Logo
Logo

हवाई भाडादरमा १३ प्रतिशत अभिवृद्धि करप्रति संघको असन्तुष्टि


2k
Shares

काठमाडौं । सरकारले आन्तरिक उडानको भाडादर तथा जहाज, इन्जिन र पार्टपुर्जा आयातमा लागू गरेको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट)प्रति वायुसेवा संचालक संघ (आओन)ले असन्तुष्टि जनाएको छ ।

आओनले पूर्व तयारीविनै लागू गरिएकाले यसबाट व्यवसायलाई निरुत्साहित गर्ने जनाएको छ । सरकारले हवाईयात्रु र पर्यटक निरुत्साहित गर्ने किसिमको नियम लागू गरेको भन्दै संघले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छलफल गर्ने जनाएको छ ।

संघका अध्यक्ष रामेश्वर थापाले भने, ‘सरकारले भ्याट लागू गर्नु स्वाभाविक हो । तर, अहिलेको परिस्थितिमा पर्यटन र उड्डयन क्षेत्र सामान्य अवस्थामा आइसकेका छैनन् । यस्तो अवस्थामा पूर्व तयारीविनै भ्याट लगाउँदा यात्रुमा पर्ने मारले पर्यटक नै निरुत्साहित हुन्छन् । पूर्व तयारीविना घोषणा गरिएको यो निर्णयले पर्यटन उद्योगमै नकारात्मक प्रहार गर्छ ।’

उनले सरकारले पर्यटन र उड्डयन क्षेत्र प्रवर्द्धन लक्षित बजेट ल्याउन सरकार बेमतलबी गरेको बताए । भ्याटमा दर्तै नभएका हवाई उद्योगलाई तत्काल भ्याट प्रणालीमा जान निर्देशन दिएपनि प्रक्रियागत रुपमा अगाडि बढ्दा न्यूनतम ६ महिना समयावधि लाग्ने उनको भनाइ छ ।

‘महिनौंदेखि हवाई टिकट व्यवस्थापन गरिएको हुन्छ’ उनले भने, ‘अब भ्याटमा दर्ता नभएको हवाई उद्योगलाई तत्काल भ्याट लागू गर्न निर्देशन दिनु भनेको त उद्योगलाई नै प्रभावित पार्ने लक्ष्य राखिएको जस्तो देखियो ।’

सरकारले चालू आर्थिक वर्षमा इन्जिन, प्रोपेलरलगायत विभिन्न पार्टपुर्जामा १ प्रतिशत भन्सार शुल्क लिँदै आएको थियो भने हवाई भाडादर पनि भ्याटरहित निर्धारण गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्