Logo
Logo

एमाले संघ र सातै प्रदेशमा सत्ताविहीन



काठमाडौं । देशकै दोस्रो दल नेकपा एमाले संघ र सातै प्रदेश सरकारबाट बढारिएको छ । शुक्रवार कोशी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसक्दा मुख्यमन्त्री हिक्मत कार्की पदमुक्त भए । यससँगै एमाले केन्द्र र सातै प्रदेशमा सत्ताविहीन बनेको हो ।

गत मंसिरमा सम्पन्न निर्वाचनपछि काँग्रेस नेतृत्वको गठबन्धन भत्केर नेकपा एमाले र माओवादी केन्द्रसहित दलको सत्ता समीकरण बनेको थियो । त्यसपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बने । माओवादीसहितको समीकरणमा एमालेले ४ वटा प्रदेश सरकारको नेतृत्व गरेको थियो । 

तर, माओवादीले मङ्सिर ४ को चुनावअघिकै गठबन्धनमा ब्युँताएपछि एमालेलाई सत्ता सङ्कट सुरु भएको थियो । ०७९ पुस १० गते बनेको गठबन्धन फागुन २५ मा भएको राष्ट्रपति चुनावमा बनेको नयाँ समीकरणले एमाले सत्ताबाट बाहिरिने क्रम सुरु भयो । ९ मन्त्रीसहित केन्द्रीय सरकारमा रहेका एमाले दुई महिनाबिचमै सङ्घीय संसद्को प्रतिपक्षी बन्यो ।

एमालेले राष्ट्रपति पद पाउने अवसर समेत गुमाएको थियो । यसरी एमाले नेतृत्वको गठबन्धन दुई महिना नपुग्दै भत्किएपछि सङ्घदेखि प्रदेशसम्म बढारिएको छ । 

यसैबिच शुक्रवार कोशीमा मुख्यमन्त्री कार्की नेतृत्वको सरकार गठन भएको १७४ दिनमा ढल्यो । प्रदेशसभा बैठकमा उनले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मात्रै पुगेको छ । जसमा एमालेका ४० र राप्रपाका ६ जना सांसदले विश्वासको मतको पक्षमा मतदान गरे । ९३ जना सांसद रहेको प्रदेशसभामा बहुमत पुर्‍याउनका लागि ४७ सांसद आवश्यक पर्छ । 

मत विभाजनमा ८९ जना सांसद उपस्थित थिए भने मुख्यमन्त्रीको प्रस्तावको विपक्षमा काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ४३ सांसद विपक्षमा उभिए । काँग्रेस, माओवादी र जसपाको गरी तीन जना सांसद भने अनुपस्थित रहेका थिए । यसअघि एमालेले लुम्बिनी प्रदेश, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकार गुमाइसकेको थियो । 

गत वैशाख ११ गते लुम्बिनी प्रदेशमा एमाले नेता लीला गिरी नेतृत्वको सरकार ढलेको थियो । लुम्बिनीमा अहिले माओवादीसहितको काँग्रेस नेतृत्वको गठबन्धनबाट काँग्रेसका डिल्लीबहादुर चौधरी मुख्यमन्त्री छन् ।  यस्तै, गण्डकी प्रदेशमा पनि काँग्रेसकै सुरेन्द्र पाण्डे मुख्यमन्त्री छन् । वैशाख १० गते एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि काँग्रेसका सुरेन्द्रराज मुख्यमन्त्री बनेका हुन् । 

यस्तै, सुदूरपश्चिम प्रदेशमा एमालेका राजेन्द्रसिंह रावलको सत्ता गुमेपछि काँग्रेसका कमल शाह मुख्यमन्त्री छन् । माघ २६ मा एमालेका रावलले विश्वासको मत पाउन नसकेपछि सदुरपश्चिममा शाह मुख्यमन्त्री नियुक्त भएका हुन् । 

मधेस प्रदेशमा भने सुरआतदेखि नै जनता समाजवादी पार्टी नेतृत्वको सरकार कायम छ । केन्द्रीय सत्ता गठबन्धनबीच भागबण्डामा मधेसमा जसपाका सरोजकुमार यादव मुख्यमन्त्रीमा छन् । 

बागमती र कर्णाली प्रदेशमा भने माओवादी केन्द्र नेतृत्वको सरकार छ । सत्तारुढ दलबिचमा आन्तरिक भागबन्डा मिलेसँगै बागमती प्रदेशमा माओवादीका शालिकराम जम्कट्टेल मुख्यमन्त्री बनेका थिए । सत्ता समीकरण परिवर्तन भएसँगै बागमतीमा मुख्यमन्त्री जम्कट्टेलले दोस्रोपटक विश्वासको मत लिनुपरेको थियो । 

यस्तै, कर्णाली प्रदेशमा सत्तारुढ गठबन्धनबीच सहमतिअनुसार माओवादी केन्द्रका राजकुमार शर्मा मुख्यमन्त्री छन् । २०७९ पुस २७ गते कर्णालीको तेस्रो मुख्यमन्त्री नियुक्त भएका शर्मालाई एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी केन्द्रका २५ जना सांसदले समर्थन गरेका थिए । 

त्यसपछि मुख्यमन्त्री शर्माले वैशाख १५ गते तेस्रो पटक विश्वासको मत लिएका थिए । मुख्यमन्त्री शर्माले आफ्नो दल माओवादी केन्द्रसहित काँग्रेस, एकीकृत समाजवादी र स्वतन्त्र सांसदको विश्वासको मत पाएका थिए । 

तत्कालीन सत्ता साझेदार नेकपा एमालेले केन्द्रको सत्ता समीकरण भत्किएसँगै प्रदेशमा पनि समर्थन फिर्ता लिएपछि उनले तेस्रो पटक विश्वासको मत लिनुपरेको थियो । एक मात्र कोशी प्रदेशको नेतृत्व गर्दै आएको कोशी प्रदेश सरकार पनि ढलेपछि एमाले पूर्ण प्रतिपक्षी बनेको छ । 

प्रतिक्रिया दिनुहोस्