Logo
Logo

अवैध रूपमा अमेरिका जान लागेका २८ नेपाली अजरबैजानमा पक्राउ



काठमाडौं । अवैध रूपमा सीमापार गर्दै ’अमेरिका जान खोजेका’ कम्तीमा २८ जना नेपालीलाई अजरबैजानमा पक्राउ परेका छन् । उनीहरुलाई त्यहाँको सीमा सुरक्षा बलले नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई नेपाल फर्काउनका लागि अजरबैजान सरकारसँग पहल गरिरहेको मस्कोस्थित नेपाली दूतावासले जनाएको छ । मस्कोमा रहेको नेपाली दूतावासले नै अजरबैजानलाई हेर्छ ।

नेपालीहरूलाई फर्काउने विषयमा शुक्रबारै पहल गरिएको अजरबैजानका लागि गैरआवासीय राजदूतसमेत रहेका मस्कोस्थित नेपाली राजदूत मिलन तुलाधरको भनाई छ ।

उनका अनुसार नेपालीहरूलाई झुक्याएर पैसा उठाउँदै विदेश लान खोजेको सूचना दूतावासलाई प्राप्त भएको छ । अजरबैजानमा सीमापार गर्न खोज्दा केही नेपाली नागरिक समातिएको र उनीहरू सुरक्षाकर्मीको नियन्त्रणमा रहेको नयाँदिल्लीस्थित अजरबैजानको दूतावासले दिल्लीमै रहेको नेपाली दूतावासलाई जानकारी दिएको थियो ।
नेपाली दूतावास दिल्लीबाट मस्कोमा रहेको नेपाली दूतावासलाई त्यसबारेमा जानकारी गराएपछि नेपालीहरूको उद्धारका लागि गृहकार्य गरेको हो ।

‘उनीहरूलाई त्यहाँबाट छुटाएर डकुमेन्ट तयार पारी नेपाल पठाउने गृहकार्य गरिरहेका छौं । अहिले अजरबैजान सरकार र त्यहाँका अन्य संघ संस्थाहरूसँग पनि कुराकानी भइरहेको छ,’ राजदूत तुलाधरले भने, ‘आशा छ, नेपालीहरू छिट्टै सुरक्षित रूपमा घर फर्कनेछन् ।’

प्रतिक्रिया दिनुहोस्