
काठमाडौं । काठमाडौं जितपुरफेदीका राजेश अर्याल बानेश्वरस्थित बिन्धबासिनी इन्टरनेशनल इन्टिच्यूटमा काम गर्दथे । उनको तलब मासिक २० हजार रुपैयाँ थियो । विदेश पठाउनेहरुलाई तालिम दिने सो कम्पनीका सञ्चालक दाङका रामकुमार रेग्मी हुन् ।
रेग्मीले अर्याललाई एक दिन आग्रह गरे, ‘तिम्रो खातामा केही पैसा आउँछ, निकालेर देउ ।’ मासिक २० हजार तलब खाने अर्याललाई आफ्नो खातामा लाखौं पैसा आउन थालेपछि डर लाग्यो र उनले आफुलाई सो काममा नलगाउन आग्रह गरे । तर, अर्यालले नराम्रो काम नभएको भन्दै ढुक्क बनाए । अझ उनलाई अमेरिका पठाइदिने भन्दै फर्म भर्न लगाए ।
नेपाली कांग्रेसको राजनीतिमा समेत रहेका रेग्मीले पछि कम्पनी बन्द गरे । राजेशले आफ्नै तलब पाएनन् । तलब त पाएनन् नै अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा उनी ३० मध्ये एक अभियुक्त समेत बनेका छन् ।
भुटानी शरणार्थी बनेर अमेरिका जान खोज्नेसँग रेग्मीले करोडौं उठाएका थिए । बिचौलिया सन्देश शर्मासँग मिलेर पैसा उठाएका थिए । त्यसका लागि अर्यालको खाता प्रयोग भएको थियो । सोही आधारमा उनी समेत प्रतिवादी बनेका छन् । तर, अचम्मको कुरा उनलाई फसाउने रेग्मी भने पीडितको सूचीमा छन् ।
रेग्मीले पीडितहरुको तर्फबाट जोहरी दिएको प्रहरी प्रतिवेदनमा उल्लेख छ । सो प्रकरणमा रेग्मी पीडित हुन् केही जानकारी नै नभएका अर्याल भने यतिबेला फरार बन्नुपरेको छ । यसले प्रहरी अनुसन्धानमाथि समेत प्रश्न उठेको छ ।
प्रहरीले भने आर्थिक लेनदेनमा उनको खाता प्रयोग भएकाले प्रतिवादी बनाउनुपरेको जनाएको छ । त्यो हो भने रेग्मीलाई किन प्रतिवादी बनाइएन भन्ने पनि सवाल छ ।
अर्याल जस्तै अन्य केही व्यक्तिहरु पनि यो प्रकरणमा अन्जानमा फसेका छन् । नक्कली भूटानी शरणार्थी प्रकरणमा ठगीका मुख्य योजनाकार केशवप्रसाद दुलाल, सानु भण्डारी, इन्द्रजीत राई, निरज राई, प्रतीक थापा हुन् ।
प्रहरीले भूटानी शरणार्थी प्रकरणमा उनीहरुकै बयानका आधारमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमालेका सचिव टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई जस्ता हाई प्रोफाइलहरुलाई पक्राउ गरी मुद्दा दायर गरिसकेको छ । नेपाली कांग्रेसका नेता खाँणदेखि एमालेका उपाध्यक्ष र अध्यक्षकै पीए समेतको नाम ठगी गर्ने दुलाल र भण्डारीहरुले लिएका छन् ।
नेपालीलाई नक्कली शरणार्थी बनाउने र अमेरिका पठाउने धन्दामा भूटानी नेता टेकनाथ रिजाल नै संलग्न रहेको देखिएको छ । रिजालले ठगी गर्नेमध्येका सागर राईसँग ७ लाख रुपैयाँ लिएको देखिएकै आधारमा पक्राउ परेको प्रचार भइरहेको छ । तर दुलालसहितको ठगी गिरोहसँग मिलेर रिजालले भूटानी शरणार्थी बनाएर अमेरिका पठाउन धेरै जनासँग रकम लिएको खुलेको छ ।
करिब ९ सय जनासँग ७ अर्ब रुपैयाँ हाराहारी ठगी भएको भूटानी शरणार्थी प्रकरणमा २८ करोडको मात्र ठगी भएको उजुरी प्रहरीमा परेको छ । उजुरी गर्ने पीडितहरुलाई नै प्रहरीले थुनेका कारण ठगिएकाहरु प्रहरीमा आउन डराएको छ ।
नेपाली कांग्रेसका सांसद मन्जु खाँण, एमाले अध्यक्ष केपी शर्मा ओलीका पीए राजेश बज्राचार्यसमेत थुनिने भएपछि तीन दलीय गठबन्धनको सहमतिमा पीडितलाई सजाय र पीडकलाई उन्मुक्ति हुनेगरी अभियोग दर्ता गरिएको आशंका गर्ने ठाउँ दिएको छ ।
सामान्यतया, कसैउपर प्रमाणसहित जाहेरी परेपछि जाहेरवालासँग भएको प्रमाण सनाखत गराई हिरासतमा राख्नुपर्ने हो । तर आफैं २ करोड ४० लाख रुपैयाँ ठगीमा परेको उजुरी दर्ता गर्न जाने पीडित विक्रम भन्ने गोविन्दकुमार चौधरीलाई प्रहरीले प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ । उनका बिरुद्ध कुनै जाहेरी नै नपरेको र उनी आफैं ठगिएको उजुरी लिएर प्रहरीमा गएका थिए । तर उल्टै उनैलाई प्रतिवादी बनाइएको गुनासो उनका परिवारजनको छ ।
त्यस्तै, पेन्टिङको काम गर्ने रामशरण केसी पनि पीडित देखिन्छ र घरमा रङ लाउने क्रममा भूटानी नेता टेकनाथ रिजालसँग केसीको भेट भएको थियो । रिजालले अमेरिका पठाउने प्रलोभन दिए ।
अमेरिका जान पाउने भएपछि आफू र आफ्ना इष्टमित्रसहित ३४ जनाबाट केसीले ३ करोड ४० लाख रुपैयाँ संकलन गरी रिजालको गिरोहको नेतृत्व गर्ने केशवप्रसाद दुलाल, सानु भण्डारी, इन्द्रजीत राई र प्रतीक थापासमेतलाई दिएका थिए ।
त्यतिले नपुगी आफ्नो आमाको नाममा रहेको काठमाडौंको घर इन्द्रजीत राईका छोरा निरज राईको नाममा पास गर्नेगरी बैनाको कागज समेत गरी पैसा दिएका थिए । पैसा दिएको २ बर्षसम्म पनि अमेरिका पठाउन नसकेपछि रामशरण केसीले आफू ठगिएको थाहा पाए ।
ठगीमा संलग्न टेकनाथ रिजाल, केशव दुलालको समूह बिरुद्ध उजुरी लिई उनी कहिले उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं, कहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका अड्डा धाउन थाले ।
ठगहरुलाई कारबाही गर्न र अमेरिका पठाउन दिएको रकम उठाइदिनका लागि धाउँदा धाउँदा थकित भएका थिए केसी । यो अपराधका प्रमुख पात्र गृहमन्त्री, गृहसचिव, पूर्वमन्त्रीहरु र उनीहरुका बिचौलिया बेचन झाको ठगी सप्रमाण पुष्टि हुनेगरी काठमाडौं प्रहरी परिसर टेकु जाँदा केसीको जाहेरी दर्ता नगरी उल्टै थुन्ने काम प्रहरीले गरेको छ ।
पीडितलाई प्रतिवादी बनाउँदै जाँदा ७ अर्बको ठगी मुद्दा खुम्चिएर २८ करोडमा आएको छ । अदालतमा पीडितहरुले आफ्नो पोल खोलिदिने डरमा हाइप्रोफाइहरु छन् । त्यही भएकाले पीडित केसी र चौधरीलाई नै मुद्दा चलाइएको छ । यसको दुस्प्रभावले वास्तविक पीडितहरु प्रहरीसम्म आउन सकेका छैनन् ।
अदालतमा रामशरण केसी र गोविन्दकुमार चौधरीजस्ता प्रमुख प्रमाण बोक्ने पीडितहरु थप नआऊन् भनेरै केसी र चौधरीलाई थुनेर यो मुद्दा नै राफसाफ हुनेगरी अभियोगपत्र तयार गरिएको छ ।
यो अभियोगपत्र स्पष्टरुपमा ठूला नेतालाई जोगाउने र पीडित फसाउने र थर्काउने खेल भएको आशंका गरिएको छ ।
यसरी आफैं पीडित भएकाहरु थुनामा रहँदा करोडौं बुझ्ने् पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापा भने फरार छन् । उनले टंगालस्थित निलगिरी थकालीसँग रहेको होटलमा करोडौं बुझेका थिए । सुरुमा प्रहरीले उनीमाथि अनुसन्धान गर्न सकेन । पछि उनी भागेपछि मात्र पक्राउ पूर्जी जारी भएको थियो ।
उनीसहित इन्द्रजित राईका छोरा निरज राई पनि फरार भएका छन् । उनी चैतमै फरार भएका हुन् । इन्द्रजित र निरजले सोही पैसाबाट ललितपुरमा घर नै जोडेका थिए । सो घर रोक्का राख्न प्रहरीले अदालतमा माग गरेको छ । राईले करिब पाँच करोड रुपैयाँ हात पारेका थिए ।
दोस्रो चरणको अनुसन्धान कहाँसम्म पुग्ला ?
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तहरुको अदालतमा बयान चलिरहँदा प्रहरीले भने दोस्रो चरणको अनुसन्धान सुरु गरेको छ । दोस्रो चरणको अनुसन्धानमा प्रहरीले कत्तिको आँट गर्न सक्छ भन्ने सर्वत्र चासो छ ।
यो प्रकरणमा मुछिएका थप उच्चपदस्थविरुद्ध मुद्दा चलाउन पर्याप्त प्रमाण भेटिएका छैनन् । जसमा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’देखि कांग्रेस नेतृ मञ्जु खाणसम्म छन् । त्यस्तै, पूर्वगृहसचिवहरु तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकिय सचिव राजेश बज्राचार्य, पूर्व प्रदेश मन्त्री अजयक्रान्ति शाक्य पनि छन् ।
प्रहरीले दबाबबिना अनुसन्धान गरेमा उनीहरुसम्म पुक्न सकिने आधार देखिसकेको छ । तर, सरकार र प्रहरी नेतृत्वको आँट त्यसमा भर पर्ने अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरु बताउँछन् ।
अनुसन्धानको अन्तिमतिर प्रहरीले यो प्रकरणमा मुछिएका बिचौलिया बेचन झाको संलग्नता पत्ता लगाएको थियो । उनको कांग्रेसका उच्च नेताहरुसँग उठबस देखिएको छ ।
तत्कालीन गृहमन्त्री बालकृष्ण खाण र सचिव टेकनारायण पाण्डेलाई सो कामका लागि हौसाउने व्यक्त नै उनी भएको खुलिसकेको छ । उनले मन्त्रिपरिषद्बाटै यससम्बन्धि निर्णय गराउने भनेर समेत पैसा लिएका थिए । उनलाई पक्राउ गर्न सके धेरै कुरा खुल्ने प्रहरी अधिकारी बताउँछन् ।
यो प्रकरणमा अरु धेरै व्यक्तिहरु जोडिएका छन् । त्यसको संकेत प्रहरीले पाइसकेको छ । थप पीडितको जाहेरी लिई अनुसन्धान गर्न सकेमा देशका बिचौलियादेखि भ्रष्ट शासकहरु प्रहरी खोरमा जाने निश्चित छ ।














