Logo
Logo

क्रान्ति नायक प्रचण्डको प्रतिक्रान्ति यात्रा



क्रान्तिले वर्जित गरेका मान्यताहरू क्रान्तिका नायकले जब अङ्गाल्न थाल्छन्, त्यति बेला ‘प्रतिक्रान्ति’ हुन्छ । जब, क्रान्तिका चरणमा स्थापित मूल्य र मान्यताविरुद्ध क्रान्ति नायकबाटै प्रहार हुन्छ तब, प्रतिक्रान्ति हुन्छ । आज माओवादी आन्दोलनले स्थापित गरेका मूल्य र मान्यताविरुद्ध माओवादी नेतृत्वबाटै प्रहार हुँदैछ । अर्थात्, माओवादी नेतृत्वले नै प्रतिक्रान्ति रोजेका छन् ।

जनयुद्ध फगत आवेग र उद्वेलन थिएन । जनयुद्धलाई नेतृत्व गर्ने ‘प्रचण्ड’ नाम वा एक व्यक्ति मात्र थिएनन् । जनयुद्ध विद्रोहको एउटा रूप थियो । नेतृत्वकर्ता प्रचण्ड विद्रोहका ‘मानक’ थिए । प्रचण्ड– अन्याय, अत्याचार, व्यभिचार, विभेद र असमानताविरुद्ध भएको संघर्षको नेतृत्व थिए ।

प्रचण्डको नेतृत्वमा जनयुद्ध भयो । जनयुद्धको बलमा वर्तमान व्यवस्था स्थापित भयो । व्यवस्था परिवर्तन हुँदा राज्यबाट वैधानिकता प्रदान गरिएका धार्मिक, जातीय तथा लैङ्गिक विभेदहरू संवैधानिक रूपमा अन्त्य भयो । यो परिस्थितिसम्म आइपुग्दा कम्युनिस्ट विचार, आदर्श र सिद्धान्तमा आधारित रहेर जनयुद्धले स्थापित गरेका ‘भाष्य’हरूले ठूलो भूमिका खेलेका थिए ।

जनयुद्धले जातीय विभेदविरुद्ध जेहाद छेड्दा प्रचण्ड ‘आदर्श पात्र’को रूपमा स्थापित भए । धार्मिक विभेदविरुद्ध संघर्ष गरेका कारण ‘धर्मनिरपेक्ष’ व्यवस्थाका पक्षधर मानिए । राज्यको नीति निर्माण तहमा सबैको समान सहभागीताका लागि ‘समावेशी समानुपातिक’ व्यवस्थाका लागि प्रचण्डकै नेतृत्वमा संघर्ष भएको थियो । त्यसैले, प्रचण्डलाई ‘समानताका मानक’ मानियो । जनयुद्धका क्रममा बेथिति र भ्रष्टाचारविरुद्ध ज्वार ओकलेकै कारण सुशासनका पक्षधर ठानिए । तर, आज खोइ त्यो प्रचण्ड ?

प्रचण्डको अर्थ– कसैसँग नदब्ने, नडराउने, साहसी र आँटिलो । पुष्पकमल दाहाल रूपान्तरण भएर ‘प्रचण्ड’ भएपछि प्रचण्डसँग कसैसँग नदब्ने र नडराउने आँट र साहस थियो । अथार्त, प्रचण्ड कम्युनिस्ट विचार, आदर्श र सिद्धान्तमा प्रतिबद्ध थिए । त्यसैले त प्रचण्डको नेतृत्वमा जनयुद्ध भयो र जनयुद्धको बलमा आमूल परिवर्तन । आज, प्रचण्डले ‘प्रताप’ गुमाएका छन् । अर्थात्, कम्युनिस्ट विचार, आदर्श र सिद्धान्तबाट च्युत ।

भौतिकवादमा स्थापित कम्युनिस्ट आदर्शले धर्मलाई ‘अफिम’ मान्छ । विज्ञानलाई सर्वोपरि ठान्दै आत्मसाथ गर्ने कम्युनिस्ट दृष्टिमा धर्म ‘रूढिवाद र पाखण्ड’ हो । धर्मबारे कम्युष्टि आदर्शमा स्थापित धारणा युगौँसम्म वैद्य हुनेछ । किनकि, बाँकी युग भौतिक विज्ञानको हुनेछ । तर, कम्युनिस्ट नेतृत्वले आदर्श भुल्दै गएका छन् । धर्मलाई अफिम भन्ने कम्युनिस्ट नेतृत्व नै धर्मभीरू भएका छन् ।

जननेता मदन भण्डारीले भनेका थिए– ‘हाम्रा देवता भनेका नबोल्ने ढुंगाका देवता होइनन्, जीवित र बोल्ने जनता हुन् ।’ यसैमा थपेका थिए– ‘हामी कम्युनिष्टहरू भौतिकवादी भएकाले हाम्रो लडाइँ तिनै धर्मभीरू र शोषकहरू विरुद्ध हो ।’ भौतिक रूपमा जननेता मदन हामीमाझ छैनन् । तर, जीवनकालमा उनले धर्मबारे राखेका यी दुई धारणा कम्युनिस्ट विचार, आदर्श र सिद्धान्तका मर्म हुन् ।
प्रचण्डले एक सन्दर्भमा मदन भण्डारी र आफूबिच विचित्रको समानता रहेको भन्दै भनेका थिए– ‘फर्किएर हेर्दा म के ठान्छु भने उहाँको र मेरो सोच्ने तरिकामा एउटा विचित्रको समानता थियो । उहाँ क्रमभंगतामा नै सोच्नु हुन्थ्यो । म पनि क्रमभंगतामै सोच्थे । हाम्रो सोचाइमा विचित्रको समानता थियो ।’ तर, कम्युनिष्ट आदर्शको आलोकमा हेर्दा मदन र प्रचण्डबिच आकाश–जमिन फरक रहेछ ।

कम्युनिष्ट आदर्श र जनयुद्धबाट आफैले धर्मबारे स्थापित गरेका मूल्य र मान्यताविरुद्ध आज प्रचण्डले गरिरहेका छन् त्यसले प्रचण्ड प्रतिक्रान्तिको बाटोमा रहेको बुझ्न मुस्किल हुँदैन । भर्खरै सम्पन्न भारत भ्रमणका क्रममा महाकालेश्वर पुगेर प्रचण्डले जे रुप देखाए त्यो कम्युनिष्ट विचार, आदर्श र सिद्धान्तबाट विचलन हुनुको अन्तिम विन्दु हो । रातो वस्त्रमा स्थापित प्रचण्ड महाकालेश्वर पुगेर गेरुवस्त्र धारण गरेसँगै पुष्पकमल फर्केका छन् ।

नेपाली राजनीतिमा ‘प्रचण्ड भौतिकवादी’ छविमा स्थापित प्रचण्डको धार्मिक अवतार आज मात्र देखिएको होइन । पहिलो पटक प्रधानमन्त्री भएपछि भैँसी पूजा गरेका प्रचण्डले पुराण उद्घाटन गरे, गलेश्वर मन्दिरमा दर्शन गरे, आदित्य दाहाललाई गुगल व्वइका रूपमा काखमा राखे । यस्ता धेरै घटना छन्, जसले प्रचण्ड भौतिकवादी कित्ताबाट अध्यात्मवादी कित्तामा सरिसकेको पुष्टि गर्छ ।

नेपाली समाजमा एउटा भनाइ छ– ‘बुढेसकाल लागेपछि धर्म कर्ममा रुची बढ्छ ।’ भौतिकवादी आलोकमा स्थापित प्रचण्डमा ठ्याक्कै त्यस्तै मनोभाव देखिन्छ । प्रचण्ड एकपछि अर्को गर्दै आफैले गलहत्त्याएको अध्यात्मवादमा रम्न थालेका छन् । आखिर प्रचण्ड पनि मोहनचन्द्र अधिकारी, मोदनाथ प्रश्रित र खड्गप्रसाद शर्माहरूजस्तै धर्मभीरू अवतारमा देखिएका छन् । तर, प्रचण्डलाई त्यो छुट छैन ।

आज प्रचण्ड व्यक्ति मात्र होइनन् । कम्युनिष्ट नेतृत्वमा भएको आमूल परिवर्तनकारी संघर्षका मानक हुन् । जनयुद्धका क्रममा धार्मिक पाखण्डविरुद्ध ठूलो संघर्ष भएको थियो । ठूलो जमातले संघर्ष र बलिदान गरेका छन् । सोही संघर्ष र बलिदानको बलामा वर्तमान व्यवस्था स्थापित भएको हो । वर्तमान व्यवस्था स्थापित गर्न जनयुद्धका क्रममा अवलम्बन गरिएका नीतिविरुद्ध आज प्रचण्ड नै उभिनु स्खलन हो, प्रतिक्रान्ति हो ।

क्रान्तिका उपलब्धिहरू संकटमा पर्दै गएका छन् । आम अपेक्षा के पनि हो भने– कम्तीमा क्रान्तिका नायकहरू जीवित रहेसम्म क्रान्तिका उपलब्धिहरू गुम्ने छैनन् । तर, राजनीतिक जीवनको उत्तरार्द्धमा पुग्दै गर्दा क्रान्ति नायकहरू स्खलित हुँदैजाने क्रमले व्यवस्था रक्षाको प्रश्न जटिल बन्दै गएको छ । आज प्रचण्डमा जे समस्याहरू देखिएका छन् ती समस्याहरू अरू नेतृत्वमा पनि उस्तै स्वरूपमा देखिएका छन् । यसले गम्भीर संकटको संकेत गर्छ ।

विश्वका क्रान्ति, क्रान्तिको बलमा स्थापित व्यवस्था र ती व्यवस्थाको पतनहरू नेपाली राजनीतिज्ञले मिहिन रूपमा बुझेका छन् । क्रान्तिबाट स्थापित व्यवस्थाहरू क्रान्ति विरोधी शक्ति बलियो भएका कारण पतन भएका थिएनन् । बरु, व्यवस्था स्थापित गर्ने क्रान्ति नायक पतन भएर प्रतिक्रान्तिको बाटो रोज्दा व्यवस्थाहरू ढलेका छन् । र, प्रतिक्रान्ति सफल भएका छन् ।

आज, वर्तमान व्यवस्थाका हिमायती शक्ति माओवादी र यो व्यवस्थालाई आत्मसाथ गरेका शक्तिहरूमा बढ्दै गएको विचलनले ठूलो संघर्ष र बलिदानबाट स्थापित व्यवस्थामाथि खतरा बढेको छ । यो व्यवस्थाको रक्षा र स्थायित्वको सन्दर्भमा जिम्मेवार नहुने हो भने क्रान्तिबाट स्थापित मूल्य र मान्यताहरू आफ्नै कारण समाप्त हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्