण निर्माण गरे । साँझको समयमा भएको भेटमा झा र देउवा तथा उनकी पत्नी आरजु राणा देउवाबीच ४७ मिनेट भेटवार्ता भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । भेटमा झाले भुटानी शरणार्थी प्रकरणबारे प्रधानमन्त्री देउवालाई विस्तृतरूपमा बताएका थिए ।

२६ वैशाखमा पक्राउ परेका केसीमाथि अनुसन्धान गर्ने क्रममा झाको संलग्नता खुलेको हो । झाले शरणार्थी सूचीमा राखेर विदेश पठाउन राजनीतिक लबिङ गर्ने भन्दै दुई करोड रुपैयाँ लिएको केसीले बयानका क्रममा बताएका छन् । यस प्रकरणमा अनुसन्धान थालेलगत्तै झा फरार छन् ।

झालाई पहिला आफूले भेटेर तत्कालिन प्रधानमन्त्री देउवाले गृहमन्त्री खाणलाई भेट्न पठाएका थिए । देउवाले खाणलाई विषयबस्तु नभनी बेचन झा नाम गरेको व्यक्तिलाई आफूले भेट्न पठाएको र उसले भनेको काम जस्तो भए पनि सम्पन्न गरेर पठाउन निर्देशन दिएका थिए ।

जिल्ला अदालत काठमाडौँमा दायर अभियोजन पत्रमा देउवाले नै फोनमा गृहमन्त्री खाणलाई बेचनलाई भेट्न र उसले भनेको काम गरिदिन निर्देशन दिएको उल्लेख छ ।

अभियोजनमा विचौलियाहरूले देउवासँग पहुँच विस्तार गर्न र आफूहरूको धन्दा सफल बनाउन कांग्रेस नेतृत्वको सरकारमा प्रभाव विस्तारमा झालाई प्रयोग गरेका पाइएको उल्लेख गरेको छ । झाले भारतीय दूताबास र नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको सहयोगमा देउवालाई भेटेको र देउवाले निर्देशन दिएपछि खाणलाई भेटेको उल्लेख छ ।

यही प्रकरणमा थुनामा रहेका खाण र सचिव पाण्डेलाई ठगी गिरोहसँग झाले भेटाएका थिए । सचिव पाण्डेले लिखित बयानमै ‘मन्त्रालयमा राजनीतिक रूपमा सम्पर्कमा आएका बेचन झासँग बयान लिएपछि यस विषयमा थप गहिराइमा पुग्न सकिन्छ ।’ भनेका छन् । झाले सत्तागठबन्धनमै आफ्नो भूमिका रहेको भनेर सचिव पाण्डेलाई मन्त्रालयमा बताएका थिए । झाले पहिला खाण र गृहसचिव पाण्डेलाई भेटेपछि विचौलियालाई पनि मन्त्री र सचिवसँग भेट गराएका थिए ।

झाको कांग्रेस पूर्वमहामन्त्री सिटौलासँग लामो समयदेखि निकटसम्बन्ध छ । सिटौलाले पनि देउवालाई झालाई भेट्न सुझाएका थिए । ‘पहिले पनि कांग्रेसका थुप्रै शीर्ष नेताहरूसँग उनको निकटसम्बन्ध रहेछ, त्यसबेला बालुवाटारमा पनि उनको निकटसम्बन्ध थियो’, प्रहरी स्रोतले भन्यो ।

अनुसन्धानमा संलग्न अधिकृतहरूले झालाई पक्राउ गर्न सकेमा थप हाई–प्रोफाइल नेक्सस खुल्न सक्ने बताउँछन् ।

तत्कालीन गृहमन्त्री बादलले सुरक्षा सल्लाहकार राई समेतको सिफारिसमा कार्यदललाई दिएको कार्यदेशको अन्तिम बुँदामार्फत यो खेल सुरुवात भएको प्रहरी अधिकृतहरुको निष्कर्ष छ । कार्यदलको कार्यदेश सम्बन्धी छैठौं बुँदामा ‘दर्ता हुन छुट भएका शरणार्थीहरूको लगत संकलन गरेर उनीहरूलाई भुटान फिर्ता गर्न सकिने वा नसकिने, तेस्रो मुलुक पठाउन सकिने वा नसकिने’ विषयमा अध्ययन गर्न भनिएको थियो । त्यही बुँदालाई आधार मानेर तत्कालिन गृहमन्त्री बादलका सुरक्षाविज्ञ राईले नक्कली भुटानी शरणार्थी बनाउने धन्दा सुरुवात गरेका थिए ।

त्यसअनुसार कार्यदलले दर्ता छुट भएकाहरुलाई आवेदन दिन सार्वजनिक आह्वान गरेको थियो । कार्यदलसमक्ष ८७५ जनाले आवेदन दिएका थिए । ठगीमा संलग्न गिरोहले निवेदनहरू संकलन गरेर झापा र मोरङको क्याम्पमा पु¥याएको त्यस्ता निवेदनलाई कार्यदलले अस्वीकृत गरिदिएपछि गिरोहको खेल बिग्रिएको थियो ।

को हुन बेचन झा ?

झा भारतीय नागरिक हुन् । नेपालमै बिहे गरेका झाको ससुराली सिरहाको देउरिपट्टी हो । उनी तराई कांग्रेसका संस्थापक नेता बेदानन्द झाका भाइ कुलानन्दका ज्वाइँ हुन् । जेठाससुरा बेदानन्दकै लिगेसीबाट काठमाडौ आएका झा यतै स्थापित भएको र उच्च राजनीतिक नेतृत्वसँग सम्पर्क स्थापित गरेका थिए ।

झाको नेपाल र भारत दुवैतिर नागरिकता रहेको प्रहरी अधिकारीहरू बताउँछन् । काठमाडौंको बानेश्वरमा घर भएका झाको कांग्रेसका धेरै नेतासँग सम्बन्ध देखिएको छ । ठूला ठेक्कापट्टामा पनि झा संलग्न रहेको उनको चिनजानका व्यक्तिहरू बताउँछन् ।

झाले तत्कालीन प्रधानमन्त्री देउवापत्नी आरजु राणा र एमालेका शीर्षस्थ नेताहरूसँग सेटिङ मिलाउने काम गरेको अनुसन्धानबाट खुलेको प्रहरी अधिकारीहरू बताउँछन् । उनको घर मध्यबानेश्वरस्थित चेल्सी कलेज र पाठशाला स्कूलको बीचमा छ । उनी ४० वर्षदेखि काठमाडौंमा बस्दै आएका छन् ।

शुरूमा नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग राम्रोे सम्बन्ध रहेका झाले पछि देउवालाई पहिलोपटक प्रधानमन्त्री बनाउन भारततर्फ ‘च्यानल’ मिलाएका थिए ।

बेचनको आरजुका भाइ भुषण राणासँग व्यापारिकसम्बन्ध छ । झा जलविद्युत् क्षेत्रका क बर्गका ठेकेदार हुन् । बेचनको ‘विभांशु ब्रदर्स’ नामको ठेक्कापट्टा गर्ने कम्पनी छ । ट्रान्सफर्मरदेखि ‘एसआर कन्डक्टर’ खरिदका काम गरेका छन् । झाले अहिले यही प्रकरणमा थुनामा रहेका तत्कालीन उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीसँग पनि नजिकको सम्बन्ध बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्