Logo
Logo
साहित्य

एक सय रुपैयाँ लिएर काठमाडौं



बाल्यकालका संस्मरणहरु खोल्दै गर्दा पुनः बाल्यकालमै पुगिन्छ । त्यो समाजका कुरा यो समाजले पढ्दा रमाइलो मनोरञ्जन लिन्छन्, त्यसैले पनि हाम्रा कुरा भावी पुस्ताहरुलाई पढाउनुपर्छ ।

हामीले भोगेको यथार्थ हाम्रा सन्ततिका लागि रसिला कथा बन्न सक्छन् । हाम्रा दुःख, भोगाइ उनीहरुले नपत्याउन सक्लान् तर, पढेर मनोरञ्जन भने लिन सक्छन् ।

हाम्रो भोगाइ र उनीहरुको भोगाइमा आकाश–जमिनको फरक छ । हाम्रो त्यो भोगाइका क्षण हामीलाई नै होइन जस्तो लाग्छ, कहिलेकाहीँ, तर भोग्ने हामी सकुशलै छौँ, र समाज जस्ताको तस्तै छ । केही पुराना पात फेरिए, केही नयाँ पालुवा पलाएमात्र फरक यही हो ।

पात फेरिने र पलाउने क्रममा हामी उभिएका छौँ, अहमको पर्खालमा, त्यो पर्खाल कतिबेला ढल्छ हामीलाई पत्तै हुँदैन ।

हाम्रो बसोबास गाउँमै थियो, बेँसीमा थिएन । गाउँमा सबैको घर थियो, बेलुका घर जाँदा धेरै जना गफिँदै उकालो लाग्दा, घर पुगेको पत्तै नहुने । सबैको घर जाने समय भनेको प्रायः एउटै हुन्थ्यो ।

कोही रित्तो हुने थिएन कसैले के कसैले के बोकेका हुन्थे बेँसी झर्दा, कम्पोष्ट मल, घाँसपात बोकेर झर्दथे । बेँसीबाट जाँदा पराल तथा सिजनअनुसारको खाद्य सामग्री बोकेर उकालो लाग्दथे ।

गाईवस्तु प्रायः बेँसीमै हुन्थे । गाईवस्तु चराउनका लागि पाखो खुला थियो । लगभग पैतालीस मिनेटमा गाउँबेँसी गर्न सकिन्थ्यो, त्यति टाढा पनि थिएन । विस्तारै मान्छेहरुलाई बँेसीको सुविधाले मोहनी लगाउँदै लग्यो । पहिला बेँसीमा औलो लाग्छ भनेर कोही बस्दैनथे । अहिले बँेसीमै सर्न थाले ।

हाम्रो भने त्यति राम्रो घर नभएको कारणबाट गाउँमै बस्ने गर्दथ्यौँ, भएको पुरानो गोठमा दाजु अलग्गिएर बसेको कारणबाट बेँसीमा घर थिएन् । बुवाको तुरुन्तै घर बनाउन पनि सक्ने स्थिति थिएन । हामी सानै थियौँ । त्यसकारणले पनि हामीले गाउँ छोड्न सकिरहेका थिएनौँ ।

मान्छेलाई जति सुख–सुविधा भए पनि पुग्दैन, उसका एकपछि अर्को बिलासिताका कुराहरु भोग्न तम्सिरहन्छन् । अहिले गाउँको हाम्रो घर भत्किएको घेरै भएको छ । साहुटोलको त्यसबेलाको रौनक अहिले झाडीले खाएको छ । उनीहरुका सबै घरहरु भग्नावशेषमा परिणत भएका छन् ।

हाम्रो घरको पनि त्यही हाल छ । प्रायः सबैले गाऊँका घर जग्गाहरु बिक्री गरिसकेका छन् । बिक्री नगरेकाहरुको घाँस काटिरहेका छन् । काम गर्ने मान्छेहरु नपाइने हुनाले जमिन बाँझिएका छन् । बेँसी अहिले सहर बनेको छ, गाउँ खण्डहर । बुबाले भने जस्तै समय समयको कुरा हो–‘कहिले सासुको पालो कहिले बुहारीको पालो ।’

गाउँमा कुनैकुनै काम गर्न मलाई औधी गाह्रो लाग्दथ्यो । जस्तै चैतको महिनाको गर्मीमा गहुँ चुट्ने, दोहोरो मकै गोड्ने, धान गोड्ने र आली लगाउने यी कामदेखि म तर्कन्थे ।

तर्केर सुख थिएन, गर्नैपर्ने बाध्यता थियो । यी काम गर्नुपर्यो भने केही न केही बहाना बनाएर उम्कने कोसिस गर्थेँ । बरु गाई चराउन जान्थे, घरमा खाना पकाएर बस्थे, खाजा बनाएर लैजान्थे ।

सधैँ त्यो सम्भव पनि थिएन, बाध्यताले म कहिलेकाहीँ परिहाल्थे । काम सुरु गरेपछि भने निरन्तर लगनशील भएर लाग्थे । अल्छी गर्दिन थिएँ । आफ्नो जिम्माको काम सधैँ फत्ते गरेर आउँथे ।

गाउँको कुरा गर्दा म निकै भावुक हुन्छु । बाल्यकाल बिताएका ती दिनहरु कति निश्चल थिए । कति उत्सुकता थिए, कति उत्साहित थिए, तिनै ऊर्जावान दिन सम्झँदा अहिले मन फुरुङ्ग हुन्छ । शरीरमा शक्ति प्रवाहित भएको अनुभूति हुन्छ । मलाई यस्तो सुखद् अनुभूति दिने त्यो गाउँको प्रेरणाका पात्र मेरा आमाबुवा नै थिए ।

उहाँहरुको निश्चलता र सोझोपनको अहिले म सिको गर्दैछु । आखिर जीवन के नै रहेछ र ? अहिले बुवाले छोडेर जानुभएको पनि २३ वर्ष भएको छ । केही समय अगाडि आमाले पनि छाडेर जानुभयो ।

आमाबुवा ईश्वरीय रुपधारण गरेर हाम्रा कार्यका मूल्याङ्कन गरिरहनुभएको होला जस्तो लाग्छ मलाई । त्यसैले त उहाँहरुको पदचाप हामीलाई प्यारो भएको छ । उमेरले आधा शताब्दीको घण्टी बजाइरहँदा कतिबेला हामी बाआमाले पछ्याउँदै गरेको मार्गमा पुग्छौँ, त्यो कसलाई थाहा हुन्छ र ?

बाल्यकालका सम्झनाले म कहिले भावनामा बग्छु, मिठा, नमिठा क्षणले रोमाञ्चित बन्छु, तर वर्तमानको कर्तव्यबाट टाढा हुन भने सक्दिनँ, किनकि अहिले म पनि कसैको बा भएको छु । अनि एउटा बाको कर्तव्यबाट कसरी टाढा रहन सक्छु । पुराना स्मृतिका हरेक पललाई शब्दरुपी माला उनिरहेको छु ।

विगतका दुःखद क्षणले वर्तमानमा सुखद अनुभूति थपिदो रहेछ भन्ने अनुभूति भैरहेछ मलाई । लाग्छ त्योे बेलाको दुःखले अहिले लेखिएका संस्मरणहरु अरुका लागि प्रेरणादायी बन्न सक्छन् । वास्तवमा हामीलाई लेख्नको लागि विषयवस्तुको कमि छैन्, आफ्नै भोगाईलाई मात्र पनि लेख्न सक्यो भने धेरै पुस्तकहरु बन्छन् । ति पुस्तकहरु धेरैका प्रेरणाका स्रोत बन्ने गर्छन ।

म कहिल्यै खाली बस्न सक्दिन, केही न केही गरिरहन चाहन्छु । यो प्रेरणा मलाई बुबाबाटै प्राप्त भएको हो, बुबाका त्यो प्रेरणालाई म धर्तीबाट बिदा नहुन्जेल सम्मालेरै राख्छु । र, त बुबाका हरेक शब्दलाई सन्देश ठानेर शब्दजालमार्फत यस्ता स्मृतिहरु लेखिरहेकोछु । बासँगका स्मृतिहरु लेख्दा मलाई अकै किसिमको उर्जा मिल्छ । बुबा नै अगाडि बसेर मेरा कुराहरु लेख भन्नु भए झैँ लाग्छ ।

स्कुल सकिएपछिको समय कसरी सदुपयोग गरौँ भनेर सोच्दै थिएँ । गाउँमा केशव ओझा दाइले सिलाई सिकाउँदैछन् भन्ने कुरा साथी नवराज दाहालमार्फत थाह पाएँ । नवराजजीले पनि सिलाई सिक्ने चाहना भएको बताए पछि मलाई सजिलो भयो । र हामी दुबै केशवदाईको घरतर्फ गयौँ । ‘ल केटा हो सिलाइ सिक्ने भए भोली देखि आउनु, पैसा महिनाको बतिस रुपैयाँ लाग्छ है ।’ भनेर हामीलाई भने ।

यही कुरा बुबालाई भने । बुबाले कहाँबाट खोजेर बतिस रुपैयाँ दिनुभयो । त्यसपछि मैले एक महिना ढुक्कले सिलाई सिके । अर्को महिनामा भने बुबालाई दुःख दिइनँ, किनकि सिलाइ सिक्न म गइनँ ।

केशव ओझा दाइले पयरकाल (खुट्टाले चलाउने मेसिन) कलकत्ताबाट लिएर आएका थिए । अहिले सम्झन्छु ओझा दाइ त निकै क्रान्तिकारी पो रहेछन् । एउटा पुरोहितको छोराको त्यो कदम पक्कै पनि हामीले सराहाना गर्नैपर्छ । त्यसबेला त हामीले के बुझेका थियौँ र अहिले सम्झँदा उनी समाजका प्रेरणाका स्रोत रहेछन्, भन्ने मैले ठानेको छु ।

सिलाई सिकेर पहिलो दिन म खाना खाएर बेसीँ झरे र, मलको डोको बोकेर खेतमा जादैँ थिएँ, बाटोमा मलाई दुईजना छिमेकीले नराम्ररी हप्काए । ‘थुक्क मुला बाहुनको छोरा भएर दमैको काम सिक्ने अबदेखि तेरो जात गयो ।’ मैले उहाँहरु जिस्केको होला भन्ने ठानेर केही जवाफ फर्काइन । मुसुक्क हाँसेर आफ्नो बाटो लागे ।

बेलुका बुबालाई सबै कुरा बताएँ । बुबाले भन्नु भयो– ‘काम ठूलो सानो हुन्न, सक्यो जान्यो भने जसले गरे पनि हुन्छ । त्यसकारण अरुको कुरामा लाग्ने होइन, आफ्नो कर्म बलियो बनाउने हो ।’ हुन पनि मलाई बुबाले गर्ने कामप्रतिको सम्मान नै मन पथ्र्यो ।

कालान्तरमा मलाई गाली गर्ने ति दम्पत्तिको छोराहरुले सिलाई सिकेर काठमाडौँमा केही वर्ष सिलाई प्रशिक्षण केन्द्र खोले । मलाई लाग्छ हामीले कामलाई सम्मान गर्नु पर्छ, अनि हामी सम्मानित भएको महशुस हुन्छ । अहिले हाम्रो देशको मूल समस्या भनेकै यही छ, कामप्रतिको सम्मान छैन । त्यही काम विदेशमा राम्रो र स्वदेशमा लाज लाग्छ ।

यसले हामी दिनप्रतिदिन धाराशाही भैरहेका छौं । यो सहरमा कामलाई सम्मान गर्न सिके मैले, हातमा केही सिप सिके, बुबाका हरेक वाक्यलाई दिव्य ज्ञान मानेर अहिले पनि त्यही मार्गमा लागि रहेको छु ।

कर्मसँग जोडिएको अर्को प्रसङ्ग बाहुनले हलो जोत्न नहुने त्यो समयमा हामी भेडाबारी गएर राति बाह्रबजे गोरु नारेर जोत्याँै । दिउँसो त अरुले थाह पाउछन्, बबाल होला भन्ने डर ।

क्रान्तिकारी भयो भनेर अर्कै लन्ठा लाग्ने बेर थिएन, त्यसैले हामी एउटा समूह उतैको निमन्त्रणामा काम फत्ते गरेर फर्केका थियौँ । बाहुनले हलो जोत्यो भनेर पछि कत्रो बबाल ! झन्डै गाउँ निकालामा परिएन ।

अहिले सबै बाहुनहरुले हलो जोत्छन् । यो समयको खेल हो, समयसँग कसैको केही लाग्दो रहेनछ । त्यसैबेला हामी चार पाँच जनालाई राति नै भेडाबारीमा बोलाउँथे । पर्दाभित्रबाट एउटा मान्छे बोल्थ्यो । त्यो प्रशिक्षण कार्यक्रम रहेछ, पछि बुझियो ।

अन्तिममा पञ्चयती व्यवस्था मुर्दावाद भन्थ्यो, सानो स्वरमा हामीले पनि भन्नुपथ्र्याे । बिहानीपख कार्यक्रम सकिएपछि हामी आफ्नो घर फर्किन्थ्यौँ । लहलहैमै भए पनि केही यस्ता काम गरियो । तर यी सबै कुरा म बुवाको अनुमति लिएर मात्र गर्थे ।

बुवा केही नयाँ सिक्नुपर्छ भन्नुहुन्थ्यो । जता जे भए पनि सोह्र वर्षको उमेरमै सहर पसियो । सहरमा सबै आफ्नै थाप्लोमा परेपछि सुखदुःखको अनुभूति बेग्लै हुँदोरहेछ । ठूला घरको ठूलै समस्या भनेझैँ सहरको समस्या झनै जटिल थियो । दुःखै भए पनि गाउँमा भोकै बस्नुपर्ने थिएन । यता सहरले कैयौँ दिन भोकै राख्यो ।

चप्पल चुडिन्छ भनेर हातमा बोकेर सहरका सडकमा कैयौँ दिन खाली खुट्टा हिँडियो । त्यसको लेखाजोखा नै छैन । तापनि सहरमा पसेपछि आजसम्म गाउँ फर्कने मौका मिलेकै छैन । गाउँ बिर्सन सकेको पनि छैन, बुवाआमाका स्मरण झनै ताजा भएका छन् ।

यी र यस्तै लेखमार्फत मैले बुवाआमालाई सधैँ जीवित बनाउने कोसिस गरेको हुँ । आफू जलेर सन्तानलाई प्रकाश दिने मैनबत्ती हुनुहुन्थ्यो बुवा । बस् एउटै गुनासो छ, तपाईँका सन्तान सक्षम भएर देश–विदेशमा गरेका चकचकी तपाईँले कता बसेर हेर्देै हुनुहुन्छ ?

मैले माथि नै उल्लेख गरेको छु, मलाई केही काम गर्न असाध्यै कठिन महशुस हुने गर्दथ्यो । त्यस मध्ये एउटा गहँु काट्ने र चुट्ने पनि हो । बेँसीमा सान्दाईकोे घर थियो, त्यहीँ खलो पनि थियो । काटेको गहुँ त्यहाँ ल्याएर चैत्र महिनाको मध्यान्नामा गुहुँ चुटिरहेको थिएँ । दिदीहरु पनि थिए । सानु दाइ घरबाट निस्केर मलाई बोलाए । र, भने –‘थुक्क जाँठा, यत्रो पढेको मान्छेले पनि यस्तो घाममा गहुँ चुटेर बस्छ । बुद्धि नभाको, म चाहिँ यति पढेको भए बरु काठमाडौँमा गएर भाँडा माझ्थें, गाऊँमा यत्रो पनि यस्तो काम गर्ने थिइन् ।’

घामले टाउको चड्की रहेको बेलामा उनले झन उकेरा लगाए । मैले पनि मेरै लागि भनेका होलान भन्ने ठानें । बेलुका बुबालाई सबै कुरा भने । बुबाले पनि त्यही कुरा दोहोर्याउनु भयो ।

‘बाबु अब म तलाई पढाउन सक्दिन, धेरै भाइ छौँ, यहाँ बसेर के हुनु र अब तैले सहर गएर आफँै पौरख गर्नु पर्छ, मलाई पनि भरथेक गर्नु पर्छ भाइहरुलाई पनि पढाउनु छ । दाइले भन्यो भनेर चित्त दुखाउने होइन, उसले भनेको कुरा ठिक हो अब म यसरी बस्दिन भनेर ईख लिनु पर्छ ।’

म उचित समयको पर्खाइमा थिएँ । बिरानो सहरमा यात्रा गर्नु, काम खोज्नु, धेरै कुराको चुनौति थियो । म जाने नै भएपछि बुबाले एकसय कताबाट खोजेर मेरो खल्तिमा हालिदिनु भयो । प्यारो गाउँ छोड्नु पर्दा आँखा रसाएँ ।

दाइ र भान्जा ध्र्रुव सहरमै बस्थे, डेरा खोज्दै पुगें । केही दिन कार्टुनमा मोजा राखेर बाटो बाटोमा बेच्दै हिँडे । बागबजारको टुकुचा पुलमाथि पनि मोजा बेचेर बसें । सहरको कथा धेरै छ ।

पहिलो पल्ट ६ महिना जागिर खाएँ । तलब सबै दाइले सामान लगेर कटाउने गर्थे । ६ महिना काम गर्दा पनि सुको हात नपरेपछि मैले जागिर छोडिदिए । त्यस पछि आफू एक्लै बानेश्वर डेरा सरे । काम खोजे । जेन तेन सहरले बाँच्न सिकायो ।

अहिले सहर मेरो लागि साथी भएको छ । धेरैले काठमाडौँलाई गाली गरेर सिर्जना गरेको देख्छु । म भने यो सहरलाई मायाले सुम्सुम्याउछु । जसले गाउँको विरानो पनलाई मायाले त्यस वखत आश्रय दिएको थियो, अहिलेसम्म दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्