काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधि र नियममा नचलेको बताएका छन् । शनिवार नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नियम र विधिबाट पार्टी सञ्चालन हुनुपर्ने भन्दै विधिसम्मत रुपमा पार्टी नचल्दा नै असन्तोष व्यक्त भइरहेको बताए ।

‘मेरो एउटै जोड छ, विधि र नियमबाट पार्टी चलाऔँ । विधि र नियमबाट पार्टी चलेको भए त यति असन्तोष कहीँ पनि सुन्न पर्दैन थियो’ उनले भने– ‘अब बचेको समयमा पार्टीलाई विधि, नियमसम्मत अघि बढायौँ भने अरु पार्टीको चुनौति सामना गर्नु पर्नेछैन ।’
अबको समयमा पार्टीलाई विधिसम्मत रुपमा अघि बढाउने हो भने कांग्रेसले कुनै पनि पार्टीको चुनौतीलाई सहनु नपर्ने उनको भनाई छ । सिंहले कांग्रेस पार्टीको जस्तो राम्रो विचारधारा अन्य कुनै पार्टीमा नरहेको जिकिर गरे ।
‘केन्द्रीय कार्यसमिति, पार्टी सभापतिज्यूले सम्पन्न गर्नुपर्ने, पदाधिकारीले गर्नुपर्ने सबै काम गरेर बाँकी समयलाई नेपाली कांग्रेस आउने दिनको चुनौति सशक्त रुपमा निभाउँछ भन्नेमा हामी लाग्नुपर्छ’ उनले भने, ‘कांग्रेस लामो इतिहास भएको पार्टी हो । कांग्रेसको जस्तो विचारधारा भएका अरु कुन पार्टी छन् र रु तर चल्दा तलमाथि भइरहन्छ । हामीले अब धेरै ढिला गर्नु हुँदैन, समय रहँदै एक्ट गरौँ, सबैले गर्ने काम आफूले गरौँ ।’











