
काठमाडौं । मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकले जनाएका छन् ।
राष्ट्रपति पौडेल मुटुको धड्कन मनिटरिङ गर्नुपर्ने भएको भन्दै शनिबार बिहान ३ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।
अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलले प्रेस विज्ञप्ति जारी गर्दै हाल राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर भएको जनाएका हुन् ।
शनिबार बिहान ३ बजे मुटुमा पुन: समस्या देखिन थालेपछि राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर लगिएको स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।
राष्ट्रपति पौडेल बुधबार मात्र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट डिस्चार्ज भएका थिए । मंगलबार बिहान अचानक छाती दुखेपछि उनलाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको थियो । अस्पतालमा पौडेलको मुटुको परीक्षण र २४ घन्टा चिकित्सकहरुको निगरानीपछि पौडेललाई अस्पतालले बुधबार बिहान डिस्चार्ज गरिएको थियो ।
अस्पताल स्रोतका अनुसार पौडेलको मुटुको दाहिनेतर्फ एउटा नसा ७० प्रतिशत बन्द भएको पाइएको थियो । त्यसपछि एनजिओप्लास्टी गरेर रक्तनली खोलिएको थियो ।












