
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतको नयाँ विधानमा प्रस्तावित पहिचानमा आधारित ‘राष्ट्रिय समिति’ लाई खारेज गर्न माग गरेका छन् । काठमाडौँमा जारी विधान अधिवेशनमा विधान मस्यौदामाथि छलफल गर्ने क्रममा बस्नेतले प्रस्तावित पहिचानमा आधारित संरचना खारेज गर्न माग गरेका हुन् ।
उनले कुनै पनि संघीय मुलुकमा दोहोरो प्रदेश संरचना नहुने बताउँदै पार्टीमा रहेको दोहोरो प्रदेश संरचना खारेज गर्न गर्नुपर्ने तथा दुई खालको प्रादेशिक संरचनाको अभ्यास गर्न नहुने सुझाव पनि दिएका छन् । विधानको मस्यौदाको धारा ५४ मा राष्ट्रिय समितिको व्यवस्था गरिएको छ । पहिचानमा आधारित प्रादेशिक संरचनाको रूपमा पार्टीमा राष्ट्रिय समितिहरू हुने भनिएको छ ।
यस समितिले मूलतः राजनीतिक तथा पहिचानको आन्दोलनसँग सम्बन्धित कार्यहरू गर्ने भनी विधानमा उल्लेख गरिएको छ । पहिचानमा आधारित प्रादेशिक संरचनाहरू लिम्बुवान, किराँत, मधेस, शेर्पालुङ, नेवाः, ताम्सालिङ, तमुवान, मगरात, थरुहट, खसान र शिल्पी÷दलित विशेष समिति हुने भनिएको छ ।
‘जसरी गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीताका लागि पार्टीले सांगठनिक संरचना बनाउन परेन, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र समानुपातिक निर्वाचन प्रणाली स्थापना गर्ने उद्देश्यका लागि पार्टीले सांगठनिक संरचना बनाएन त्यसरी नै पहिचानसहितको प्रदेश स्थापनाका लागि पहिचानका राष्ट्रिय समिति नामको संरचना बनाउनु हुँदैन,’ उनले बैठकमा धारणा राखेका छन् ।
उनले विगतका १० वर्षसम्म कतिपय पहिचानका समिति गठन समेत हुन नसकेको अवस्थामा फेरि त्यस्तै समितिहरुको गठन गर्नुको कुनै तुक नरहने जिकिर गरे । पहिचानको विषय कुनै सांगठनिक संरचनाको मात्र ठेक्काको विषय बनाउन नहुने बताउँदै उनले पहिचानको मुद्दालाई समग्र पार्टीको सरोकारको विषय बनाएर अगाडि बढ्न सुझाव दिए ।














