म्याग्दी । गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै स्थानमा विद्युत् आपूर्ति पूर्ववत् भएको छ । नेपाल विद्युत् प्राधिकरणको बेनी र तातोपानी वितरण केन्द्रले बाढीपहिरोले क्षति पुगेका प्रशारण, शाखा लाइन लगायतका संरचना मर्मत गरेर विद्युत् आपूर्ति पूर्ववत् गरेका हुन् ।

प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा शनिवार बत्ती बलेको जानकारी दिए । “धेरै ठाउँमा दुईरतीन दिनमै विद्युत् आपूर्ति गराएका थियौ । पाउद्धार, गिवाङ, किन्दु क्षेत्रमा चाडपर्वको समय पनि नभनी कर्मचारी र कमजदुरहरु दसैँको समयमा रातीसम्म परिचालन भयौ,” उनले भने “कतिपय ठाउँमा वैकल्पिक माध्यम र संरचनाबाट विद्युत् आपूर्ति गराएका छौ । दोस्रो चरणमा थप मर्मत गरी विद्युत् आपुर्तिलाई नियमित र व्यवस्थित बनाउने प्रयासमा छौ ।”
म्याग्दी बितरण केन्द्र अन्तरगतको मिलनचोक सबस्टेशन मार्फत पर्वतको जलजला गाउँपालिकाको मल्लाज, वारीबेनीका सहित २४ हजार चार सय ९० ग्राहक छन् । तातोपानी वितरण केन्द्र अन्र्तगत अन्नपूर्ण गाउँपालिकाको १, २, ३ र ४ नम्बर वडा सहित मुस्ताङमा विद्युत् आपूर्ति हुन्छ ।
बाढी पहिरोले प्राधिकरणको ३३/११ केभीको प्रशारण, वितरण लाइनका दुई सय ५० वटा पोल र त्यहाँ तानिएका तार क्षति गरेको थियो । कुल रु। एक करोड ५० लाख क्षति पुगेको प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख गामीले जानकारी दिए । अन्नपूर्ण गाउँपालिकाको राम्चे र हिस्तानमा पर्वतको जलजला गाउँपालिका–५ लेकफाँट तर्फबाट विद्युत् आपूर्ति गरिएको छ । यस क्षेत्रमा यसअघि महभिरतर्फबाट विद्युत् आपूर्ति हुने गरेको थियो ।
पाउद्धारमा हेलिकप्टरबाट ढुवानी गरिएको ट्रान्सफर्मरले काम नगरेपछि घार गाउँबाट विद्युत् आपूर्ति गराइएको बेनी वितरण केन्द्रका प्रमुख गामीले बताए । विद्युत् आपूर्ति हुन थालेपछि ग्रामीण क्षेत्रको जनजीवन सहज हुन थालेको छ ।















