
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी जवान र हवल्दारलाई १६ वर्षमा नै अवकास दिने प्रस्ताव तयार भइसकेको बताएका छन् ।
आज आइतबार बसेको प्रतिनिधिसभा बैठकमा गृह मन्त्रालयको बजेटमाथि भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा गृहमन्त्री श्रेष्ठले प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने गरी कानुनको मस्यौदा तयार भइसकेको बताएका हुन् ।
३० वर्षको सेवा अवधि हटाउने सन्दर्भमा सर्वोच्च अदालतको आदेशअनुसार कानुनमा नै व्यवस्था गर्नुपर्ने भएकाले नयाँ कानुनको मस्यौदामा त्यसलाई प्रस्ताव गरिएको उनले बताए ।
उनले प्रहरी संगठनभित्र प्रहरी जवान, सहायक हवल्दार, हवल्दार, असई र सईको प्रोत्साहनको व्यवस्था राम्रो नभएको बताए । एसएसपीबाट ९ महिनामा डीआईजी, एआईजी हुँदै आईजीपी भए पनि प्रहरी जवानदेखि सईसम्म पदोन्नतीको व्यवस्था राम्रो नभएको उनको भनाइ छ ।
यसलाई सम्बोधन गर्न र क्याडर ल्याडर प्याट्रन मिलाउन पनि जवान, हवल्दार र सहायक हवल्दारलाई १६ वर्ष तथा असई र सईलाई १८ वर्ष सेवा अवधि पुगेपछि रिटायरमेन्ट दिने र २० वर्ष सेवा पुग्दा पेन्सन दिने व्यवस्था लागू गर्न गृह मन्त्रालयले आफ्नो प्रस्ताव अन्य मन्त्रालयमा पठाइसकेको उनले बताए ।
गृहमन्त्री श्रेष्ठले सम्बन्धित मन्त्रालयको सहमति प्राप्त भएपछि कार्यान्वयनमा लैजान सकिनेछ भन्ने आफुले विस्वास लिएको बताए











