
काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा आज (आइतबार) नेपालले जिम्बावेसँग खेल्दैछ ।
खेल नेपाली समय अनुसार दिउँसो १२ः ४५ मा जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ । नेपालले पहिलोपटक टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो ।
मैदान उत्रिँदा नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो भेटमै जिम्बावेविरुद्ध अप्रत्यासित जित निकाल्ने लक्ष्यमा हुनेछ । नेपालले यसअघि जिम्बावेविरुद्ध ५० ओभरको एकमात्र खेल खेलेको छ । लिस्ट ‘ए’ मान्यता रहेको उक्त खेलमा नेपाल ११६ रनले पराजित भएको थियो ।
विश्वकप छनोट प्रतियोगिताको उक्त खेलमा जिम्बावेका सिकन्दर राजा र ब्रेन्डान टेलरले शतक बनाएका थिए । आईसीसी क्रिकेट विश्वकप लिग–२ का पछिल्लो १२ मध्ये ११ खेलमा जितको नतिजा निकालेको नेपाल घरेलु टिमविरुद्ध पनि सोही लयलाई निरन्तरता दिने योजनामा हुनेछ ।
नेपालले विश्वकप छनोटका लागि १० दिन दक्षिण अफ्रिकामा अभ्यास गरेको थियो । दक्षिण अफ्रिकामा अभ्यासका क्रममा स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग अनौपचारिक तयारी खेल खेलेको नेपाल दुवै खेलमा पराजित भएको थियो ।











