काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसद विकास कोष बजेटमा समावेश गर्नुपर्ने बाध्यता परेको बताएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसद विकास कोषमा बजेट छुट्याउने आफ्नो चाहना नभएको स्पष्टीकरण दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै एक सांसदले भने- ‘सांसद विकास कोष हाम्रो योजना होइन, तर बाध्यता भयो ।’
माओवादी सांसदहरुले बजेट सकारात्मक भएको तर सांसदले छनोट गरेको योजनामा खर्च गर्ने गरी ५ करोड विनियोजन गर्नु नकारात्मक सन्देश गएको बताएका थिए ।
यस्तै, माओवादी केन्द्र संसदीय दलको बैठकले समग्रमा सरकारको नीति तथा कार्यक्रम र बजेट सन्तुलित रहेको निष्कर्ष निकालेको छ ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणबारे समेत पार्टीका सांसदहरुलाई जानकारी गराएका थिए । भारत भ्रमणमा सकेजति राम्रो गर्ने, नसके केही नगर्ने, नकारात्मक हुने गरी केही नगर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता छ ।
यस्तै, प्रधानमन्त्री प्रचण्डले भारतको नयाँ संसद भवनमा राखिएको नयाँ नक्साको आधिकारिकता बुझ्ने बताए । भारतीय संसद भवनको नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु र विराटनगरको नाम समेत उल्लेख भएको विषयमा मंगलबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा सांसदहरु पूर्णबहादुर घर्ती, लेखनाथ दाहाल, माधव सापकोटा लगायतले नेपाली भूमि भारतको नक्सामा समावेश भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । प्रचण्डको जवाफ उद्धृत गर्दै एक सांसदले भने, ‘मैले पनि न्युज सुनेको हुँ, थप बुझौंला। आधिकारिकता के हो बुझ्छु ।’
सांसद लेखनाथ दाहालका अनुसार संसदीय दलको बैठकमा भारतको संसद भवनमा राखिएको नक्साको विषय उठेको तर आधिकारिकता पुष्टि नभएको बताए । प्रधानमन्त्री प्रचण्ड चारदिने भ्रमणका लागि बुधबार भारत जाँदैछन् ।











