काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो दलका राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरुलाई आगामी आर्थिक वर्षका लागि बजेट राम्रो नआएको बताएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा ब्रिफिङका क्रममा अध्यक्ष नेपालले अर्थमन्त्री डा. प्रकाशशरण महतले ल्याएको बजेट गोरखा, नुवाकोट र डडेल्धुरासहितका जिल्लाकेन्द्रित भएको भन्दै संशोधन आवश्यकता रहेको बताए ।
‘नयाँ बजेट राम्रो आएन । बजेट बनाउने क्रममा पनि हामीलाई सोधिएन । आफू खुसी बजेट ल्याइयो । यो संशोधन नगरी यथास्थितिमा पास गर्न सकिँदैन ।’
यस्तै, एकीकृत समाजवादीले यथास्थितिमा बजेट पारित हुन नदिने निर्णय समेत गरेको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले यसबारे गठबन्धनमा छलफल गर्ने र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा। प्रकाशशरण महतलाई जानकारी गराउने समेत निर्णय गरेको हो ।

एकीकृत समाजवादीले बजेट गोरखा, डडेलधुरा र नुवाकोटमा केन्द्रित भएको र आफ्नो पार्टीले सम्हालेको मन्त्रालयमाथि विभेद गरिएको निष्कर्ष निकाल्दै पार्टीका नेता र सांसदले तीव्र असन्तुष्टि पोख्दै आएका थिए । बजेटमाथि पार्टीका नेताहरुले असन्तुष्टि पोखेपछि त्यसबारे छलफल गर्न बिहीबार संसदीय दलको बैठक बसेको थियो ।
एकीकृत समाजवादकिा उपाध्यक्ष तथा संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले बजेट संशोधन नभए विपक्षीमा भोट हाल्ने बताउँदै आएका छन् । बिहीबार बसेको संसदीय दलको बैठकले यथास्थितिमा बजेट पारित गर्न नदिने पार्टीले निर्णय गरेको उनको भनाई छ ।











