
काठमाडौं । सेयर बजारका आन्दोलित लगानीकर्ता अहिले वार्ताका लागि अर्थ मन्त्रालय पुगेका छन् । ब्रोकर कार्यालयमा ताला लगाएर आफ्नो विरोध जनाएका लगानीकर्ताहरु आइतबार बिहान अर्थमन्त्री डा प्रकाशशरण महतसँग वार्ताका लागि मन्त्रालय पुगेका हुन् ।
उनीहरुले अधिकांश ब्रोकर अफिसमा तालाबन्दी गरिसकेका छन् । बाँकी रहेका कार्यालयमा पनि ताला लगाउने कार्य जारी रहेको लगानीकर्ता नयन बास्तोलाले जानकारी दिए ।
यसअघि आज बिहानै लगानीकर्ताहरु अर्थमन्त्रीको घर घेराउ गर्न हात्तिगैडा पुगेका थिए । तर, त्यहाँ अर्थमन्त्रीलाई भेट्न नसकेपछि उनीहरु फिर्ता भएका थिए ।
विद्यमान पुँजीगत लाभकर (५% र ७.५%) नै अन्तिम कायम गर्नुपर्ने भन्दै लगानीकर्ताहरु सडकम उत्रिएका हुन् । सरकारले बजेटमार्फत र त्यसपछि आन्तरिक राजस्व विभागले पनि पुँजीगत लाभकर अन्तिम कर हो वा होइन भन्नेमा दुविधा उत्पन्न हुने गरी सूचनाहरु जारी गरेपछि लगानीकर्ता रुष्ट भएका छन् ।
उनीहरुको आन्दोलन चर्किंदै जाँदा आज नियमित दिनहरुमा जस्तो सजिलैसँग सेयर कारोबार हुन कठिन हुने देखिएको छ ।
आन्दोलनमा उत्रिएका एक लगानीकर्ताका अनुसार काठमाडौं बाहिर जिल्लाहरुका ब्रोकर कार्यालयमा पनि तालाबन्दी गर्ने तयारी गरेका छन् ।
लगानीकर्ता रोहन कार्कीले पनि सबै लगानीकर्तालाई आफ्नो नजिकको ब्रोकर कार्यालयमा गएर लाताबन्दी कार्यक्रम सफल पार्न अनुरोध गरेका छन् । उनले कुनै ब्रोकरलाई नखोल्न अनुरोध समेत गरेका हुन् । यदि ताला खोलिएमा त्यसपछि आउने परिस्थितिको जिम्मेवार स्वयम हुने उनले बताए ।
पुँजीगत लाभकरलाई नै अन्तिम कर नमानेसम्म आफूहरुको आन्दोलन नरोकिने पनि लगानीकर्ताले बताएका छन् ।












