Logo
Logo

विकृतिविरुद्धको लडाइँमा जस्तोसुकै मूल्य चुकाउन तयार छु : प्रधानमन्त्री


1.3k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री निवास नै निल्न खोज्नेहरू धमाधम पक्राउ पर्न थालेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका कार्यालयका लागि विनियोजित बजेटमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र नै छायाँमा पार्नेगरी देखिएका विकृतिविरुद्ध सरकार लागेको भन्दै उनले भने, ‘प्रधानमन्त्री निवास नै निल्न खोज्नेहरू हिजोदेखि पक्राउ पर्न थालेका छन् ।’

प्रधानमन्त्री प्रचण्डले विकृतिविरुद्धको लडाइँमा आफू लागेको बताउँदै त्यसका लागि कुनैपनि मूल्य चुकाउन तयार रहेको बताए । सुशासन सरकारको उच्च प्राथमिकतामा रहेको उनको भनाइ थियो ।

प्रधानन्त्री प्रचण्डले सुशासनको पक्षमा लड्दा संसद् र जनताको साथ रहने विश्वास व्यक्त गर्दै भने, ‘वर्षौंदेखि विकृतिको डंगुर सफा गर्ने यो लडाइँमा मलाई सदन र जनताको अझ धेरै समर्थनको आवश्यकता रहेको महसुस गरेको छु । विकृतिविरुद्धको लडाइँमा मलाई सदनको पनि हौसला र समर्थन प्राप्त हुने विश्वास गरेको छु । कुनैपनि मूल्यमा विकृतिका विरुद्धको यो लडाइँ अगाडि बढाइनेछ ।’

लोकतन्त्रसँग विकृति सच्याउने सामर्थ्य रहन्छ भन्ने कुराको विश्वास जनतालाई दिनुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यसमा सरकार दृढ भएर अगाडि बढ्ने छ ।’

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले सफल अनुसन्धान गरेको पनि बताए । प्रधानमन्त्री प्रचण्डले उच्च पदस्थहरू कानुनभन्दा माथि हुन्छन् भन्ने कुराको अन्त्य गर्न लागिरहेको बताउँदै भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरण सरकारले गरेको सबैभन्दा ठूलो अनुसन्धान हो । यो सफल अनुसन्धानबाट कानुनको सर्वोच्चता मात्रै कायम गरेको छैन । लोकतन्त्रको सर्वोच्चता पनि स्थापित भएको छ ।’

सरकार लोकतन्त्रको सेवा प्रवाह र शुद्धीकरणमा लागेको पनि उनले बताए । सुशासनको अभियान यत्तिमै नरोकिने बताउँदै उनले भने, ‘संसद् र आम जनसमुदायलाई यही रोस्ट्रमबाट विश्वास दिलाउन चाहन्छु यो शुद्धीकरण यत्तिमै रोकिनेछैन । निरन्तर अगाडि बढ्नेछ ।’

प्रतिक्रिया दिनुहोस्