Logo
Logo

‘दरबार हत्याकाण्ड र गौर हत्याकाण्ड छिनोफानो गरिन्छ’


2k
Shares

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दरबार हत्याकाण्ड र गौर हत्याकाण्डको रहस्य छिनोफानो गरिने बताएका छन् ।

पार्टी कार्यालय पेरिस डाँडामा पार्टीको केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले रहस्यकै रूपमा रहेको दरबार हत्याकाण्ड र गौर हत्याकाण्डको रहस्य खोजेर छिनोफानो गरिने बताएका हुन् ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने– ‘ठूल्ठूला भयानक हत्याकाण्डहरू छन्, ती हत्याकाण्डहरूको खोजीनिती गर्नु छ । चाहे त्यो गौर हत्याकाण्ड होस, चाहे त्यो दरबार हत्याकाण्ड होस, छिनोफानो भएको छैन  । यी सबै काण्डहरूको खोजीनिती गर्नु छ, गरिन्छ ।’

विभिन्न कालखण्डमा भएका यस्ता हत्याकाण्डबारे नेपाली जनताको मनमा धेरै ठूला ठूला शङ्काहरू रहेको भन्दै अध्यक्ष प्रचण्डले भने– ‘हत्याकाण्डहरूबारे नेपाली जनताको मनमा ठूला ठूला शङ्काहरू छन् । के भएको हो ? भन्ने कुराको सत्य तथ्य आएको छैन । यी सबै खोजीनिती गरेर नेपाली जनतामा नयाँ विश्वास जगाउनु छ । त्यसैले सबै खोजीनिती गरिन्छ ।’

के हो गौर हत्याकाण्ड ?

२०६३ साल चैत्र ७ गते रौतहटको गौरस्थित राईस मिलमा मधेशी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादीले एउटै स्थानमा सभा गर्न लाग्दा दुई पक्ष बिच झडप भएको थियो । 

झडपका क्रममा २८ जना माओवादी कार्यकर्ताको हत्या भएको थियो । धेरै घाइते भएका थिए । उक्त हत्याकाण्ड नै नेपाली राजनीतिमा ‘गौर हत्याकाण्ड’को रूपमा स्थापित छ ।

गौर हत्याकाण्डको आजसम्म पनि स्वतन्त्र छानबिन भएको छैन । त्यसैले प्रधानमन्त्री प्रचण्डले उक्त हत्याकाण्डको पनि खोजीनिती गरिने भनेका हुन् । 

के हो दरबार हत्याकाण्ड ?

२०५८ जेठ १९ गते राजा वीरेन्द्रको वंश नाश हुने गरी भएको हत्याकाण्डलाई नेपाली राजनीतिमा ‘दरबार हत्याकाण्ड’ भन्ने गरिन्छ ।

उक्त हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, राजकुमार नीराजन, राजकुमारी श्रुति, राजा दीपेन्द्र (तत्कालीन युवराज), अधिराजकुमार धीरेन्द्र (राजा वीरेन्द्रका भाइ), राजकुमारी जयन्ती ‌ (राजा वीरेन्द्रकी बहिनी), राजकुमारी शान्ति (राजा वीरेन्द्रका बहिनी), राजकुमारी शारदा (राजा वीरेन्द्रका बहिनी) र कुमार खड्ग (राजकुमारी शारदाका श्रीमान्) मारिएका थिए ।

दरबार हत्याकाण्डपछि उच्चस्तरीय छानबिन आयोग बने पनि हत्याको कारण अझैसम्म रहस्यकै रूपमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्