Logo
Logo

नागरिक उड्डयन प्राधिकरणले सोध्यो मेयर बालेनलाई सात दिने स्पष्टीकरण


3.1k
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) सहित तीन जनालाई सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पूर्वजानकारी र सूचना नदिई फेन्सिङ तार काटेको विषयमा स्पष्टीकरण सोधेको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार महानगरको ९ नम्बर वडामा पर्ने प्राधिकरणको विमानस्थल क्षेत्रसँग सम्बन्धित क्षेत्रमा बिहीबार महानगरले नगरप्रहरीसहितको टोली पठाई फेन्सिङ तार काटिएको थियो । प्राधिकरणले यस कार्यलाई कानुनविपरीत भएको भन्दै महानगर प्रमुखसहितलाई स्पष्टीकरण सोधेको हो ।

‘प्राधिकरणका कर्मचारीले फेन्सिङ तार नकाट्न अनुरोध गर्दा पनि अटेर गरी जबर्जस्ती कार्य गरेको, सोसम्बन्धी पत्र तथा जानकारी माग्दा नगर प्रमुखको आदेशबमोजिम कार्य गरेको र त्यहीँ सोध्न जानुहोस् भनी जवाफ दिएकाले सो कार्यमा तपाईं (मेयर)को संलग्नता देखिएकाले प्राधिकरणको ऐनको दफा ७ को कसुरमा ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्नु,’ प्राधिकरणले मेयर साहलाई शुक्रबार लेखेको पत्रमा उल्लेख छ ।

प्राधिकरणका एक उच्च अधिकारीले यस विषयमा चित्तबुझ्दो जवाफ नपाएमा मेयर बालेनसहित संलग्नहरूलाई उडानमा प्रतिबन्ध लगाउन सकिने जनाएको छ । प्राधिकरणले यसै विषयमा महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र वडा नम्बर ९ का अध्यक्ष रामजी भण्डारीलाई पनि सात दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनेको छ ।

प्रतिक्रिया दिनुहोस्