Logo
Logo

विपदमा जनताले प्रदेश सरकारको महसुस गरुन् : मुख्यमन्त्री पाण्डे


504
Shares

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद्मा जनताले प्रदेश सरकारको महसुस गर्नुपर्ने बताएका छन् ।

प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकमा उनले विपदबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न उद्धार, उपचार, राहतका सवालमा विशेष ध्यान दिन सम्बद्ध सरोकारवालालाई निर्देशन दिए ।

उनले भने, ‘हामीले सर्वसाधारण नागरिकको सेवा सधै गर्नु नै पर्छ, दुःख परेका बेला सहयोगको आशा अझै धेरै हुन्छ, जनतासँग प्रदेश सरकार छ भन्ने महसुस हुने गरी काम गर्नुपर्छ ।’

उनले प्रदेश सरकारसँग भएको साधन स्रोतको अधिकतम उपयोग गरेर सुरक्षा निकायको परिचालन र स्थानीय तहसँगको सहकार्यमा काम गर्न आग्रह गरे ।

सरकारले विपद् व्यवस्थापनका लागि आफूलाई तयारी अवस्थामा राखेको बताउँदै मुख्यमन्त्री पाण्डेले हरेक स्थानीय तह, सङ्घसंस्था, निजी क्षेत्रलगायत सबैको दायित्वभित्र विपद् व्यवस्थापन पर्ने हुँदा सहकार्य जरुरी रहेकामा जोड दिए ।

मनसुनको समय सुरु भएकाले बाढी, पहिरो, कटान, डुबान लगायतबाट हुने क्षति न्यूनीकरणसँगै अन्य विपद्का घटनामा संवेदनशील भएर अघि बढ्न प्रदेश सरकारले उच्च सतर्कता अपनाएको भन्दै उनले तत्काल उद्धार र राहतका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए । उपलब्ध सामग्री, साधन स्रोत भण्डारण गरेर राख्ने नभई प्रयोग ल्याउनुपर्ने उनको भनाइ छ ।

मुख्यमन्त्री पाण्डेले बिहीबारै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण गरेका छन् । उनले वेन मेटी (खाना तातो बनाउने मेसिन), मोटरबोट र विभिन्न किसिमका उद्धार सामग्री गरी करिब ५२ लाखको सामग्री हस्तान्तरण गरेका हुन् ।

यी सामग्री सुरक्षा निकायले आवश्यकताअनुसार प्रदेश र जिल्लाहरूमा पठाउनेछन् । गण्डकी प्रदेश सरकारले विपद्मा परेकाको उद्धार, खोज र राहतका लागि ११ वटै जिल्लामा विपद् कोषमा बजेट पठाउने गरेको छ । प्रदेश सरकारले पनि विपद् कोष सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्