Logo
Logo

एमाले आजीवन ओलीको कब्जामा, युवाको राजनीतिक भविष्य डामाडोल



काठमाडौं । नेकपा एमालेले इतिहासमै पहिलोपटक नीति निर्माण र नेतृत्व चयनलाई विशिष्टीकृत गर्यो । २०७८ असोज १५ गते एमालेको विधान महाधिवेशन सम्पन्न भयो । विधान महाधिवेशनबाट पाँच वर्षका लागि नयाँ नीति तय गरेको एमालेले २०७८ मंसिरमा चितवनमा १०औं महाधिवेशन गर्यो ।

नीति निर्माण गर्ने र नेतृत्व चयन गर्ने दुवै महाधिवेशनमा ७० वर्षे उमेरहदको विषय सबैभन्दा पेचिलो थियो । विधान महाधिवेशनमा हदम्याद हटाउनुपर्ने माग उठेको थियो । तर, बहुमतले हदम्याद राख्नुपर्ने भनेपछि ७० वर्षे उमेर हदम्याद लागू भयो । सोही व्यवस्था अनुरूप १०औं महाधिवेशनमा एमालेले नेतृत्व चुन्यो ।

एमालेले इतिहासमै पहिलोपटक विधानलाई विशिष्टीकृत गरेको थियो । तर, २० महिना मात्रै विधानको औचित्य समाप्त भयो । विधान महाधिवेशनको औचित्यमाथि नै प्रश्न उठ्ने गरी ७० वर्षे उमेर हदम्याद हटाएको छ ।

गत जेठ १९ गते च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले ७० वर्षे उमेर हदम्याद हटाउने निर्णय गरेको थियो । उक्त निर्णयबारे अहिले विभिन्न टिकाटिप्पणी र आलोचना भइरहेको छ ।

किन हट्यो ७० वर्षे उमेरहद ?
एमालेले उमेरहद हटाउने विभिन्न कारण होलान्, तर मुख्य कारण भने ओलीलाई तेस्रो पटक अध्यक्ष बनाउने योजना नै हो । २०७१ सालमा भएको नवौँ महाधिवेशनले पार्टीको सबै तहको कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनीत हुन ७० वर्ष उमेर पूरा नभएको हुनुपर्ने व्यवस्था गरेको थियो ।

यस्तो व्यवस्थालाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा एमालेभित्र छलफल हुँदै आएको थियो । विधान अधिवेशनमा पनि ओलीकै जन्ममिति हेरेर ७० वर्षे उमेरहदलाई संशोधन गरिएयो ।

उक्त अधिवेशनमा दोस्रो कार्यकालका लागि अध्यक्ष बन्न लागेका ओली ७० वर्ष पुग्न केही महिना मात्रै बाँकी थियो । उनको जन्ममिति हेरेर विधानमा ७० वर्ष नपुग्दै निर्वाचित भएमा कार्यकाल पूरा गर्न पाउने प्रावधान राखियो । ‘७० वर्ष पूरा नभएकाले कमिटीमा रहन पाउने’ व्याख्याले ओलीलाई अध्यक्ष दोहोरिन बाटो खुल्यो ।

त्यसपछि चितवन महाधिवेशनबाट ओली पुनः अध्यक्ष बने । यदि ७० वर्षे मात्रै राखेको भए ओली अध्यक्ष हुने नै थिएनन् । दुई वर्षअघि ओलीका लागि विधान संशोधन गरेको एमालेले ओलीको उमेर नै घाँडो भएपछि उमेरहद हटाएको छ ।

एमालेबाट प्रतिस्पर्धी विद्रोही तथा वरिष्ठ नेताहरू बाहिरिएपछि ओली ओली एमालेका एक्लो खेलाडि भएका छन् । ओली विधि विधानभन्दा माथि रहेको राजनीतिक विश्लेषक सोमत घिमिरे टिप्पणी गर्छन् ।

उनी भन्छन्– ‘एमालेमा ओली विधि विधानभन्दा पनि माथि छन् । उनी त देउता बराबर हुन् । देउतालाई कहाँ विधान लाग्छ र ? उनले आफू बाहेक पार्टीमा अरु कसैलाई नेता देख्दैनन् । उनी सबैलाई दास बनाएर लामो समय नेतृत्व गर्न चाहन्छन् । त्यसैले ७० वर्षे उमेरहद हटाएका हुन् ।’

ओली अहिले ७२ वर्षका भए । विधान अनुसार उनी अर्को महाधिवेशनमा उम्मेदवार बन्न योग्य हुने छैनन् । तर, पुनः पार्टीको नेतृत्व गर्दै देशकै नेतृत्व गर्ने उनको चाहनाले विधान महाधिवेशन भएको २० महिनामै एमालेले विधान संशोधन गरेको छ ।

हुन त यसले ओलीलाई मात्रै नभइ एमालेका अरु शीर्ष नेताहरूलाई राहत मिलेको छ । यदि उमेरहद नहटाएको भए एमालेका पदाधिकारी तहका धेरै शीर्ष नेताहरू राजनीतिबाट ‘रिटायर्ड’ हुने थिए ।

क–कसलाई फाइदा ?
७० वर्षे उमेर हदम्याद हट्दा हालका पदाधिकारीमध्ये सात जनालाई प्रत्यक्ष फाइदा पुग्ने देखिन्छ । यसले पदाधिकारीलाई मात्रै नभएर केन्द्रीय कमिटीका धेरै नेतालाई पनि हाइसन्चो भएको छ ।

एमालेमा १९ (हाल १८) सदस्यीय पदाधिकारी छ । ७० वर्षे उमेरहद कायम राख्ने हो भने धेरै आगामी महाधिवेशनबाट सात जना पदाधिकारी बिदा हुनेछन् ।

उमेरहद कायम रहँदा अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य लगायत ‘रिटायर्ड’ हुने थिए । तर, उमेरहद हटाइएपछि उनीहरूको राजनीति जोगिएको छ ।

यसअघि ७० वर्षे उमेरहदका कारण नवौँ महाधिवेशनबाट भरतमोहन अधिकारी र दशौँ महाधिवेशनबाट अमृत बोहरा बिदा भएका थिए । भरतमोहनको मृत्यु भइसकेको छ भने अमृत बोहरालाई भने पुनः एमालेमा फर्कने बाटो खुलेको छ । अन्य धेरैलाई हाइसन्चो भएको छ ।

केपी शर्मा ओली, अध्यक्ष
ओली २००८ फागुन १० जन्मेका हुन् । उनी हाल ७२ वर्षका भएका छन् । ०८३ सालमा हुने ११औं महाधिवेशनमा उनी ७५ वर्ष पुग्नेछन् । उमेरहद हटेपछि उनका लागि अध्यक्षको तेस्रो ढोका खुलेको छ ।

ईश्वर पोखरेल, वरिष्ठ उपाध्यक्ष
वरिष्ठ उपाध्यक्ष पोखरेल २०१० साल माघ २२ गते जन्मेका हुन् । उनी हाल ७० वर्षका भए । उमेरहद कायम रहेको भए उनी पनि ११औं महाधिवेशनमा कुनै पनि पदका लागि उम्मेदवार बन्न पाउने थिएनन् । तर, उमेरहद हटेका कारण उनको सक्रिय राजनीति कायमै रहने भएको छ ।

अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष
यदि, उमेरहद नहटाएको भए उपाध्यक्ष शाक्य पनि ‘रिटार्यड’ हने थिए । २०१० असोज १४ गते जन्मेका उनी केही महिनामै ७० पुग्दैछन् । ११औं महाधिवेशनमा उनी ७३ वर्षका हुने छन् । उमेरहद हटाउँदा उनलाई पनि राहत मिलेको छ ।

सुवास नेम्वाङ, उपाध्यक्ष
२०१० फागुनमा जन्मेका उपाध्यक्ष नेम्वाङ ७० वर्षका भए । आगामी महाधिवेशनमा उनी ७३ वर्षका हुनेछन् । हामलै सम्पन्न राष्ट्रपति निर्वाचनमा पराजित भएका नेम्वाङलाई पनि उमेरहद हट्दा राहत मिल्ने भएको छ ।

युवराज ज्ञवाली, उपाध्यक्ष
२०१० असार १३ गते जन्मेका उपाध्यक्ष ज्ञवाली ७० वर्ष पुगिसकेका छन् । उमेरहद नहटेको भए एमालेमा तीन दशक लामो सक्रिय राजनीति गरेका ज्ञवाली पनि विदा हुनुपर्ने थियो । आगामी महाधिवेशनमा ७३ वर्ष पुग्ने ज्ञवालीका लागि सक्रिया राजनीतिको सम्भावना बचेको छ ।

केशव वडाल, नेता
२००९ साल असोजमा जन्मेका नेता बडाल हाल ७१ वर्षका भए । एमालेका केन्द्रीय सदस्य रहेका बडाल पनि उमेर हद कायम रहेको भए ११औं महाधिवेशनबाट विदा हुनुपर्ने थियो । तर, बडाललाई पनि राहत मिलेको छ ।

विदा भएका नेता फर्कन बाटो खुल्यो
एमालेले नवौं र दशौं महाधिवेशनमा कायम गरेको ७० वर्षे उमेरहद सचिवालय बैठकबाट खारेज गरेसँगै यसअघि उमेरहदका कारण एमालेको सक्रिय राजनीतिबाट बाहिरिएका केही नेतालाई पुनः क्रिाय राजनीतिमा फर्कको बाटो खुलेको छ ।

अमृत बोहोरा, रिटार्यड नेता
उमेरहदका कारण दशौँ महाधिवेशनबाट बोहरा बाहिरिएका नेता हुन् । तर, एमालेले उमेरहद हटाएसँगै बोहरा पुनः सक्रिय राजनीतिमा फर्कने बाटो खुलेको छ । हाल सल्लाहकार परिषद सदस्य रहेको बोहरा २००५ बैशाख १५ गते जन्मेका हुन । उनी ७५ वर्षका भए ।

सत्यनारायण मण्डल, रिटार्यड नेता
२००८ साउन १५ गते जन्मेएका नेता सत्यनारायण मण्डल पनि उमेरहदका कारण दशौँ महाधिवेशनबाट बाहिरिएका थिए । हाल उनी, उनी ७२ वर्षका भए । एमालेको पछिल्लो निर्णयसँगै मण्डल पनि पुनः सक्रिय राजनीतिमा फर्कने बाटो खुलेको छ ।

बोल्नै सक्दैनन् युवा नेता
नेपाली राजनीतिमा लामो समयदेखि उठ्दै आएको मुद्दा हो– पुस्तान्तरण । तर, बारम्बार उठ्ने पुस्तान्तरणको मुद्दा नारामा मात्रै सीमित बनेको छ । यो विषयलाई अपवादबाहेक राजनीतिक दलका दोस्रो र तेस्रो तहका नेताहरू उठाउनै सक्दैनन् ।

एमालेमा ७० वर्षे उमेदहद हटाउँदा ६० वर्ष उमेर वरिपरि रहेका र आगामी महाधिवेशनमा नेतृत्व ताकिरहेका केही नेताहरु असन्तृष्ट भएपनि बोल्न सकेका छैनन् । उमेरहद हटाउने निर्णय चित्त नबुझेपनि उनीहरु बोल्ने अवस्थामा छैनन् ।

विगतमा अध्यक्ष ओलीसँग फरक मत राख्ने माधव नेपाल, घनश्याम भुसालहरू पार्टीबाट बाहिरिसकेका छन् । बाँकी रहेका दोस्रो र तेस्रो तहका नेताहरू ओलीका अगाडि बोल्न सक्ने अवस्थामा छैनन् ।

दोस्रो तहको नेताहरू ओलीविरुद्ध बोल्न त परको कुरा, उनीहरु ओलीकै बचाउमा लागिपरेका छन् । अरु दलका पाका नेताहरूलाई केन्द्रीय समितिमा ल्याउन उमेरहद हटाएको भन्दै प्रचार विभाग प्रमुख तथा युवा नेता राजेन्द्र गौतम ओलीको बचाउ गर्छन् ।

ओलीलाई नै अध्यक्ष बनाउनकै लागि हदम्याद हटाइएको त हैन ? भन्ने दृष्टिन्यूजको प्रश्नमा उनले भने– ‘उहाँको लागि मात्रै बाटो खुल्यो, बन्यो भन्ने होइन । फेरि उहाँ नै अध्यक्ष बन्नुहुन्छ भन्ने कुरा अहिल्यै बताउनु राम्रो हुँदैन । यो आउँदो महाधिवेशनपछि थाहा हुने कुरा हो । यो कसैलाई लक्षित गरेर हटाइएको होइन ।’

युवामा दास मानसिकता हावी छ– घिमिरे
राजनीतिक विश्लेषक सोमत घिमिरे एमालेका युवा नेतालाई ओलीसँग फरकम मत राखे राजनीति समाप्त हुने डर रहेको बताउँछन् । राजनीतिक दलमा यति धेरै दास मानसिकता एमालेमा देखिएको उनको तर्क छ ।

घिमिरे भन्छन्– ‘एमालेका युवा नेतामा दास मानसिकता विकास भएको छ । अध्यक्षसँग फरक मत राखे राजनीति नै समाप्त हुन्छ भन्ने मनोभाव पैदा भएको छ । अध्यक्षलाई प्रश्न गर्नै नसक्ने, जे भने पनि मान्दै जानु दास मानसिकता हो । एमालेका युवा र बाँकी सबै नेताले दास भूमिका निर्वाह गरिरहेका छन् ।’

एमालेमा आगामी नेतृत्वका रुपमा हेरिएका नेताले पनि उमेरहद हटाउने विषयमा खेलेर बोल्न चाहेका छैनन् । प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, योगेश भट्टराई अन्य युवा नेताले यस विषयमा एक शब्द पनि नबोल्नुले पनि घिमिरेको विश्लेषण पुष्टि गर्छ ।

प्रतिक्रिया दिनुहोस्