
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले दोषीलाई कारबाही गरेपछि सरकारप्रति जनतामा विश्वास बढेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले जनतामा जगाएको विश्वास नै सरकारको सबभन्दा ठूलो उपलब्धि भएको बताएका हुन् ।
साथै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च पदस्थलाई कारबाही गर्नु सरकारले इतिहासकै ठूलो कारबाही गरेको दाबी गरे । यस्ता विकृति विरुद्धको लडाइँ यतिमै नरोकिने उनको भनाई थियो ।
उनले भने, ‘म प्रधानमन्त्री हुँदा जनतामा राज्य र सरकारप्रति जुन निराशा, असन्तोष र आवेग थियो, त्यसमा अहिले सुधार भएको छ ।’
हाइ प्रोफाइल व्यक्तिहरु कानुनभन्दा माथि छन् भन्ने आम मनोविज्ञान बनेका बेला नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले इतिहासकै ठूलो कारबाही गरेको उनले बताए ।
यसले कानुनको मात्र होइन, लोकतन्त्रको सर्वोच्चता पनि स्थापित भएको उनले बताए । ‘उच्च पदस्थहरु र देशको एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने मान्यता गलत प्रमाणित हुँदै गएको छ’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यो काण्डको सफल अनुसन्धानसँगै अब लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरण सुरु भएको छ ।’
यो शुद्धीकरण यत्तिमा नरोकिने र निरन्तर अगाडि बढ्ने भन्दै उनले भने, ‘हिजोबाट प्रधानमन्त्री निवास नै निल्न खोल्ने ललिता निवासका अभियुक्तहरु पक्राउ पर्न थालेका छन् । मिटर ब्याजी र सहकारीका ठगहरुमाथि करबाही सुरु भइसकेको छ । जतिसुकै उच्च पदस्थ व्यक्तिहरु भएपनि छाड्दैनौं ।’
वर्षौंदेखि थुप्रिएको विकृतिको डंगुर सफा गर्ने यो लडाइँमा आफूलाई संसद र आम जनताको समर्थन चाहिने उनले बताए ।










