Logo
Logo

नेपाल भ्रमण वर्ष २०२० र पाटा नेपाल च्याप्टरद्वारा नयाँदिल्लीमा पर्यटन प्रवद्र्धन


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० र प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले ‘भ्रमण वर्ष २०२० तथा नाइस (नेपाल इण्डिया चाइना एक्सपो)’ कार्यक्रम सम्बन्धी यही डिसेम्बर ५ तारिखका दिन नयाँदिल्लीस्थित द पार्क होटलमा भारतका करिब ६० वटा प्रमुख ट्राभल व्यवसायी तथा सरोकारवालाहरुबीच प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

पाटा नेपालका महासचिव विभुतीचन्द ठाकुरले आमन्त्रित अतिथि तथा भारतका विभिन्न सङघसंस्थामा आवद्ध व्यवसायीहरुलाई सम्बोधन गर्दै कार्यक्रम शुरु गरे । पाटा नेपालका अध्यक्ष सुनिल शाक्यले स्वागत मन्तब्य व्यक्त गर्दै कार्यक्रममा सहभागिहरुलाई धन्यवाद व्यक्त गरे । उनले डिसेम्बर ६ मा पाटा इण्डिया च्याप्टरद्धारा आयोजित ‘टुरिजम पावरहाउस’ कार्यक्रममा समेत भ्रमण वर्ष २०२० तथा नाइससम्बन्धी करिब ४०० भारतका पर्यटन सरोकारवालाहरुसमक्ष प्रस्तुति दिएका थिए ।

नेपाल भ्रमण वर्ष २०२० का प्रवन्धक रोहिणी खनालले नेपाल सरकारद्वारा घोषणा गरिएको भ्रमण वर्ष लक्षित कार्यक्रम तथा पहलहरुका सम्बन्धमा प्रस्तुती दिएका थिए । उनले भ्रमण वर्षको उद्देश्य, महत्व र प्राथमिकताहरुबारे प्रकाश पार्दै उपस्थित सबैमा भ्रमण वर्षमा सहभागी हुन र आ–आफ्नो कार्यक्षेत्र तथा नेटवर्कमार्फत भ्रमण वर्षको प्रवद्र्धनमा सहयोग गर्न आह्वान गरे । त्यसैगरी, पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले भ्रमण वर्षको सन्दर्भमा पाटा नेपालद्धारा आयोजना गरिने कार्यक्रमहरु विषेशगरी नाइस कार्यक्रमको संरचना, तयारी र नेपाल भारत र चीन छिमेकी मुलुकहरुको दिगो पर्यटन विकासका लागि यस कार्यक्रमले खेल्ने महत्वपूर्ण भूमिकाबारे प्रस्तुति दिएका थिए ।

कार्यक्रममा बोल्दै पाटा अन्तर्राष्ट्रियका सिइओ डा मारियो हार्डीले पाटाले विश्वकै दिगो विकास प्रवद्र्धनका लागि सहकार्य तथा समन्वयमा जोड दिइरहेको परिवेशमा नेपालद्वारा आयोजना गरिने नाइस कार्यक्रम अत्यन्त सराहनीय भएको बताए । उनले विश्वका केही मुलुकहरु ‘‘ओभर टुरिजम’’ र कतिपय मुलुकहरु ‘‘अण्डर टुरिजम’’ अवस्था अनुभूति गरिरहेको बेला दिगो पर्यटन विकासका लागि पर्यटकहरुको सन्तुलित वितरण आवश्यक हुने बताउँदै पाटाले विभिन्न मुलुकहरु तथा पाटा च्याप्टरहरुबीच बढीभन्दा बढी सहकार्य र समन्वयलाई जोड दिइरहेको बताउनुभयो ।

पाटा इण्डियाका कार्यकारी निर्देशक रुनिप साँघाले पाटा इण्डिया च्याप्टरले रणनीतिक साझेदारको रुपमा नाइस कार्यक्रमका लागि सक्दो सहकार्य तथा सहयोग गर्ने बताए । कार्यक्रममा भारतमा साहसिक पर्यटनमा चिरपरिचित व्यक्तित्व तथा नाइस एम्बेसडर अजित बजाजले हिमालय पर्यटन क्षेत्रका प्रमुख संरक्षक राष्ट्रहरु (नेपाल भारत र चीन) लाई पर्यटन क्षेत्रमा एकतृत एवं एकबद्ध गरी यो क्षेत्रकै दिगो पर्यटन विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नाइस कार्यक्रम एक प्रशंसनीय पहल भएको बताए ।

प्रतिक्रिया दिनुहोस्