Logo
Logo

भिआइपी आरोपित जाेगाउन ‘हाई प्रोफाइल’ वकिल


3.8k
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तविरुद्धको मुद्दामा थुनछेक बहस सुरू भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आइतबार थुनछेक बहस सुरू भएको हो ।

थुनछेक बहस १० दिन हुनेछ । त्यसपछि मुद्दाका आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने वा सामान्य तारेखमा छाड्ने भन्ने आदेश हुनेछ । शरणार्थी प्रकरणमा मुछिएका आरोपितलाई पाँचवटा कसुरमा मुद्दा चलाइएको छ ।

यस प्रकरणमा आरोपीहरु १८ जना छन् । उनीहरूका पक्षमा बहस गर्ने कानुन व्यवसायीहरू पनि धेरै हुने भएकाले थुनछेक बहस सकिन १० दिन लाग्ने देखिएको छ ।

इजलासले १० दिनभित्रै बहस सकाएर थुनछेक आदेश जारी गर्नेे योजना बनाएको छ । न्यायाधीश न्यौपानेले वादी (सरकार पक्ष) र प्रतिवादी (अभियुक्त पक्ष) बीचको बहस सकाएर यही जेठ ३१ गते साँझसम्म थुनछेक आदेश दिन चाहेका छन् ।

शरणार्थी प्रकरणमा मुछिएका तीस जनालाई पाँच÷पाँचवटा कसुरमा मुद्दा चलाइएको छ । इजलासमा तोकिएको समयअनुसार वादी पक्षका वकिललाई बहस गर्न तीन दिन समय तोकिएको छ । जसअनुसार आइतबार, सोमबार र मंगलबार सरकारी (वादी) पक्षका वकिलले बहस गर्ने छन् ।

त्यसपछि ६ दिन प्रतिवादी पक्षका वकिलले बहस गर्ने छन् । जेठ ३१ गते सरकारी वकिलले जवाफी बहस गर्ने सहमति भएको छ । सोही दिन इजलासले थुनछेक आदेश दिनेगरी सहमति जुटाइएको छ । यसरी समय निर्धारण गरिए पनि बहस चल्दै गर्दा समय केही तलमाथि हुन सक्ने अवस्था रहने जानकार बताउँछन् ।

इजलासमा तोकिएको समयअनुसार वादी पक्षका वकिललाई बहस गर्न तीन दिन समय तोकिएको छ । समय निर्धारण गरिएसँगै आइतबार जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका तर्फबाट बहस सुरू गरिएको छ । जसमा महेशप्रसाद खत्रीले आफ्नो बहस सकाएका छन् । उनले बहसमा करिब तीन घण्टा समय लगाए । त्यसपछि जनकप्रसाद घिमिरेले बहस थालेका छन् ।

उनले सोमबार पनि उनले बहस गर्नेछन् । त्यसपछि वादीतर्फबाट सीताराम अर्याल, प्रकाश घिमिरे, दिनेश भट्टराई, सूरबहादुर परियार र निर्मला मरासिनीले बहस गर्ने जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले जनाएको छ ।

यसैगरी वादीतर्फबाट बहसका लागि स्वागत नेपालसहित तीनजना वकिलले वकालतनामाका लागि निवेदन दिएका छन् । जवाफी बहस जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले गर्नेछन् ।

प्रतिवादी (अभियुक्त) का तर्फबाट प्रतिरक्षा बहस गर्न ‘हाई प्रोफाइल’ कानुन व्यवसायीहरू इजलासमा उपस्थित हुनेछन् । विशेषगरी भिआइपी अभियुक्तहरूको प्रतिरक्षामा हाई प्रोफाइल वकिलहरूले बहस गर्ने भएका हुन् ।

प्रतिवादीका तर्फबाट बहस गर्न नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेसहितका कानुन व्यवसायीले वकालतनामा दिएका छन् । घिमिरेले पूर्वगृहमन्त्री बालकृष्ण खाणका पक्षमा प्रतिरक्षा बहस गर्ने भएका छन्।

खाणको पक्षमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, वरिष्ठ अधिवक्ताहरू महादेव यादव, हरिहर दाहाल, प्रेमबहादुर खड्का, शेरबहादुर केसीलगायतले पनि बहस गर्ने भएका छन् । प्रजातान्त्रिक कानुन व्यवसायी महासंघ (डिएलए) का अध्यक्ष योगेन्द्र अधिकारीसहितले पनि खाणकै प्रतिरक्षामा बहस गर्न निवेदन दिएका छन् ।

यस्तै एमालेका नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको प्रतिरक्षामा पूर्वमहान्यायाधिवक्ता रमेश बडाल र सुशिल पन्त लगायत कानुन व्यवसायीले बहस गर्ने भएका छन् । नेपाल सरकारका सचिव (हाल निलम्बित) टेकनारायण पाण्डेको प्रतिरक्षामा बहस गर्न पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले वकालतनामा भरेका छन् ।

नक्कली भुटानी शरणार्थी मामिलामा नेपाल प्रहरीले छानबिन गरी बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाण, नेपाल सरकारका निलम्बित सचिव पाण्डे, एमाले उपाध्यक्ष रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, संविधानसभा सदस्य आङटावा शेर्पा, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजालसमेत ३० जनाविरुद्ध विभिन्न पाँचवटा कसुरमा मुद्दा दायर गरेको छ ।

जसमध्ये १८ जना हिरासतमा छन् । पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा, इन्द्रजित राईका छोरा निरज राईसहित १२ जना फरार छन् । अभियोगपत्र उनीहरूविरुद्ध ठगी, संगठित अपराध, राज्यविरूद्ध कसुर, सरकारी लिखत कीर्ते र एकीकृत कसुरमा सजाय माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्