Logo
Logo

प्रचण्डको चौंथो भारत भ्रमण, के-के भए उपलब्धी ?



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चारदिने भ्रमणका क्रममा यतिबेला भारतको नयाँदिल्लीमा छन् । प्रचण्डको यो प्रधानमन्त्रीका रूपमा चौथो भारत भ्रमण हो ।

यसअघि प्रचण्डले विसं २०६५ मा पहिलोपटक र दोस्रोपटक २०७३ सालमा प्रधानमन्त्री भएपछि भारतको भ्रमण गरेका थिए । त्यसपछि प्रधानमन्त्रीका रूपमा प्रचण्ड ब्रिक्स सम्मेलनमा सहभागी हुन भारतको भ्रमण गरेका थिए ।

गत पुस १० गते तेस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्डको यो पटक भने पहिलो विदेश भ्रमण हो । उनी भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा बुधबार नयाँदिल्ली गएका हुन् । यो पटकको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल, छोरी गंगा दाहाललगायत छन् ।

भारतमा रहेका प्रधानमन्त्री प्रचण्ड बिहीबारदेखि उच्चस्तरीय औपचाचारिक भेटवार्ता गरिरहेका छन् । बिहीबार दिउँसो हैदरवाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको थियो ।

मुख्य सात सम्झौता
प्रचण्डको भारत भ्रमणको क्रममा यो पटक नेपाल र भारतबीच सात वटा मुख्य सम्झौता भएका छन् । प्रधानमन्त्री प्रचण्डको चारदिने भारत भ्रमणको क्रममा बिहीबार द्वीपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो । प्रतिनिधिमण्डलस्तरीय वार्तापछि पत्रकार सम्मेलनमार्फत् नेपालका प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीले सहमतिबारे जानकारी दिएका हुन् ।

पहिलो– नेपाल र भारतबीच पारवहन सम्झौता नवीकरण गरिएको छ । दोस्रो- सिमापार पेट्रोलियम पाइपलाइनलाई अमलेखगञ्जबाट चितवनसम्म ल्याउने र सिलिगुडीबाट झापासम्म पुर्याउने सहमति भएको छ । यस्तै, तेस्रो– परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुष्मा स्वराज इन्स्टिच्युटबीच सहकार्य गर्ने सम्झौता भएको छ । चौथो- कञ्चनपुरको दोधारा चाँदनीमा एकीकृत जाँच चौकी निर्माण गर्ने सम्झौता भएको छ । हाल दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण भइरहेको छ ।

त्यस्तै, पाँचौ- तल्लो अरुण जलविधुत् आयोजनाको परियोजना विकास सम्झौता (पिडीए) भएको छ । अब अरुण तेस्रो जलविधुत आयोजना निर्माण गरिरहेको भारतीय कम्पनी सतजल विधुत् आयोजनाले नै तल्लो अरुण जलविधुत् आयोजना निर्माण गर्ने भएको छ । ६६९ मेगावाट क्षमताको तल्लो अरुणबाट नेपालले १४०.४९ बिजुली पाउने गरी भारतीय कम्पनीसँग परियोजना विकास सम्झौता (पीडीए) भएको हो ।

यस्तै, छैटौं सम्झौता हो, फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने सहमति । अब नेपाल सरकार स्वामित्वको विधुत् उत्पादन कम्पनीले आवश्यक अध्ययन गरिरहेको फुकोट कर्णाली भारतीय कम्पन्नी एनएचपीसीको समेत लगानीमा निर्माण हुने भएको हो ।

त्यस्तै, सातौँमा सीमा क्षेत्रमा डिजिटल पेमेन्ट सम्झौता भएको छ । नेपाल र भारतीबीच क्रसबोर्डर पेमेन्ट (डिजिटल भुक्तानी) सम्झौतासँगै अब भारती ‘रुप-पे’ले नेपालमा आधिकिारिकता पाउने भएको हो । जसमा नेपालबाट अध्ययनका लागि जाने विद्यार्थी, पर्यटक र उपचारका लागि जाने विरामीलाई समेत सहने हुने आशा गरिएको छ ।

प्रचण्डको पहिलो भारत भ्रमण
प्रचण्ड २०६५ सालमा गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनेका थिए । त्यसबेला प्रधानमन्त्री भएलगत्तै पहिलो विदेश भ्रमणको रुपमा चीन गएका थिए । बेइजिङमा आयोजित ओलम्पिक्सको समापन कार्यक्रममा प्रचण्डले स्वदेश फर्किने क्रममा पहिलो राजनीतिक भ्रमण भारतबाटै सुरु गर्ने विवादास्पद अभिव्यक्ति दिएका थिए । लगत्तै त्यसको अर्को महिना प्रचण्ड भारत भ्रमणमा गएका थिए ।

त्यतिबेला सन् १९५० को सन्धि पुनरावलोकनको विषयले चर्चा पाएको थियो । तर, प्रचण्डको कार्यकालमा भने भारतसँगको सम्बन्ध राम्रो बन्न सकेन । प्रचण्ड नेतृत्वको सरकारले पशुपतिको मूल भट्ट भारतीय हुने परम्परा तोडेर नेपाली भट्ट नियुक्त गरेपछि सम्बन्धमा तिक्तता सुरु भएको बुझिन्छ ।

त्यसपछि तत्कालीन प्रधानसेनापति रूक्मागदद कटुवाललाई बर्खास्त गरेपछि प्रचण्ड सरकारबाट बाहिरिनुपरेको थियो । भारतले राष्ट्रपतिलाई प्रयोग गरेर कटवालको थमौती गरेको भन्दै प्रचण्डले आलोचना गर्ने गरेका थिए । तर, उनैले बर्खास्त गर्नुअघि भारतसँग कुरा गर्न चाहेको थिएँ भन्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।


दोस्रो पटक भारत भ्रमण
प्रचण्ड २०७३ साउन १९ गते दोस्रो कार्यकालका लागि नेपालको ३९औं प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । दोस्रोपटक सरकारको नेतृत्वमा पुगेका प्रचण्डले ४ दिने राजकीय भ्रमणका लागि भारत गएका थिए ।

त्यसबेला नाकाबन्दीपछि भारत नेपालको सम्बन्ध खासै राम्रो थिएन । त्यसबेला नेपालका प्रधानमन्त्रीको भारत भ्रमणलाई निकै चासोका साथ हेरिएको थियो । त्यसपछि भारतको राजकीय भ्रमण गरेको अर्को महिना भारतले नै आयोजना गरेको ब्रिक्स सम्मेलनमा अतिथि बनेर प्रचण्ड भारतको गोवा पुगेका थिए ।
०००
त्यसै वर्ष अर्थात २०७३ असोज २९ गते उनी भारतको गोवा गएका थिए । ‘ब्रिक्स बिमस्टेक विस्तारित सम्मेलन’मा सहभागी हुन प्रचण्ड त्यसबेला गोवा गएका थिए । प्रचण्डलाई प्रधानमन्त्री मोदीले बिम्स्टेक सदस्य राष्ट्रहरुको अध्यक्षको हैसियतमा निम्ता दिएका थिए । प्रधानमन्त्रीका हैसियतमा यो उनको तेस्रो भारत भ्रमण थियो । प्रचण्डको गोवा भ्रमण उपलब्धिमूलक मानिएको थियो ।

प्रचण्ड, सी चिनफिङ र मोदीबीच वार्ता
प्रचण्डले गोवामा एकैसाथ भारतीय समकक्षी नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पनि भेट गरेका थिए । ब्रिक्स बिमिस्टेक देशहरुबीचको संयुक्त सम्मेलनको अघिल्लो दिन तीन देशका राष्ट्रीय र सरकार प्रमुखबीच भेट भएको थियो ।
प्रधानमन्त्री प्रचण्ड र चीनियाँ राष्ट्रपति सिबीच २० मिनेट ‘वान टु वान’ भएको वार्तापछि प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता भएको थियो । सो क्रममा प्रधानमन्त्री प्रचण्डले आफूले अघिल्लो कार्यकालमै नेपाल, भारत र चीनबीच त्रीदेशीय रणनीतिक साझेदारीको आवश्यकतामा जोड दिएकाबारे बैठकमा स्मरण गराएका थिए ।

ब्रिक्स शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री प्रचण्ड, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचकोच त्रिपक्षीय भेटवार्ता ।

‘हामी दुई देशबीच डाइनामिक ब्रिज बनेर लाभ उठाउन चाहन्छौं’ । प्रचण्डको भनाई अनुसार उनले त्यसबेला रणनीतिक साझेदारीबारे विषय महत्व दिएको बताएका थिए । भारतका प्रधानमन्त्री र चीनियाँ राष्ट्रपतिले रणनीतिक साझेदारीबारे नेपालले राखेको प्रस्ताव महत्वपूर्ण रहेको र आफूहरु त्यसमा सहमत भएको बताएका थिए ।

भेटमा मोदीले नेपाल, भारत र चीनबीच भौगोलिक, भावनात्मक र सांस्कृतिक मित्रता रहेको बताएका थिए । सो अवसरमा मोदीले नेपालले प्रस्ताव गरेको त्रीदेशीय साझेदारीको प्रस्तावमा भारत पनि सकारात्मक रहेको जानकारी दिएका थिए ।
नेपालका प्रधानमन्त्री र चीनका राष्ट्रपतिको भेटपछि भएको त्रीपक्षीय बार्ताले नेपाल, भारत र चीनबीच युगिन सम्बन्ध स्थापित गर्न विशेष भूमिका खेल्नसक्ने प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्