काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिनाथ मन्दिरको जलहरी निकालेको छ । आइतबार साँझ अख्तियारको टोलीले पशुपतिनाथ मन्दिरबाट जलहरी बाहिर निकालेर जोख्न लागेको हो ।
मन्दिरबाट निकालिएको जलहरीलाई सेतो कपडाले छोपेर मन्दिर परिसरमा लगिएको छ । जलहरी त्यही जोखिने भएको छ । करिब एक क्वीन्टलको जलहरी विभिन्न भाग मिलाएर जडान गरेकाले टुक्रा टुक्रा पारेर निकालिएको हो ।

नापजाँचको दृश्य रेकर्डका लागि अख्तियारको टोलीले अस्थायी रुपमा सिसिटिभी क्यामेरा जडान गरेको छ । यस्तै, काठमाडौं महानगरपालिकाको वडाका प्रतिनिधि, प्रहरी वृत्त गौशालाको टोली, पशुपति क्षेत्र विकास कोष र पुजारीलाई स्थलमा राखिएको छ ।
जलहरी राख्न १०३ किलो सुन खरिद गरिएपनि ९३ किलोको मात्र जलहरी बनाइएको र १० किलोको रिङ बनाएको भनिएपनि त्यसको प्रमाण नभेटिएको भन्दै महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको थियो ।
चाँदीको जलहरी पुरानो भएपछि दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिको मूर्तिमा सुनको जलहरी राख्ने निर्णय गरेको थियो ।











