काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नयाँ नागरिकता ऐन आइतबारदेखि लागू भएको छ । गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेसँगै नयाँ ऐन अनुसार नागरिकताको प्रमाण पत्र वितरण गर्न थालिएको हो ।

शुक्रबार गृहमन्त्रालय नयाँ नागरिकता ऐन लागू गर्न ७७ वटै जिल्ला प्रशासन कार्यलयहरुलाई परिपत्र जारी गरेको थियो । सोही अनु्सार आइतबार जिल्ला प्रशासन कार्यलयहरुले सार्वजनिक सूचना जारी गर्दै नागरिकता वितरण सुरु गरेका हुन् ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेलगायतका केही दलले भने राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नयाँ नागरिकता ऐन सच्याउन माग गर्दै आएका छन् । आइतबार प्रतिपक्षी दलले नागरिकता ऐन सच्याउन माग गर्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका थिए । तर, विवादका बीच पनि जिल्ला प्रशासन कार्यलयहरुले सार्वजनिक सूचना जारी गर्दै नयाँ ऐन अनुसार नागरिकता वितरण सुरु गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय पर्साले नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ को दफा ३ र ८ बमोजिम नेपालको नागरिकता प्राप्त गर्न चाहिने कागजातहरु संलग्न राखी जेठ २२ गते देखि कार्यालय समयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
जसमा वडा अध्यक्षको सिफारिस सहितको अनुसूची–१ फाराम, बाबु र आमाको सक्कल नेपाली नागरिकता र फोटोकपि, सक्कल जन्मदर्ता, शैक्षिक योग्यता प्रमाणपत्र ÷ नाबालक परिचयपत्र, बाबु–आमा र सन्तानबीचको नाता प्रमाणित, बसाई सराई गरी आएकाको हकमा बसाईसराई दर्ता प्रमाण पत्रलगायतका कागजात मागेको छ ।











