Logo
Logo

दोहमनामा निर्माण भएको पशुपंक्षी बजार उद्घाटन तथा हस्तान्तरण



विराटनगर । रंगेली नगरपालिका–९ स्थित दोहमना बजारमा निर्माण भएको सुविधा सम्पन्न पशुपंक्षी बजारको उद्घाटन गरि नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तगर्तको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना (NISIP)द्वारा निर्मित पशुपंक्षी बजारको शनिबार भव्य समारोहका बिच उद्घाटन गरि रंगेली नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

सो पशुपंक्षी बजारको कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. बेदुराम भुषालले उद्घाटन गरे । सो अबसरमा बोल्दै मन्त्री भुषालले देशभरका १६१ वटा गाउँ तथा नगरपालिकामा पशु स्वास्थ्य प्रयोगशाला राख्ने सरकारले योजना बनाएको जानकारी दिए । उनले सो बजारलाई पशु स्वास्थ्य केन्द्र आवश्यक देखिएकाले मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।

उनले सो बजारमा बिक्रिवितरण गर्नका लागि ल्याइने पशुपंक्षी स्वस्थ भए नभएको भन्ने विषयमा ध्यान दिनुपर्ने बताउँदै त्यसका लागि आवश्यक संरचना निर्माण गर्न मन्त्रालयका तर्फबाट सक्दो सहयोग गर्ने समेत बताए । उनले रंगेलीमा कृषि बजार समेत निर्माण भइरहेको र त्यसका लागि थप बजेट समेत विनियोजन गरिएकाले स्थानीयवासी भाग्यमानी रहेको बताए ।

सो अबसरमा रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले दोहमनाको पशुपंक्षी बजार नगरपालिकाको प्रस्तावमा निर्माण भएको जानकारी दिए । उनले रंगेली बजारस्थित कृषि बजार निर्माणका लागि पनि मन्त्रालयले सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले आगामी आर्थिक वर्षमा कृषि बजारका लागि बजेट विनियोजन भइसकेकाले चाँडै निर्माण सम्पन्न गर्नका लागि मन्त्रालयबाट आवश्यक सहयोग गरिदिनसमेत आग्रह गरे ।

कार्यक्रममा नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना (NISIP) का निर्देशक डा. उमेश दाहालले स्वस्थ पशुपंक्षी विक्रिवितरणका लागि सो बजार निकै महत्वपूर्ण र उपयोगी रहेको बताए । उनले सो बजारमा पशुपंक्षी विक्रिवितरणका लागि सुविधा सम्पन्न संरचना निर्माण गरिएको जानकारी दिए ।

कार्यक्रममा रंगेली नगरपालिकाकी उपमेयर भूमा पराजुलीले सो बजारका लागि आवश्य अन्य संरचना निर्माणमा पनि मन्त्रालयलाई सहयोग गर्न आग्रह गरिन् । उक्त पशुपंक्षी बजार रंगेली नगरपालिकाको पहलमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना मार्फत ३ करोड ७ लाख रुपैयाँको लागतमा निर्माण भएको प्रमुख प्रशासकिय अधिकृत ओमकार प्रसाद न्यौपानेले जानकारी दिए ।

सो बजार २०७९ साल साउनमा निर्माण सम्पन्न भएपनि शनिबार मात्र उद्घाटन भएको हो । सो पशुपंक्षी बजारको उद्घाटन पछि रंगेली नगरपालिकालाई हस्तान्तरणसमेत गरिएको छ । कार्यक्रममा नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना ९ल्क्ष्क्क्ष्ए० का निर्देशक दाहालले रंगेली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत न्यौपानेलाई बजारको सम्पूर्ण निर्मित संरचना हस्तान्तरण गरे । यो सँगै उक्त बजार रंगेली नगरपालिकाको स्वामित्वमा आएको छ ।

सुविधा सम्पन्न उक्त बजार निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि स्थानीय निकै हर्षित भएका छन् । दक्षिणपूर्वी मोरङको सवैभन्दा ठुलो पशु बजारका रुपमा चिनिदै आएको सो बजार सुविधा सम्पन्न भएपछि सो क्षेत्रका हजारौँ कृषक लाभान्वित हुनेछन् । नेपालकै सवैभन्दा पुरानो र ऐतिहाँसिक उक्त बजारको इतिहास दुई वर्ष पुरानो रहेको रंगेली–९ का वडाध्यक्ष चुडामणी रेग्मीले बताए ।

उनका अनुसार सो बजारबाट पशुपंक्षीको व्यवसाय प्रवद्र्धन, प्रोत्साहन र बजारीकरण ठुालो सहयोग पुगेको भन्दै स्थानीय कृषकहरु हर्षित भएका हुन् । सो बजारमा पशुपंक्षीको विक्रिवितरण, पशुपंक्षीमा आत्मनिर्भर र स्थानीय जनताको जिविकोपार्जनमा समेत ठुलो टेवा पुग्ने रंगेली नगरपालिकाका मेयर बगडीयाले बताए ।

प्रतिक्रिया दिनुहोस्